मूल खबर

विश्वमा नेपाल चिनाउने अङ्ग्रेजी अखबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सोमबार दी राइजिङ नेपालको ५९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, पुस २ गते । नागरिकलाई सुसूचित गर्ने र नेपालबारे विश्वलाई सही सूचना दिने उद्देश्यका साथ २०२२ पुस १ गते बिहीबारदेखि प्रशासन आरम्भ भयो– दी राइजिङ नेपाल । गोरखापत्र संस्थानले पञ्चायतकालीन शासन व्यवस्थामै पहिलो अङ्ग्रेजी दैनिक प्रकाशन गर्न सुरु गरेको हो ।

दी राइजिङ नेपाल छापिन सुरु भएको ६० वर्ष प्रवेश गर्दै गर्दा राज्य र नागरिकबिच पुलका रूपमा दी राइजिङ नेपाल स्थापित छ । अङ्ग्रेजी भाषामा अखबार प्रकाशित हुँदा सञ्चार जगत्मा नवीन रूपान्तरणको अनुपम अध्याय आरम्भ भयो ।

वरिष्ठ पत्रकार एवं दी राइजिङ नेपालका पूर्वप्रधान सम्पादक प्राध्यापक पी. खरेलले भन्नुभयो, “तत्कालीन समयमा नेपाललाई विश्वमा परिचित गराउने उद्देश्य राखेर दी राइजिङ नेपाल प्रकाशन थालनी गरिएको हो । यो पत्रिकाले नेपाली पाठकसँगै विदेशी कूटनीतिज्ञलाई पनि समेटेर सामग्री प्रकाशन गर्दै गर्दा नेपालबारे सत्यतथ्य जानकारी वैश्विक रूपमा प्रचार भए ।”

उहाँले अङ्ग्रेजीमा समाचार पढ्ने अवसरसँगै भाषागत क्षमता अभिवृद्धि गर्न पनि दी राइजिङ नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

अङ्ग्रेजी भाषाको पहिलो ब्रोडसिट दैनिक दी राइजिङ नेपालले पत्रकारिताको क्षेत्रको स्तरवृद्धि गर्न अद्वितीय भूमिका खेल्दै आएको छ । दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले अन्तर्राष्ट्रिय परिवेशलाई नेपाली पाठकमाझ पु¥याउने सशक्त माध्यमका रूपमा विभिन्न आरोहअवरोहबिच पत्रिकाले ६० वर्ष प्रवेश गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देश र नागरिकको सर्वोपरि हितलाई दृष्टिगत गरी सामग्री प्रस्तुत गरिरहेका छौँ । साथै अङ्ग्रेजी भाषाका पाठकलाई पनि नेपालबारे साक्षात्कार गर्ने माध्यम हो दी राइजिङ नेपाल ।”

उहाँले २०७२ को भूकम्प र कोभिड–१९ महामारीको बन्दाबन्दीदेखि विभिन्न खाले राष्ट्रिय विपत्मा पनि दी राइजिङ नेपाल अविराम प्रकाशन भइरहेको इतिहास बोकेको पत्रिका रहेको बताउनुभयो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नेपाललाई विश्व समुदायसँग जोड्ने विश्‍वसनीय माध्यमका रूपमा पनि दी राइजिङ नेपाल स्थापित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दी राइजिङ नेपाल अङ्ग्रेजी माध्यमको पत्रकारिताको एउटा प्रतिष्ठित पाठशाला पनि हो । अङ्ग्रेजी भाषा र साहित्यको विकास एवं प्रवर्धनमा यसको विशिष्ट योगदान छ ।”

उहाँका अनुसार दी राइजिङ नेपालको नयाँ डिजाइनसँगै डिजिटल रूपान्तरण तथा सामग्री गुणस्तर सुधार्ने प्रयास गरिएको बताउनुभयो । उहाँले यो कार्यमा पाठकको सकारात्मक प्रतिक्रिया र सुझाव प्राप्त हुँदा ऊर्जा एवं प्रेरणा मिलेको बताउनुभयो ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले नागरिकलाई सही सूचना दिन समयानुकूल परिमार्जन गरिने बताउनुभयो । उहाँले ५९ वर्षसम्म निरन्तर प्रकाशन गर्न सम्भव गराउने अग्रजलाई धन्यवाद दिनुभयो । गोरखापत्र दैनिक १९५८ वैशाख २४ गते प्रकाशन आरम्भ भएको ६४ वर्षपछि ब्रोडसिट आकारमा ‘दी राइजिङ नेपाल’ प्रकाशन थालिएको हो । यसअघि ‘दी कमनर’ र ‘दी मदरल्यान्ड’ अखबार सानो आकारमा प्रकाशित भए पनि अन्तरालमा बन्द भए ।

दी राइजिङ नेपालको पहिलो प्रधान सम्पादक वरुणशमशेर जबरा हुनुहुन्थ्यो र विभिन्न कार्यकाल गरी १५ जनाले १९ पटक पत्रिकाको नेतृत्व गर्नुभएको छ । निमित्त प्रधान सम्पादक थपलियाका अनुसार सातामा आइतबारदेखि बिहीबारसम्म दैनिक आठ पृष्ठमा प्रकाशन र शुक्रबार थप चार पृष्ठको परिशिष्टाङ्क ‘फ्राइडे सप्लिमेन्ट’ प्रकाशित हुँदै आएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button