कृषि र किसानहेड लाइन

महँगो तिर्दा पनि तरकारी अभाव

सीता शर्मा

काठमाडौँ, असोज १२ गते । आइतबारदेखि सोह्रश्राद्ध सुरु भएको छ । समान्यभन्दा तरकारीको माग बढी हुने समय हो यो तर केही दिनयता काठमाडौँ उपत्यकाका उपभोक्ताले महँगो तिरेरसमेत ताजा तरकारी पाउन समस्या छ । देशभर पाँच दिनसम्म लगातार परेको भारी वर्षा र त्यसले निम्ताएको क्षतिले उपत्यकामा तरकारी नआएपछि उपत्यकावासीले महँगो मूल्य तिरेर पनि ताजा तरकारी पाउँदैनन् ।

गत बुधबार रातिदेखि आइतबार बिहानसम्म लगातार परेको भारी वर्षाले काठमाडौँसँग जोडिएको मुख्य सडक पृथ्वी राजमार्ग बन्द हुँदा उपत्यकामा तरकारी आपूर्ति प्रभावित भएको छ । उपत्यकाबाहिरबाट आउने तरकारी भित्रिने नाकामा पहिरोले गर्दा लामो समय सडकमै रोकिएपछि उपत्यकामा तरकारीको समस्या भएको छ ।

आइतबार दिउँसो कालीमाटी बजारमा आइपुग्नुभएकी सुशीला अधिकारी बजारमा किन्ने राम्रो तरकारी नदेखेपछि पाकेको फर्सी, तामा र आलु मात्रै किनेर फर्किनुभयो । सोमबार सासुको वार्षिकी कार्यक्रमका लागि सस्तो तरकारी किन्न छोरासहित कालीमाटी बजारमा आएकी उहाँले भन्नुभयो, “बजारमा तरकारी नै छैन, फर्सी आलु र तामा लिएर हिड्यौँ ।” उहाँ जस्तै कीर्तिपुरमा ‘गल्र्स होस्टेल’ की सञ्चालिका कविता थापाले पनि कालीमाटीमा खोजे जस्तो तरकारी नपाएर रित्तै फर्किनुभयो ।

तरकारी आपूर्ति सहज नहुँदा उपभोक्ताभन्दा बढी चिन्तामा व्यापारी देखिन्छ । कालीमाटीमा तरकारी खुद्रा व्यापार गर्ने मैयाँ खड्काका अनुसार सोह्रश्राद्र सुरु भएकाले काउली, बोडी, सिमी, तोरीको सागलगायतको तरकारीको उच्च माग छ तर ती तरकारी आएकै छैन । स्थानीय काउली त छ तर त्यति राम्रो छैन ।

कालीमाटी तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष दीपकप्रसाद पौडेलले कालीमाटी बजारमा तरकारी आउने स्रोत जिल्ला नै वर्षाले प्रभावित भएकाले बजारमा तरकारी अभाव भएको बताउनुभयो । उहाँका अनुसार यो समयमा चितवन, मकवानपुर, दोलखा, धादिङ, काभ्रे, नुवाकोट, तराईका बारा, पर्सा, सर्लाही, सप्तरी, महोत्तरीलगायतका ठाउँबाट तरकारी आउने गरेको छ तर केही दिनदेखि तीमध्ये अधिकांश ठाउँबाट तरकारी भित्रिएको छैन ।

मकवानपुर र चितवनका किसानले उत्पादन गरेको तरकारी वर्षाका कारण सडक अवरुद्ध हुँदा बारीमै कुहिएको गुनासो गरेका छन् । किसानले सामाजिक सञ्जालमा मौसमी तरकारी लौका, करेला, घिरौँला, तने बोडी, गोलभेँडा कुहिएर फाल्नु परेको पीडा व्यक्त गरेका छन् । उपत्यकाबाहिर मात्रै नभई लगातारको वर्षाले काठमाडौँ उपत्यकावरपरका जिल्लामा उत्पादित तरकारीसमेत किसानले टिपेर बजारमा ल्याउन नसकेकाले बजारमा तरकारीको अभाव बढेको हो ।

भाउ उच्च

असोज लागेसँगै उकालो लागेको तरकारीको भाउ पछिल्लो वर्षाका कारण अझै छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार असोज ५ गते प्रतिकेजी ६५ रुपियाँ थोक मूल्य रहेको गोलभेँडा ११ गतेसम्म आउँदा बढेर प्रतिकेजी ११० रुपियाँ पुगेको छ । आलु प्रतिकेजी ४५ रुपियाँबाट बढेर ५२ रुपियाँ थोकमै पुगेको छ । काउली, घिउसिमी, बन्दा, मुला, तनेबोडी, घिरौँला, लौका, सुकेको प्याज, तोरी र रायोको सागलगायतको मूल्य थोकमै प्रतिकेजी पाँच रुपियाँदेखि २५ रुपियाँसम्म बढेको समितिले जनाएको छ ।

आपूर्ति घट्यो

समितिका अनुसार बाहिरी जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने तरकारी नै ४० प्रतिशत घटेको छ । समितिका कार्यकारी निर्देशक डा. प्रद्युम्नराज पाण्डेले पछिल्लो लगातारको वर्षाले गर्दा तरकारीको आयात झन्डै आधा घटेको बताउनुभयो । सामान्य अवस्था हुँदा बजारमा दैनिक औसतमा नौ सय मेट्रिक टन तरकारी भित्रिने गरेकोमा अहिले पाँच सय मेट्रिक टनको हारहारीमा मात्रै आइरहेकाले बजारमा अभाव देखिएको उहाँको भनाइ छ । उपत्यकावासीको मागमध्ये लगभग ८० प्रतिशत कालीमाटी बजारले धान्न गरेको छ र बाँकी साना बजार बल्खु तरकारी बजार, बालाजु, कोटेश्वर, बानेश्वर, जडीबुटीलगायतका तरकारी बजारलगायत स्थानमा पनि सोही अनुपातमा आपूर्ति घटेको छ ।

लगातारको वर्षा र सडक अवरोधका कारण काठमाडौँ उपत्यकामा तरकारीको मूल्य बढ्नु स्वाभाविक भएको व्यापारी बताउँछन् । स्थानीय उत्पादनको सङ्कलन र ढुवानी उपत्यकाभित्र र आसपासका (जस्तै : भक्तपुर, काभ्रे, ललितपुरका ग्रामीण क्षेत्र) सुरक्षित ठाउँमा उत्पादित तरकारीलाई साना गाडी वा सहकारीमार्फत सङ्कलन गरी बजारसम्म पु¥याउने काम भइरहेको छ ।

भण्डारण (कोल्डस्टोर) को उपयोग : यदि पहिले नै शीतभण्डार (कोल्ड स्टोर) हरूमा आलु, प्याज जस्ता ओसारपसार गर्न मिल्ने तरकारी मौज्दात छन् भने तिनलाई अहिलेको सङ्कटका बेला बजारमा पठाएर मूल्य सन्तुलनमा राख्न सकिन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button