बङ्ग्लादेशी इलिस माछासहित तीनजना पक्राउ
कुचबिहार : मेखलीगञ्ज पुलिसले बङ्ग्लादेशी इलिस माछासहित तीनजना तस्करलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले एउटा वाहन पनि आफ्नो नियन्त्रणमा लिएको छ। पक्रा पर्नेहरू कुचलीबाड़ी थाना इलाका निवासी विष्णुपद राय, विमल राय र रतन रायको रूपमा सामेल छन्। पुलिसले तिनीहरूबाट 42 किलो बङ्ग्लादेशी इलिस माछा उद्धार गरेको छ। उद्धार गरिएको माछा सीमा पार गरेर अवैध रूपमा बाजारमा बिक्री गर्नको निम्ति ल्याइरहेको बताइएको छ।
सिलगढी : वन्यजीव तथा पक्षीहरूको छाला-हड्डीहरूको प्रयोग गरेर झारफुकको व्यवसायी गरेको मामिला प्रकाशमा आएको छ। वनकर्मीहरूले सिलगढी टाउन स्टेशनबाट यस्तै एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। केही दिन अघिदेखि सिलगढीको टाउन स्टेशन इलाकामा एकजना व्यक्तिले घोड़ालगायत विभिन्न वन्य जीव तथा पशु-पक्षीहरूको छाला-हड्डीहरूको प्रयोग गरेर झारफुक गर्दै मानिसहरूलाई भ्रममा पारिरहेका थिए। सोमबार केही युवकहरूले यस घटनाबारे वनविभागलाई जानकारी दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त व्यक्तिलाई सोधखोजको निम्ति हिरासतमा लिएको छ। सोधखोज अवधि उक्त व्यक्तिले विभिन्न ठाउँहरूबाट वन्य जीव तथा पशु पक्षीहरूको छाला तथा हड्डीहरू किनेर व्यवसाय गरिरहेको आफूले स्वीकार गरेको बताइएको छ।
दार्जिलिङका कांग्रेस नेता लरेन्ट पीटी लामाको निधन
दार्जिलिङ : कांग्रेसका वरिष्ठ नेता लरेन्स पीटी लामाको गत राति निधन भएपछि दार्जिलिङ हिल कांग्रेस नेतृत्वगण तथा पार्टी समर्थकहरूमा शोकको लहर छाएको छ। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार 63 वर्षीय लरेन्स पीटी लामा गत केही वर्ष अघिदेखि विभिन्न रोगले ग्रसित थिए। तिनलाई केही दिन अघि सिलगढी एउटा नर्सिङ होममा भर्ना गरिएको थियो। यसै क्रममा हिजो राति लगभग 10 बजेर 20 मिनटमा उपचार चलिरहेको अवस्थामा नै तिनको निधन भयो। दार्जिलिङको ज्योति ग्राम निवासी लरेन्स पीटी लामा सन् 1982 देखि नै कांग्रेस पार्टीमा सामेल भएर यसको नेतृत्व गर्दै आइरहेका थिए। तिनको निधनमा दार्जिलिङका विभिन्न राजनैतिक संगठनका नेतृत्वहरूले शोक व्यक्त गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेका छन्। siliguritimes/india






