खबरहेड लाइन

नौ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने साढे पाँच लाख

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या साढे पाँच लाखको हारहारीमा पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि चैत महिनासम्म रोजगारीका लागि पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् ।

चालु आवको नौ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । विभागका अनुसार चालु आवको नौ महिनामा पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि एक लाख ३७ हजार ९८१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ ।

अघिल्लो महिनासम्म नेपाली श्रमिकको तेस्रो श्रम गन्तव्य रहेको साउदी अरब चैत महिनामा तथ्याङ्क हेर्दा दोस्रो स्थानमा छ । यस अवधिमा साउदी अरबका लागि एक लाख पाँच हजार ५७० वजन श्रम स्वीकृति लिएका छन् । अघिल्लो महिनासम्म दोस्रो श्रम गन्तव्य देश रहेको कतार चैत महिनाको तथ्याङ्कले तेस्रो श्रम गन्तव्य बनेको छ । अछिल्ला दुई वर्ष नेपालीको पहिलो श्रम गन्तव्य बनेको देश मलेसिया चौथो श्रम गन्तव्यमा मलेसिया परेको छ । यस्तै यस अवधिमा दक्षिण कोरियाका लागि १० हजार २०९ जनाले श्रम स्वीकृति लिएका छन्।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको सुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गतका दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य देश बन्न सफल भएको उहाँको भनाइ छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले गत महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको आठ महिना (फागुन महिना) सम्म नौ खर्ब ६१ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । गत वर्ष सो अवधिमा सात खर्ब ९४ अर्ब रुपियाँ विप्रेषण भित्रिएको थियो । विप्रेषण भित्रिने दरमा २१ प्रतिशतले वृद्धि भएको हो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button