
राजविराज, फागुन २५ गते । तराईका विभिन्न जिल्लामा व्यापारीले आँपको बगैँचा नै खरिदबिक्री गर्न थालेका छन् । आँप उत्पादनका लागि प्रसिद्ध सप्तरीमा यतिबेला व्यापारीले बगैँचामै पुगेर मञ्जरको अवस्था हेरेर मोलतोल गर्न थालेका हुन् । व्यापारीले धेरै रुख भएको बगैँचा नै खरिद गरेका हुन् ।
राजविराज नगरपालिका–९ का व्यापारी मो. हनिफकले घरनजिकको आँप बगैँचामा रहेका २०/२५ वटा आँपका रूखको मञ्जर करिब ९० हजार रुपियाँमा खरिद गरेको बताउनुभयो । उहाँका अनुसार आँपमा टिकुला लागेपछि मूल्य बढ्ने भएकाले अहिले मञ्जरकै अवस्थामा खरिद गर्दा सस्तो पर्ने हुन्छ । मञ्जर खरिद गरेपछि फलको स्याहार, औषधी छर्ने तथा संरक्षण गर्ने जिम्मेवारी व्यापारीकै हुने गर्छ ।
बगैँचाधनीले समयमै उचित हेरचाह गर्न नसक्दा मञ्जर झर्ने वा किराले नोक्सान पु¥याउने जोखिम हुने भएकाले अग्रिम बिक्री गर्न बाध्य भएको बताउँछन् । ठुलो बगैँचाको रेखदेख गर्न जनशक्ति अभाव हुने भएकाले पनि मञ्जर बेच्ने गरेको शम्भुनाथ नगरपालिकाका कृषक भोला चौधरीले बताउनुभयो । “व्यापारीले मञ्जर खरिद गरेपछि फल पाक्ने समयसम्म बगैँचाको स्याहार गर्छन्,” उहाँले भन्नुभयो । फल सुरक्षित राख्न र राम्रो उत्पादन लिन व्यापारीले गर्ने मेहनत आफूहरूले गर्न नसक्ने भएकाले बगैँचा नै बिव्रmी गरेको उहाँले बताउनुभयो।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतका अनुसार जिल्लमा आँपका बोटमध्ये करिब ७५ प्रतिशत मालदह, १० प्रतिशत बम्बई, कलकतिया, दसहरी, मलिकासहित अन्य १५ प्रतिशत जातका रहेका छन् ।
जिल्लाको उत्तरी भावर क्षेत्र अन्तर्गत धरमपुर, रूपनगर, घोघनपुर, जगतपुर, कञ्चनपुर, तेरहौता, प्रसबनी, बकधुवा, कुसहा, कल्याणपुर, कडरबोना र कठौनालगायत क्षेत्रमा आँप खेती भइरहेको उहाँले बताउनुभयो ।
सप्तरीमा उत्पादित आँप काठमाडौँ, विराटनगर, हेटौँडा, वीरगन्ज, पोखरालगायत देशका विभिन्न सहरमा बिक्री हुने गर्छ । राजधानीमा खपत हुने आँपमध्ये ४० देखि ५० प्रतिशतसम्म सप्तरीमै उत्पादन हुन्छ ।
यहाँ उत्पादन हुने मालदह र दसहरी जातका आँप भारतको कोलकाता र सिलिगुढीसम्म निर्यात हुने गरेका छन् भने कतार, साउदी अरबलगायत खाडी मुलुकमा पनि पठाइने गरेको छ । जिल्लामा उत्पादन भएको करिब २५ प्रतिशत आँप विदेश निर्यात हुने गरेको अवकाशप्राप्त वरिष्ठ कृषि विकास अधिकृत अनुपलाल साहले जानकारी दिनुभयो ।
यस वर्ष आँपका रुखमा प्रशस्त मञ्जर लागेकाले कृषकहरू उत्साहित छन् । गत वर्षको तुलनामा उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख राउतका अनुसार मौसम अनुकूल रहे गत वर्षभन्दा दोब्बरसम्म उत्पादन हुन सक्ने अनुमान गरिएको छ । जिल्लामा करिब नौ हजार हेक्टर क्षेत्रफलमा आँपका बोट रहेको उहाँले जानकारी दिनुभयो ।गोरखापत्र अनलाइन



