
बिर्तामोड । नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन अन्तरगत झापाको जिल्ला अधिवेशन यहि कात्तिक १५ गते बिर्तामोडको अग्रसेन भवनमा हुने भएको छ ।
जिल्ला अधिवेशन तयारी समिति र क्षेत्र, प्रदेशसभ क्षेत्र, गाउँ÷नगर समितिको आज बसेको संयुक्त बैठकले यस अघिको तयारी समितिलाई अधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ ।
रुपान्तरित जिल्ला अधिवेशन आयोजक समितिको संयोजकमा तयारी समितिकै संयोजक कृष्ण हुमागाँई रहनु भएको प्रचार समितिका सदस्य बिष्णु सुब्बाले जानकारी दिनु भयो । बिराटनगरको कोशी प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको जिल्ला संयोजकको जिम्मेवारी सम्हाल्दै आउनु भएका पार्टीका जिल्ला सचिवसमेत रहनुभएका हुमागाँईले राष्ट्रिय सम्मेलनपछी झापा जिल्ला अधिवेशन तयारी समितिको संयोजकको जिम्मेवारी सम्हल्नु भै क्षेत्रीय तहको अधिवेशन सम्पन्न गराइसक्नु भएको छ ।

आयोजक समितिको सदस्यहरुमा पाँचवटा क्षेत्रीय समितिका सभापति, १० प्रदेशसभा सभापति र १५ गाउँ नगर सभापति, तयारी समितिका सदस्यसमेत गरि ५१ सदस्यीय आयोजक समिति गठन गरिएको महाधिवेशन प्रतिनिधि शुसिला संग्रौलाले बताउनु भयो ।
त्यसैगरी जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न ९ वटा उपसमिति गठन गरिएको तयारी समितिका सह संयोजक कालेन्द्रप्रसाद सिंह राजवंशीले बताउनु भयो ।
गठित समितिमाहरुमा ओमकृष्ण बिमलीको संयोजकत्वमा आर्थिक समिति, राजेन्द्र उप्रेतीको संयोजकत्वमा प्रचार(प्रसार समिति, शोभा श्रेष्ठ नेम्बाङ्गको संयोजकत्वमा स्वागत समिति, प्रवेश बस्नेतको संयोजकत्वमा मंच तथा साउण्ड सिष्टम ब्यवस्थापन समिति, संजय न्यौपानेको संयोजकत्वमा स्वयमसेवक समिति लगायतका समितिहरु गठन गरिएको सदस्य सचिव संजय निरौलाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको जिल्ला अधिवेशन कार्यक्रमलाई उदघाटन गर्न पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता एनपी साउदलाई प्रमुख अथिको रुपमा आमन्त्रण गरिएको संयोजक हुमागाईले जनाउनु भयो ।

त्यसैगरी राष्ट्रिय राजनीतिक दलका झापा जिल्ला प्रमुखहरुलाई अधिवेशन उदघाटन समारोहमा अतितिका रुपमा निमन्त्रणा गरिएको बताइएको छ ।



