खबरहेड लाइन

अछाम घटना : प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा प्रेमिकाको हत्या

न्युज अफ नेपाल

काठमाडौं ।

अछाम जिल्लाको ढकारी गाउँपालिका-८ मा फुपूभदैनी मृत्यु प्रकरण हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनालाई जघन्य हत्या भएको निष्कर्ष निकालेको हो ।

१४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव माघ १२ गते ढकारी-१, छिन्नेओडार जंगलमा फेला परेको थियो । गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट शनिबार छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका- ८ की दुवै किशोरको ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय अछाम, केन्द्रीय अनुसन्धान ब्युरो , सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको हो ।

हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हाे । उनीहरूकाे उमेरका कारण नाम सार्वजनिक गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले दुई किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध भएको बताएका छन्।

डीएसपी भण्डारीका अनुसार-सरस्वतीलाई यौन प्रस्ताव राखिएको तर उनले विवाहको शर्त अघि सारेपछि झगडा पर्दा अभियुक्तहरूले ढुंगाले हानेर उनको हत्या गरिएकाे अनुसन्धानबाट खुलेको छ।

इशराले घटनाबारे घरमा जानकारी दिने भनेपछि उनलाई पनि ढुंगाले प्रहार गरी हत्या गरिएको प्रहरी निष्कर्षमा पुगेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button