खबर

सप्तरीमा भेटियो नयाँ प्रजातिको चरा, नेपालमा चरा प्रजातिको सङ्ख्या ९ सय पुग्यो

छोटो पुच्छ्रे समुद्री चरा । तस्बिर सौजन्य ः नेपाल वर्ड रेकर्ड कमिटी

बाबुराम कार्की

वराहक्षेत्र, जेठ १२ गते । सप्तरी जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । सप्तरी जिल्लास्थित कोशी बाँधको पिनटावरमा नयाँ प्रजातिको चरा ‘छोटो पुच्छ्रे समुद्री चरा’ ( सर्ट टेल सिर वाटर) अभिलेख गरिएको हो ।

सप्तकोसी बाँधको पिनटावरबाट नेपालको लागि नयाँ प्रजातिको छोटो पुच्छ्रे समुद्री चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनु भयो । उहाँका अनुसार नेपालका चराविद् अनीश तिम्सिनाले चरा अवलोकनको क्रममा गत वैशाख २० गते पहिलो पटक बिहान ९ बजेर ६ मिनेटको समयमा कोशी बराजमा रहेको पिनटावरबाट कोसी बाँध जलाशयमा पौडी खेलिरहेको अवस्थामा पहिलो पटक उक्त चरा देख्नुभएको थियो ।

उक्त चरा अवलोकनका क्रममा पानीको बहावसँगै तलतिर पौडी खेलिरहेको थियो । करिब ७० मिटर तल बहावमा बग्दै फर्कँदै पानीमा विचरण गरिरहेको चरालाई आधा घण्टा यो प्रक्रिया दोहार्याइरहेको अवस्थामा चराविद् अनीश तिम्सिनाले अवलोकन गर्नुभएको थियो । चराविद् तिम्सिनाले गत वैशाख २२ गते नेपाल वर्ड रेकर्ड कमिटीमा चराको यकिन पुष्ट्याँइको लागि विवरणसहित चराको तस्बिर पठाउनुभएको बताइएको छ । नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलका अनुसार रेकर्ड कमिटीले प्राप्त विवरणहरूको अध्ययन अनुसन्धान गरी राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छिविद्हरुको राय सुझाव प्राप्त भएपछि छोटो पुच्छ्रे समुद्री चरा’ पहिलो पटक अभिलेख गरिएको हो ।

नेपालको लागि नयाँ प्रजातिको छोटो पुच्छ्रे समुद्री चरा’ अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनु भयो । उहाँका अनुसार प्रोसेलियाफोर्मस वर्गको प्रोसालोरिडेइ परिवारमा पर्ने यो चरा अस्ट्रेलिया, अन्टार्टिका, क्यानडा, कोस्टारिका, फिजी, जापान, भारत, निउजीलैंड, रुस, श्रीलङ्का दक्षिण कोरिया आदि देशहरूमा आवासीय रूपमा पाइनुका साथै यी क्षेत्रहरूमा प्रजजनन्समेत गर्दछ । नेपालमा फिरन्ते रूपमा यो चरा आएको अनुमान गरिएको छ ।

पहिलो पटक सप्तरीमा भेटिएको सर्ट टेल सिर वाटर पुष्टि गरी नेपाली नाम छोटो पुच्छ्रे समुद्री चरा राखिएको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ । नेपालको अभिलेखमा थप एउटा प्रजातिको सङ्ख्या थप भएको छ । नयाँ प्रजातिको चरा थपिएसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या ९ सय पुगेको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button