
डोनाल्ड जे ट्रम्प संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथग्रहण गर्नुहुँदै । तस्बिर : एपी
चाँदनी हमाल
काठमाडौँ, माघ ८ गते । संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्पले सोमबारदेखि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । राजधानी वासिङ्टन डिसीमा भव्य समारोहकाबिच उहाँले पद तथा गोपनीयताको शपथग्रहण गर्दै पदभार सम्हाल्नुभएको हो ।
विश्व शक्तिराष्ट्रको शक्तिशाली राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित ट्रम्पलाई अमेरिकाको सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले अमेरिकी समय अनुसार बिहान ११ : ४७ बजे शपथग्रहण गराउनुभयो ।
शपथ लिँदै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म दृढतापूर्वक शपथ खान्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको कार्यलाई इमानदारपूर्वक कार्यान्वयन गर्ने छु र मेरो क्षमताले भ्याएसम्म संयुक्त राज्य अमेरिकाको संविधानको रक्षा गर्ने छु ।” राष्ट्रपति पदको शपथ अमेरिकी संविधानको धारा २, उपधारा १ मा निर्दिष्ट गरिएको छ । उहाँको आगमनसँगै राष्ट्रपति कार्यालयको वेबसाइटको नाम ‘अमेरिका इज ब्याक’ घोषणा गरिएको छ ।
राष्ट्रपति ट्रम्पले शपथलगत्तै देशवासीका नाममा सम्बोधन गर्दै अमेरिका अब स्वर्ण युगमा प्रवेश गरेको उद्घोष गर्नुभयो । आफ्नो कार्यकाल सुरुवातको सम्बोधनका क्रममा उहाँले यस दिनलाई स्वतन्त्रता दिवस भएको दाबी गर्नुभयो । उहाँले अमेरिकालाई फेरि बनाउन चुनाव प्रचारका क्रममा भगवान्ले आफ्नो जीवन बचाएको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “हालैको राष्ट्रपतीय निर्वाचनलाई हाम्रो देशको इतिहासमा सबैभन्दा ठुलो र परिणाममुखी निर्वाचनका रूपमा स्मरण गरिने छ ।” उहाँले हालसालै लस एन्जलसमा फैलिएको डढेलोमा धेरै मानिसले आफ्नो घर गुमाएकोमा दुःख प्रकट गर्नुभयो । डढेलो नियन्त्रणको प्रयासमा सरकार लागेको औँल्याउँदै उहाँले देशका धनी वर्गलाई घरबारविहीन बनाएको उल्लेख गर्नुभयो ।
उहाँले देशको शिक्षा र स्वास्थ्य सेवा प्रणालीको आलोचना गर्दै छिटो परिवर्तन ल्याउने वाचा गर्नुभयो । आफ्नो पुनरागमनले अमेरिकाको पतन समाप्त गर्दै नागरिकको स्वतन्त्रता फिर्ता गर्ने दिन ल्याएको दाबी गर्नुभयो ।
मेक्सिको सीमा क्षेत्रमा आपत्काल घोषणा
नयाँ राष्ट्रपतिका रूपमा उहाँले पहिलो दिन नै कार्यकारी राष्ट्रपतिको हैसियतमा एक सय वटा फाइलमा आदेशात्मक हस्ताक्षर गर्नुभयो । जसमा संशयका साथ हेरिएको आप्रवासन तथा देश निकालासम्बन्धी आदेश पनि सामेल रह्यो । यी विषयमा सम्भावित हुलदङ्गालाई मध्यनजर गर्दै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय आपत्कालको घोषणा गर्नुभयो । त्यस्तै वातावरणीय, पारलैङ्गिक अधिकार तथा अपराधमा क्षमा दिने विषय पनि उहाँको आदेशमा समावेश छन् । यी आदेशहरूमा अमेरिकी कङ्ग्रेसको अनुमोदन आवश्यक पर्दैन । त्यसैले पनि अमेरिकामा आफूले लागु गर्न चाहेको नीतिगत विषयलाई उहाँले समावेश गर्नुभएको मानिन्छ । कतिपय विषयमा भने भविष्यमा थप बहस र कानुन आकर्षित गर्न सकिने सम्भावना कायम रहन्छन् ।
चिसोमा तातो स्वागत
ट्रम्पले क्यापिटल रोटुन्डाको हलभित्र शपथ लिँदै गर्दा माइनस १३ डिग्री सेन्टिग्रेडको चिसोमा बाहिर भेला भएका समर्थकहरूले खुसीयाली मनाए अनि आतिसबाजी गरेर आपसमा खुसी साटे । अमेरिकी संविधानले शपथग्रहणको परम्परा जनवरी २० तारिखका लागि तोकेको छ । सोही अनुसार स्थानीय समय १२ बजे नयाँ राष्ट्रपतिले शपथ गर्ने चलन छ । साथै त्यही बेला निवर्तमान राष्ट्रपतिको बिदाइ भएको मानिन्छ ।
अमेरिकाको राजधानी वासिङ्टन डिसीको खुला र विशाल स्थानमा आयोजना हुने गरेको शपथग्रहण सोमबार अत्यधिक चिसो हुने मौसमी प्रक्षेपणसँगै संसद् भवनभित्र गर्ने निर्णय गरियो तर राष्ट्रपति ट्रम्पलाई हृदयदेखि माया गर्नेहरूलाई चिसो ठिहीले रोकेन। अत्यधिक चिसोका बाबजुद हजारौँ समर्थक शपथग्रहण समारोहस्थलबाहिर जम्मा भएर नयाँ राष्ट्रपति ट्रम्पलाई स्वागत गरे । हलमा भने करिब छ सय जना विशिष्ट व्यक्ति सहभागी भएका थिए । समर्थकहरूलाई खेलकुद रङ्गशालाको विशाल स्थलमा प्रत्यक्ष प्रसारणसहित बिस हजार दर्शकले शपथग्रहण हेर्न सक्ने व्यवस्था गरिएको थियो । सरकारी निम्तामा आएका मूर्धन्य गायक तथा सङ्गीतकारहरूले तुमुल ध्वनिका साथ अमेरिका दी ब्युटिफुल, ब्लेस दी युएसएसहित उहाँको जयगान गाउँदा माहोल थप उत्सवमय बनेको थियो । आफ्नो उमेरभन्दा अत्यधिक ऊर्जावान देखिनुभएका ट्रम्पको पुनरागमनलाई समर्थकहरूले उच्च सम्मान व्यक्त गरे ।
राष्ट्रपतिका प्रत्यासी कमला ह्यारिसलाई भारी मतले पराजित गर्दै गत नोभेम्बर ६ मा भएको निर्वाचनमा उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यस अघि सन् २०१७ मा पहिलो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।
विश्वशक्ति पछ्याउने दिग्गज पाहुनाहरू उहाँको शपथग्रहण समारोहमा सरिक हुन आउनुभयो । जसमा निवर्तमान राष्ट्रपति जो बाइडेन प्रमुख पाहुना हुनुहुन्थ्यो । सन् २०२० मा बाइडेनसँग पराजित हुँदाको अवस्थामा ट्रम्प शपथग्रहण समारोहमा सरिक हुनुभएको थिएन । विश्व शक्तिको प्रतिस्पर्धी मुलुक चीनका उपराष्ट्रपति हान झेङ पनि शपथग्रहणमा सहभागी हुनुभयो । ट्रम्प मन्त्रीपरिषद्का मनोनीत सदस्यका रूपमा अर्बपति एलन मस्क, बोरिस जोन्सन्, जेफ बेजोस, मार्क जुकरवर्ग, टिकटकका प्रमुखलगायतका डिजिटल विश्वका बादशाहहरू उहाँको शपथग्रहण समारोहको सान बन्नुभयो । त्यस्तै पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टन, जर्ज डब्लु बुस र उहाँसँग पराजित हुनुभएकी निवर्तमान उपराष्ट्रपति कमला ह्यारिसलगायत सहभागी हुनुभयो । उहाँको शपथलगत्तै उपराष्ट्रपतिमा उहाँका समर्थक जेडी भान्सले पनि शपथ लिनुभएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



