काठमाडौं (हाम्रो खेलकुद) – आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा युवा स्पिनर अनिल खरेल खेलाडी किनबेचमा सर्वाधिक महँगो मुल्यमा बिक्री भएका छन् । स्पिनर अनिल खरेललाई पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले १ लाख २७ हजार रुपैयाँ खर्चंदै टोलीमा अनुबन्ध गरेको छ ।

अनिलले दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा एक्स्पर्ट धनगढी ब्लुजबाट ५ खेलमा ८ विकेट लिदै उदीयमान खेलाडी घोषित भएका थिए । जसको फाइदा उनलाई इपिएलमा परेको छ । विराटनगरले अर्का लेग स्पिनर बिक्रम कुमार भुषाललाई १ लाख १७ हजार र हिटर सौरभ खनाललाई १ लाख ७ हजार रुपैयाँमा अनुबन्ध गरेको छ । सौरभलाई पोखरा राइनोजले फुकुवा गरेको थियो ।
शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सले सुदूरपश्चिम प्रदेशका तीब्र गतिका बलर विकास आग्रीलाई ५० हजार र विकेटकिपर हिमांशु दत्तलाई ५५ हजारमा टोलीमा अनुबन्ध गरेको छ । चितवन टाइगर्सले युवा ब्याट्सम्यान तथा विकेटकिपर खडक बोहरा ५० हजार रुपैयाँ खर्चेको छ ।
काठमाडौं किंग्स ११ ले तीब्र गतिका बलर अमृत भट्टाई र दीपेन्द्र रावतलाई समान ५१ हजार खर्चेको छ । काठमाडौंले यू१९ का अलराउन्डर शेर मल्ललाई ८६ हजार रुपैयाँमा खर्चेको छ । शेरले पछिल्लो समय यू१९ र घरेलु प्रतियोगितामा राम्रो प्रर्दशन गर्दै आएका छन् ।
पोखरा राइनोजले यू१९ टोलीका कप्तान रित गौतमलाई १ लाख २० हजार रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ । पोखराले चितवन राइनोजका पुर्व कप्तान पृथु बास्कोटालाई ७५ हजार, यू१९ का तीब्र गतिका बलर विवेक कुमार यादवलाई ६० हजार र बिपिन रावललाई ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ ।



