
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगर अस्पताल र सबै वडाका स्वास्थ्य केन्द्रहरूलाई सेवा दिन आग्रह गरेका छन् ।
जेनजीको आन्दोलनले तहसनहस भएको नगरपालिकाको भवन र वडा कार्यालयहरूबाट तत्काल काम सूचारू हुने अवस्था छैन ।
भदौ २४ गते प्रदर्शनकारीहरूले नगरपालिकाको भवन तोडफोडसहित आगजनी गरेको थियो ।
आगजनीका कारण भवनका प्रत्येक कोठामा भएका कागजात र फर्निचर लगायत कुनै पनि सामग्री चोखो अवस्थामा रहेनन् । सबै जलेर नष्ट भएको छ ।
नगरप्रमुख बुढाथोकीको कार्यकक्ष र राजश्व शाखा त झन पुरै ध्वास्त भएको छ । नगरपालिकाबाट काम सूचारू हुन केही समय लाग्ने छ । त्यस्तै वडा कार्यालयहरूको पनि हालत त्यहि छ ।
प्रदर्शनकारीले नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीको व्यक्तिगत घर पनि जलाइदिएका छन् ।
उपप्रमुख उप्रेती चढ्ने मे १ त १७२ नम्बरको गाडी पनि जलाइदिएका छन् । नगरपालिका भवनभित्र रहेको टिपर, जेसीवी, नगरप्रहरीको गाडी तोडफोड गरिएको छ ।
यसका बादजुद पनि नगरप्रमुख बुढाथोकीले जनता विरामी पर्न सक्छन् भनेर स्वास्थ्य सम्बन्धि चासो राखेका छन् ।
उनले विहीबार सामाजिक सञ्जालमा स्टाटस लेखर वडाका सबै स्वास्थ्य केन्द्र र नगर अस्पतालबाट जनतालाई सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
जेनजीको आन्दोलन हुनुअघि काठमाडौं गएका बुढाथोकी आन्दोलन सुरू भएपछि घर र कार्यालय आउन पाएका थिएनन् ।
हाल बाहिर सुरक्षित स्थानमा रहेका बुढाथोकीले स्टाटसमा निर्वासित नगरप्रमुख भनेर नगरवासीलाई सम्बोधन गरेका छन् ।
यसैबीच जिल्लास्थित सुरक्षा समितिले झापाका वडा र नगरपालिकाका भवनहरूको स्थलगत अनुगमन समेत गरेको छ ।
नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले वडाका सबै केन्द्र र नगर अस्पतालबाट सेवा सूचारू गरिरहेको बताइन् ।