खबर

सांसद विश्वराज पोखरेलद्वारा आफूविरुद्धका आरोपको खण्डन

झापा। प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले विभिन्न अनलाइन सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आरोपहरूको खण्डन गरेका छन्।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद पोखरेलले बिचौलियासँगको सम्बन्ध, आर्थिक लेनदेनलगायतका विषयमा लगाइएका आरोप निराधार, भ्रामक तथा कपोलकल्पित भएको दाबी गरेका हुन्।

उनले समाचारमा उल्लेख गरिएका व्यक्तिहरूसँग आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा अन्य प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। आफूलाई जोडेर गरिएका आर्थिक लेनदेनसम्बन्धी आरोप पूर्ण रूपमा झुटा र खेदजनक रहेको उनको भनाइ छ।

पोखरेलले प्रमाणित तथ्य र आधिकारिक आधारबिना आफ्नो प्रतिष्ठा तथा सार्वजनिक जीवनमाथि आघात पुर्‍याउने उद्देश्यले समाचार सम्प्रेषण गरिएको आरोप लगाएका छन्। यस्ता समाचारको तत्काल सत्यापन तथा सच्याउन सम्बन्धित अनलाइन सञ्चारमाध्यमलाई आग्रहसमेत गरेका छन्।

उनले झुटा तथा आधारहीन सामग्री प्रचारप्रसार गर्नेविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी उपचार खोज्ने अधिकार सुरक्षित रहेको बताएका छन्।

३५ वर्षदेखि निरन्तर राष्ट्र र नागरिकको सेवामा समर्पित रहेको उल्लेख गर्दै पोखरेलले आगामी दिनमा पनि सत्य, निष्ठा र इमानदारीका साथ सार्वजनिक सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button