मूल खबर

सापकोटाविरुद्धको रिटमा असार १२ गते निर्णय हुने

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध द्वन्द्वकालमा भएको व्यक्ति हत्या आरोपको जाहेरी दर्ता हुने वा नहुने विषयको विवादमा असार १२ गते अन्तिम आदेश सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा जाहेरी दर्ताको माग गर्दै २०६९ मङ्सिर ७ गतेदेखि विचाराधीन विवादमा संवैधानिक इजलासले निर्णय सुनाउने मिति तोकेको हो ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको संवैधानिक इजलासले बहस सकेर निर्णय सुनाउने मिति तोकेको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

शान्ति प्रक्रिया प्रारम्भ भइसकेको भन्दै जिल्ला प्रहरी कार्यालयले सापकोटाविरुद्धको जाहेरी दर्ता इन्कार गरेको थियो । सोपछि लामा पत्नी पूर्णिमायाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । २०६२ वैशाख १६ मा अपहरणमा पर्नुभएका लामाको अपहरणपछि हत्या भएको थियो।

विवाद अदालतमा विचाराधीन रहेकै बेला सापकोटा मन्त्री नियुक्त हुनुभएपछि उहाँविरुद्ध पुनः अर्को रिट दर्ता भएको थियो तर सर्वोच्चले नियुक्ति बदरको माग अस्वीकार गरेको थियो । मुद्दा विचाराधीन रहेकै अवस्थामा उहाँ सभामुखसमेत निर्वाचित हुनुभएको थियो । संवैधानिक इजलासले उक्त घटनामा सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी परे वा नपरेको समेत जवाफ माग गरेको थियो ।

सापकोटाविरुद्धको मुद्दामा रिट जारी भएका जाहेरी दर्ता र नियमित प्रक्रियाबाट द्वन्द्धकालीन घटनाको अनुसन्धानको प्रक्रिया अघि बढ्ने छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button