मूल खबरहेड लाइन

कांग्रेसको उम्मेदवारी मनोनयन तालिका सार्वजनिक, बिहान १० बजेदेखि फारम वितरण

काठमाडौँ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएसँगै नयाँ व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी मनोनयनको तालिका सार्वजनिक गरिएको छ। पार्टीले मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन फारम वितरण गर्ने र दिउँसो ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने समय निर्धारण गरेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार उम्मेदवारको मनोनयन फारम बिहान १० बजेदेखि वितरण सुरु हुनेछ। त्यसअघि बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिनेछ।

दाबी–विरोधपछि बिहान १०ः३० बजेसम्म प्राप्त उजुरीमाथि जाँचबुझ गरिनेछ भने बिहान ११ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिका छ।

मनोनयन फारम वितरण बिहान १० बजेदेखि नै सुरु हुने भए पनि उम्मेदवारी मनोनयन दर्ताका लागि भने दिउँसो १२ः३० देखि ४ बजेसम्मको समय तोकिएको छ।

२९७ सदस्यीय हुनेछ कांग्रेसको केन्द्रीय कार्यसमिति

संशोधित विधानअनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २ सय ९७ सदस्यीय हुनेछ। जसमा सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहने व्यवस्था गरिएको छ। चार उपसभापतिमध्ये कम्तीमा एक जना महिला अनिवार्य गरिएको छ।

त्यस्तै, महामन्त्री तीन जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ। सहमहामन्त्रीको संख्या १५ जना रहनेछ। कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट एक जना मनोनीत हुने व्यवस्था छ।

केन्द्रीय सदस्यतर्फ खुला समूहबाट ४५ जना र महिलातर्फ १५ जना रहनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना केन्द्रीय सदस्य रहनेछन्।

समावेशी प्रतिनिधित्वतर्फ दलित समुदायबाट पाँच महिलासहित १४ जना, आदिवासी जनजातिबाट आठ महिलासहित २० जना, खस–आर्यबाट आठ महिलासहित १८ जना र मधेसी समुदायबाट पाँच महिलासहित १३ जना केन्द्रीय सदस्य रहनेछन्।

त्यस्तै, जनसम्पर्क समितिबाट दुई महिलासहित सात जना र पिछडिएको वर्गबाट तीन जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। थारू समुदायबाट दुई महिलासहित छ जना, श्रमिकबाट एक महिलासहित तीन जना तथा पेसागत विज्ञबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहनेछन्।

सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहने व्यवस्था पनि संशोधित विधानमा गरिएको छ।

यसका अतिरिक्त केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्न सक्ने व्यवस्था गरिएको छ।

नयाँ विधानअनुसार हुने निर्वाचनले कांग्रेसको केन्द्रीय नेतृत्वसँगै समावेशी प्रतिनिधित्वको संरचनालाई समेत नयाँ स्वरूप दिने देखिएको छ। उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु भएसँगै सभापति, उपसभापति, महामन्त्रीलगायत विभिन्न पदमा आकांक्षी नेताहरूको सक्रियता थप बढ्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button