कला

मेरो भ्वाइस र डान्स युनिभर्स हुने

काठमाडौं ।

सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता मेरो भ्वाइस युनिभर्स र नृत्य प्रतियोगिता मेरो डान्स युनिभर्सको दोस्रो शृङ्खला र निर्णायक मण्डल घोषणा गरिएको छ।

राजधानीको हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले मेरो भ्वाइस युनिभर्समा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्ने जानकारी गरायो।

त्यसै गरी मेरो डान्स युनिभर्समा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शङकर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के निर्णायक रहने जानकारी आयोजकले गराएको छ।

कार्यक्रम सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रिमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल र पूर्व मिस नेपाल नम्रता श्रेष्ठले सञ्चालन गर्नेछन् भने मेरो भ्वाइस युनिभर्स सुरेश पौडेल र मेरो डान्स युनिभर्स मौसमी गुरुङले निर्देशन गर्ने छन्।

नेपाल टेलिभिजनमार्फत् प्रसारण हुने दुबै प्रतियोगिताको अडिसन आगामी सन् २०२५ को जनवरी २५ बाट शुरू हुनेछ। प्रतियोगिताका लागि अमेरिका, क्यानडा, लन्डन, पोर्चुगल,, हङकङ, जापान, युएई, कतार, थाइल्याण्ड, अस्ट्रेलिया, भारत र नेपालमा अडिसन हुनेछ।

निर्णायक मध्येकी एक अभिनेत्री मिथिला शर्माले यस प्रतियोगिताले प्रतिभालाई मञ्च दिने काम गरेको बताइन्। ‘यो नेपाली गीत र नृत्यमा आफ्नो भविष्य देख्ने र खोज्नेका लागि ठूलो अवसर हो। यसले कला र संस्कृतिको प्रवद्र्धनसँगै विश्वभर छरिएका प्रतिभाको सपना सकार बनाउने काम गर्दैछ’ अभिनेत्री शर्माले भनिन्।

आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए। उनले दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्ने जानकारी गराए।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button