खबरहेड लाइन

सत्ता गठबन्धनको ‘खटपट’ले ओली-दाहाल अप्ठ्यारोमा

जीवन शर्मा
काठमाडौं ।

सत्तारुढ गठबन्धनभित्र पछिल्लो समय असामान्य रूपमा देखिएको खटपटले गठबन्धनका शीर्ष नेताहरूमा छटपटी चलेको छ।

आन्तरिक खटपट व्यवस्थापन गर्ने कुरामा सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मुख्य सहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा परेका हुन्।

सोही विषयलाई लिए र दुई नेताबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई घण्टाभन्दा बढी छलफल भएको थियो। बिहान ११ः४० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिनुभएको थियो। भेटवार्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताउनुभयो।

प्रचण्ड–ओलीले फागुन २१ मा नयाँ सत्ता समीकरण गरेपश्चात् विश्वासको मत पुर्‍याउनका लागि पटकपटक घर पुगेर सत्ता सहकार्यमा जोडेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनप्रति चरम असन्तुष्टि पोख्दै आउनुभएको छ।

शीर्ष दुई नेताको बिहीबारको भेटमा गठबन्धनमा माधव नेपालको असन्तुष्टि, प्रदेश सरकार गठन र विश्वासको मत प्राप्तिमा देखिएका समस्या, उपनिर्वाचनको समीक्षा र बजेट अधिवेशनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।

एकीकृत समाजवादीका नेताहरूले आलोपालोमा प्रधानमन्त्री लेनदेनको सहमति भएको बताएपछि ओलीले संसद्मै खण्डन गरेको विषयलाई पनि नेकपा एसका नेताहरूले राजनीति ‘कोर्स करेक्सन’को एजेन्डा बनाउन खोजेका छन्।

सत्ता समीकरण फेर्दा ओली र प्रचण्डले माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने मौखिक सहमति गरेका थिए। पछि ओलीले माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने चाल चालेपछि आफूहरूसँग गरिएका सहमति र बाचा कार्यान्वयनमा ओली अनुदार बनेको एकीकृत समाजवादीको निष्कर्ष छ।

एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले वैशाख १७ गते सार्वजनिक रूपमै आफू प्रधानमन्त्री बन्ने कुराले कतिपयलाई पोल्ने गरेका बताउनुभएको थियो।

‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ। पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलोस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ। त्यो भएकाले परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा ध्यान जानुपर्छ’ –नेपालले भन्नुभएको थियो ।

त्यसपछि १८ गते प्रधानमन्त्री प्रचण्डले नेपाललाई बालुवाटार बोलाएर छलफल गर्नुभएको थियो। उक्त छलफलको विषयलाई लिएर राजनीतिक वृत्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिएर एकीकृत समाजवादीले वैकल्पिक गठबन्धनका लागि अग्रसरता लिएको चर्चासमेत चल्न थालेको छ।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button