खबरहेड लाइन

व्यापार घाटा ६.३० प्रतिशतले बढ्यो

निर्यात व्यापारमा उच्च सुधार

काठमाडौँ, असार ७ गते । नेपालको निर्यात व्यापारमा उछाल आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढेको छ । जस अनुसार चालु आवको ११ महिनामा नेपालबाट दुई खर्ब ४७ अर्ब रुपियाँको निर्यात भएको छ ।

समीक्षा अवधिमा आयात भने १३.१५ प्रतिशतले मात्र बढेर १६ खर्ब ४४ अर्ब रुपियाँ बराबरको आयात भएको छ । रकमका आधारमा नेपालबाट हुने निर्यात आयातको तुलनामा ज्यादै न्यून भए पनि गत वर्षको तुलनामा सुधार आएको छ ।

विभागका अनुसार नेपालमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपियाँ बराबरको आयात हुँदा निर्यात दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख १३ हजार रुपियाँ बराबरको भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार आयात भएको थियो भने एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपियाँ बराबरको निर्यात भएको थियो । विभागको तथ्याङ्क अनुसार आयात बढेको र सो अनुपातमा निर्यातको योगदान कम हुँदा ११ महिनामा मुलुकको व्यापार घाटा गत वर्षको तुलनामा ६.३० प्रतिशतले बढेको छ । यस वर्षको जेठसम्म १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपियाँ रहेको थियो ।

विभागका अनुसार ११ महिनामा सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । डिजेल आयातमा एक खर्ब १५ अर्ब ५५ करोड रुपियाँ बिदेसिएको देखिएको छ । दोस्रो नम्बरमा कच्चा सोयाबिन तेल रहेको छ । यसको आयातमा ९५ अर्ब ७२ करोड रुपियाँ बिदेसिएको छ । यस्तै तेस्रो नम्बरमा पेट्रोल आयात भएको छ, जसका लागि ५८ अर्ब ५८ करोड रुपियाँ खर्च भएको छ । एलपी ग्यास ५७ अर्ब ३६ करोड, स्मार्ट फोन ३२ अर्ब आठ करोड, कच्चा सूर्यमुखी फूल तेलको आयात २६ अर्ब ८७ करोड र सुन १७ अर्ब १२ करोड रुपियाँ बराबरको आयात भएको छ ।

चालु आवको ११ महिनामा सोयाबिन तेलको निर्यात सबैभन्दा धेरै ९३ अर्ब ५१ करोड रुपियाँ, सूर्यमुखी तेलको निर्यात ११ अर्ब ३३ करोड, नेपाली कार्पेट नौ अर्ब ७८ करोड बराबरको निर्यात भएको छ । अलैँची सात अर्ब १९ करोड र रोल्ड आइरन/स्टिल पाँच अर्ब १३ करोड रुपियाँ बराबरको निर्यात भएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button