
न्युज अफ नेपाल
मोरङ।
मोरङमा दुई सातादेखि बेपत्ता भएकी १३ वर्षीया बालिकाको शव जंगलमा बीभत्स अवस्थामा फेला परेको छ।
लेटाङ नगरपालिका–२ स्कुल चौककी अंशु गौतमको शव शुक्रबार दिउँसो करिब साढे १ बजे बेलबारी–चिसाङ साझेदारी वनभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार शव टाउको र शरीर छुट्टाछुट्टै सडेको अवस्थामा भेटिएको थियो। बालिकाले लगाएका कपडा र चप्पल पनि फरक–फरक ठाउँमा भेटिएका थिए, र भित्री वस्त्र खोलिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
शव सडेर दुर्गन्ध फैलिएको पाइएपछि घाँस काट्न गएका स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ की विद्यार्थी थिइन्। उनी असोज २१ गते दिउँसो ४:३० बजे घरबाट निस्किएपछि सम्पर्कविहीन बनेकी थिइन्।
उनको खोजी भइरहेका बीच शुक्रबार शव फेला परेपछि प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार, बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। घटनास्थल पुगेकी मोरङ प्रहरी प्रमुख कविता कटवालले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएकी छन्।



