मूल खबर

उपसभामुखलाई राजीनामा गराउने नेकपाको निर्णय

मधूसुदन रायमाझी, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीले सभामुख चयन प्रक्रिया अगाडि बढाउन उपसभामुख बन्नुभएका डा.शिवमाया तुम्बाहाम्फेलाई राजीनामाका लागि निर्देशन दिएको छ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीबाट चयन हुन नपाउने प्रावधानका कारण नेकपाले सभामुख पद लिएर उपभामुख अन्य दललाई दिन उहाँको राजीनामा मागेको हो।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि पार्टीको तर्फबाट उम्मेद्ववारी दिने निर्णय गर्दै उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्पष्ट पार्नुभयो।

यद्यपि सभामुखको उम्मेदवारको विषयमा भने अझै कुनै निर्णय भएको छैन। प्रवक्ता श्रेष्ठले पनि यसबारे कुनै प्रतिक्रिया दिन चाहनुभएन। गत असोज दोस्रो सातादेखि सभामुख पद रिक्त रहँदै आएको छ। सत्तारूढ नेकपाले यसको टुंगो नलगाउँदा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नसकेको छैन।
गत पुस ४ गतेदेखि बस्न नसकेको उक्त बैठक पुस ११ र १६ गते पनि सूचना टाँसेर स्थगित गरिएको थियो। उक्त बैठक आज आइतबारका लागि बोलाइएको छ।उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिए सभामुख चयनका लागि ढोका खुल्ने बताउँदै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो– ‘उपसभामुखले राजीनामा नदिँदासम्म यो प्रक्रिया अगाडि बढ्न सक्दैन, राजीनामा दिएलगत्तै टुंगो लाग्छ।’

यसै विषयलाई लिएर शुक्रबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपसभामुख तुम्बाहाम्फेबीच भएको तीन घण्टा लामो छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डले राजीनामा दिन गरेको आग्रहलाई तुम्बाहाम्फेले अस्वीकार गर्नुभएको थियो।

उहाँले आफू सभामुखका लागि योग्य रहेको बताउँदै निवर्तमान सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई नदिन अध्यक्षद्वयलाई चेतावनी दिनुभएको थियो।

संवैधानिक व्यवस्थाअनुसार उपसभामुखबाट राजीनामा गर्न पार्टीको ह्वीप नलाग्ने प्रावधान छ। उपसभामुखले नेकपाको निर्णय नमाने महाअभियोग लगाएर हटाउनुपर्ने हुन्छ।

‘राजीनामा दिन्न’

नेकपाको सचिवालय बैठकले राजिनामा दिन निर्देशन दिए पनि उपसभामुख तुम्बाहाम्फेले पार्टी निर्णय आफूलाई थाहा नभएको जीकिर गर्दै सभामुख बन्ने सुनिश्चितता नभएसम्म राजिनामा नदिने अडान लिनुभएको छ।

पार्टीमा पितृसत्तात्मक सोच राजतन्त्रभन्दा बलियो रहेको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘राजिनामा दिन्न, संसद बैठक सञ्चालन हुन्छ।’ पार्टीमा राजसंस्थाभन्दा बलियो पितृसत्तात्मक सोच रहेको आरोप लगाउँदै उहाँले थप्नुभयो–‘जनता राजतन्त्र फ्याक्न सफल भए पार्टीभित्रको पितृसत्तात्मक सोच फ्याक्न सकेनन्।’
उपसभामुख तुम्बाहाम्फेद्वारा लिखित ‘नेपालमा महिला आन्दोलन’ पुस्तकको परिचर्चा कार्यक्रममा उहाँले विगत र वर्तमानलाई हेर्दा उपल्लो तहमा महिलाको सहभागिता भए पनि महिलाको अवस्था परिवर्तन हुन नसकेको बताउनुभयो।
महिलाहरूका लागि राजनीतिक आन्दोलन भए पनि सत्तामा महिलाको संख्या, उपस्थिति र सहभागिता निकै कम रहेको उहाँको विश्लेषण थियो। सोही कार्यक्रममा नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले ५० प्रतिशतभन्दा बढी जनसंख्या र मतदाता भएका महिलाले अधिकारका लागि आन्दोलन गरेको भए पनि अपेक्षाकृतरूपमा परिवर्तन हुन नसकेको बताउनुभयो।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button