कृषि र किसान

अनुदान दुरूपयोग भएपछि शितभण्डार बनाउने सम्झौता रद्द

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले शित भण्डार बनाउने ६ वटा कम्पनीसँगको सम्झौता रद्द गरेको छ। मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पैसा लिएर काम नगरेपछि सम्झौता रद्द गरिएको हो।

अनुदानको सही उपयोग नगरेको, भौतिक तथा वित्तीय प्रगती नगरेको, मोवीलाइजेशन पेस्कीको सही सदुपयोग नगरेको र निर्धारित समयभित्र काम सम्पन्न हुने नदेखिएपछि सम्झौता रद्द गरिएको परियोजनाका निर्देशक रेवती रमण पौडेलले जानकारी दिए।

परियोजनाले गत फागुनमा झापाको दिव्य शीतभण्डार, सर्लाहीको निलम्बरी कोल्ड स्टोर, सुनसरी र मोरङको सुन्दरी फिस फार्म, कपिलवस्तुको मायादेवी एग्रोफार्म र कैलालीको सफर एग्रो फार्मसँग शित भण्डार निर्माण गर्न सम्झौता गरेको थियो।

कम्पनीले काम गर्न सफर र निलम्बरीले दुई करोड २० लाख र मायादेवीले एक करोड ९३ लाख ६० हजार र दिव्य शीतभण्डारले ९८ लाख ८० हजार पेस्की लगेको परियोजना निर्देशक पौडेलले जानकारी दिए। त्यो रकम धरोटीमा कट्टा गरिने पौडेलले बताए।

‘हामीले बैंक ग्यारेन्टीका आधारमा पेस्की दिएका थियौं, अब त्यो धरौटीमा काटिन्छ,’ उनले भने।

सम्झौताको कोसेढुंगाका रूपमा उल्लेख भएका कुनै पनि कार्य कार्यान्वयनको दिशामा अगाडि नबढेका तथा निर्धारित समयावधिभित्र कार्य सम्पन्न हुन सक्ने नदेखिएकाले सम्झौतालाई निरन्तरता दिन उपयुक्त नदेखिएको मन्त्रालयको बनाएको प्रतिवेदनमा उल्लेख भएको उनले जानकारी दिए।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button