मूल खबरहेड लाइन

शुल्क अन्योलले रोकिए परीक्षा फाराम

सूर्यप्रसाद पाण्डे

काठमाडौँ, पुस ३ गते । विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विभिन्न कक्षाका रजिस्ट्रेसन र परीक्षा फाराम रोकिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेलैमा निर्णय नगर्दा अहिले कक्षा ९ का विद्यार्थीको रजिस्ट्रेसन फाराम, माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीका लागि आवश्यक पर्ने कक्षा १० को परीक्षा फाराम र कक्षा ११ मा अध्ययनरत विद्यार्थीका रजिस्ट्रेसन फाराममा विलम्ब भएका छन् ।

माध्यमिक तहको शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था कार्यान्वयन गर्ने हो भने सरकारी तहबाट नै सुरुवात गर्नुपर्ने आवाज उठेपछि यी शीर्षकमा शुल्क नलिने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ । मन्त्रालयबाट स्पष्ट निर्देशन नआएका कारण राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि फाराम भराउन सकेको छैन ।

बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फाराम यसअघि नै खुलाएको थियो । बोर्डको सूचना अनुसार विद्यालयहरूले कात्तिकमै विद्यार्थीलाई फाराम भर्न लगाएर सङ्कलनसमेत गरिसकेका छन् तर रजिस्ट्रेसनका लागि विद्यार्थीसँग शुल्क लिन नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्कालका लागि रजिस्ट्रेसन फाराम भर्ने कार्य स्थगित गर्न बोर्डलाई निर्देशन दिएको थियो ।

कक्षा ११ मा सरदर पाँच लाख विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने गरेका छन् । बोर्डले उक्त फारामका लागि प्रति विद्यार्थी चार सय रुपियाँको दरले शुल्क लिने गरेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा ११ र १२) कृष्ण शर्माले रजिस्ट्रेसन शुल्क लिने कि नलिने भन्ने विषय मन्त्रालयमा विचाराधीन रहेकाले विद्यार्थीलाई वितरण गरिसकेको रजिस्ट्रेसन फाराम सङ्कलन कार्य रोकिएको छ । विद्यालय तहमा हाल कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिस्ट्रेसन गर्ने गरिएको छ ।

कक्षा ९ र ११ दुवै माध्यमिक तह भए पनि दोहोरो रजिस्ट्रेसन गर्नु उपयुक्त नहुने तर्क पनि उठ्ने गरेका छन् तर ९ र ११ कक्षामा पढ्ने विद्यार्थीको विषय फरक फरक हुने भएका कारण दुवै कक्षामा रजिस्ट्रेसन फाराम भराउनुपर्ने तर्क बोर्डको छ ।

बोर्ड अहिले मन्त्रालयको निर्देशन पर्खेर बसिरहेको छ । कक्षा ११ को फाराम भर्ने विषय नटुङ्गिएका कारण बोर्डले कक्षा ९ को रजिस्ट्रेसन र एसइईको परीक्षा फाराम पनि खुला गर्न सकेको छैन । विगतका वर्षमा मङ्सिर महिनामा नै एसइईको फाराम खुला हुने गरेको थियो । हरेक वर्ष कक्षा १० मा सरदर पाँच लाख विद्यार्थीले परीक्षा फाराम भर्ने गरेका छन् । प्रति विद्यार्थी पाँच सय रुपियाँ परीक्षा फाराम शुल्क लिने गरिएको छ ।

त्यस्तै कक्षा ९ मा पनि बर्सेनि पाँच लाखकै हाराहारीमा विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने गरेका छन् । यो फारामका लागि प्रति विद्यार्थी तीन सय पचास रुपियाँ लिने गरिएको छ ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार विद्यार्थीबाट राज्यले रजिस्ट्रेसन र परीक्षा फाराम शीर्षकमा शुल्क नलिने हो भने करिब एक अर्ब रुपियाँ आर्थिक दायित्व थपिन्छ । “माध्यमिक शिक्षा पूर्ण निःशुल्क गर्ने हो भने परीक्षा र रजिस्ट्रेसन शुल्क मात्रै घटाएर हुँदैन । परीक्षा बोर्डमा प्रमाणपत्र लिन आउँदा, संशोधन गर्दालगायतका शीर्षकमा विद्यार्थीले तिर्दै आएको शुल्कबारे पनि सोच्नुपर्ने हुन्छ,” परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “अहिले पनि बोर्डमा एसइईसँग सम्बन्धित कामका लागि विद्यार्थीबाट दैनिक दुई लाख रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । निःशुल्कको कुरा गर्दा यो विषयलाई पनि ध्यान दिनु आवश्यक छ ।”

शिक्षा मन्त्रालय स्रोतका अनुसार राजस्व सङ्कलन दर खुम्चिरहेको हालको अवस्थामा शुल्क नलिई रजिस्ट्रेसन तथा परीक्षा फाराम भराउन नसक्ने अडान अर्थ मन्त्रालयले राखेको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button