मूल खबर

कांग्रेसको सय दिने विशेष सांगठनिक अभियानको समापन

झापा/ नेपाली कांग्रेसले शुरु गरेको सय दिने विशेष सांगठानिक अभियान अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा सञ्चालित कार्यक्रमहरुको औपचारिक समापन गरिएको छ ।
कांग्रेसको क्षेत्रीय समितिले दमकस्थित क्षेत्रीय पार्टी कार्यालयमा शनिवार आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले राष्ट्रिय राजनीतिमा कांग्रेस पार्टीले निर्वाह गरिरहेको भूमिकालाई सशक्त बनाउनु पर्नेमा जोड दिए ।
वक्ताहरुले कार्यकर्ताहरुको भावना अनुरुप नेतृत्वले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।
कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कांग्रेसले सञ्चालन गरेको अभियानका माध्यमबाट पार्टीलाई नयाँ उर्जा भरेको बताए । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उनले कांग्रेस कोशी प्रदेशले कचनकवलबाट सोलुखुम्बुस्थित सगरमाथाको फेदी सम्म सञ्चालन गर्ने पदयात्राको बिषयमा जानकारी गराएका थिए ।
पार्टीका झापा क्षेत्र नम्बर ५ का सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य महेन्द्रकुमारी लिम्बुले पार्टीका अभियान र कार्यक्रमहरुलाई सशक्त रुपमा सञ्चालन गर्न सके मात्रै लक्ष्य अनुसारको उद्धेश्य प्राप्ती हुने भएकाले वडा वडालाई सशक्त बनाउनु पर्ने उल्लेख गरिन् ।
कार्यक्रममा पूर्व आमन्त्रित केन्द्रिय सदस्य दिलिप राई, झापाका सभापति देउकुमार थेवे, उपसभापति केशव पाण्डे लगायतले पार्टीद्धारा सञ्चालित अभियान तथा कार्यक्रमहरुको विशेष महत्व रहने भएकाले यसलाई लक्ष्य अनुसार जनस्तरसम्म पुरयाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति भण्डारीले क्षेत्र नं ५ मा सञ्चालत अभियानको बारेमा विस्तृत जानकारी गराउँदै पार्टी नेतृत्वको भनाई र गराईमा एकरुपता हुनुपर्ने, कार्यकर्ताहरुको भावनाको सम्बोधन गरिनुपर्ने, सरकारका काम कारवाहीहरु पार्टीसँग जोडिएर अघि बढाउनु पर्ने, कार्यकर्ता प्रशिक्षण र परिचालनका कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने जस्ता सुझावहरु कार्यकर्ता पक्तिंबाट आएको जानकारी गराए ।
कार्यक्रममा पार्टीका झापा क्षेत्र नम्बर ५ (ख) का सभापति रवि केसी न्यौपानेले पार्टीका शीर्ष नेताहरुबीचको आपसी बेमेल र फरक मतका बिषयलाई लिएर कार्यकर्ताहरुको तल्लो पक्तिं सम्म नकारात्मक असर परिरहेकाले त्यस तर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button