मूल खबर

जुनसुकै परिचयपत्रबाट मतदान गर्ने सकिने

वैशाख १५ को उपनिर्वाचन

काठमाडौं ।

निर्वाचन आयोगले वैशाख १५ गते शनिबार हुने उपनिर्वाचनमा मतदाता परिचय पत्रसँगै अन्य जुनसुकै परिचयपत्रबाट मतदान गर्ने सकिने जनाएको छ ।
इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रनम्बर २ र बझाङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रनम्बर १ (१) मा प्रदेश सभा सदस्यको उपनिर्वाचन तय गरिएको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा उपनिर्वाचनमा मतदाताको पहिचान खुल्ने जुनसुकै परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्णय गर्दै सम्बन्धित निर्वाचन अधिकृतलाई सोअनुरूप गर्न निर्देशन दिइसकेको आयोगले जनाएको छ ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव रामदत्त पाण्डेयले जानकारी दिनुभयो।

त्यसै गरी आयोगले उपनिर्वाचन हुने दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई भनेको छ । ‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत् निर्देशन दिने’ आयोगको निर्णयमा भनिएको छ।

आयोगले गत २०७९ सालको निर्वाचनदेखि निर्वाचनको दिन गाडी चलाउन दिने निर्णय अभ्यासमा ल्याएको थियो । निर्वाचनको दिन पूरै सन्नाटा छाएजस्तो आवागमन ठप्प नगरी सर्वसाधारणलाई यताउति जान सहज हुने गरी आवागमनको व्यवस्थालाई आयोगले थालनी गरेको सुधारको रूपमा लिइएको थियो। यसलाई क्रमशः निरन्तरता दिँदै जाने पनि आयोगको योजना रहेको छ।

यसैबीच उपनिर्वाचनमा करिब १ हजार सात सय कर्मचारी खटिने भएको छ। आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ।

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइने छ । उपनिर्वाचनमा इलाम क्षेत्र नं २ मा १ सय ४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्।

मतदान केन्द्र अनुसार इलाममा १ हजार ४३ र बझाङमा ६ सय ५१ गरी कुल एक हजार ६ सय ९४ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ। प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन् । उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।न्यूज अफ नेपाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button