मूल खबर

 नेपाली कांग्रेस कोशी प्रदेशको दोस्रो अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने

विराटनगर नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशन आगामी मंसिर १७ र १८ गते विराटनगरमा हुने भएको छ। अधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक शोभा श्रेष्ठ नेम्बाङले जानकारी दिएकी छन्।

प्रदेश अधिवेशनको मिति र तयारीबारे निर्णय गर्न विराटनगरस्थित होटल स्टारमा बसेको कोशी प्रदेशका पदाधिकारी, सदस्य, १४ जिल्लाका सभापति तथा संयोजक र केन्द्रीय नेताहरू सम्मिलित संयुक्त बैठकले मंसिर ४ गतेका लागि तय गरिएको अधिवेशनलाई मंसिर १७ र १८ गते गर्ने निर्णय गरेको हो। केन्द्रीय महाधिवेशनमा सहभागी हुनुपर्ने तथा पहाडी जिल्लाका प्रतिनिधिहरूको समय र सुविधालाई ध्यानमा राखेर मिति परिवर्तन गरिएको बैठकले जनाएको छ।

अधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न प्रदेश महामन्त्री भूपेन्द्र राईको संयोजकत्वमा १५१ सदस्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन गरिएको छ। समितिमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, १४ वटै जिल्लाका सभापति पदेन सदस्य र सबै क्षेत्रीय सभापतिहरू सदस्य रहने व्यवस्था गरिएको छ।

त्यस्तै, पूर्वमुख्यमन्त्री केदार कार्कीको संयोजकत्वमा आवास, भोजन तथा व्यवस्थापन उपसमिति, शोभा श्रेष्ठ नेम्बाङको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र मीरा खड्काको संयोजकत्वमा मञ्च तथा रजिस्ट्रेसन उपसमिति गठन गरिएको छ। अधिवेशन सफल बनाउन स्वयंसेवक, स्वागत, अधिवेशन प्रतिनिधि समन्वय तथा निर्वाचन समितिलगायतका उपसमितिसमेत गठन गरिएको छ।

संयुक्त बैठकको समापन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको इतिहास संघर्ष, त्याग, बलिदान र समर्पणले भरिएको बताएका छन्। पद र पैसाको प्रलोभनमा लाग्नुभन्दा निष्ठा र संघर्षको बाटोमा हिँड्ने कार्यकर्ताले नेतृत्व गरेको पार्टी नै बलियो हुने उनको भनाइ थियो।

 

नेता सिटौलाले आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने नियमित १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले नेपाली कांग्रेसलाई पुनः राष्ट्रिय राजनीतिको मूलधारमा स्थापित गर्ने विश्वास व्यक्त गरे।

उनले पार्टीको विधि, विधान, केन्द्रीय समितिको निर्णय प्रक्रिया, पद्धति र परम्पराको भावनाविपरीत दुई महामन्त्रीले पद प्राप्तिको हतारो गर्दा गत निर्वाचनमा पार्टीले ठूलो क्षति व्यहोर्नुपरेको टिप्पणीसमेत गरे।

संयुक्त बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरू गोमा भट्टराई र महिन्द्रा सुब्बा, झापा जिल्ला सभापति कृष्णप्रसाद हुमागाईं, उदयपुर सभापति वसन्त बस्नेत, मोरङ संयोजक सुवास पौडेल, इलाम संयोजक सोमाम छिरिङ काजी र पाँचथर संयोजक डेकेन्द्र तामाङलगायतले अधिवेशन भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

प्रदेश महामन्त्री भूपेन्द्र राईको सभापतित्वमा सम्पन्न बैठकले अधिवेशनको तयारीलाई तीव्रता दिने निर्णयसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button