खबरस्वास्थ्य

भीरकोट नगरपालिकाद्वारा ‘एक स्वास्थ्य’ अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता, पाँचबुँदे सामूहिक प्रतिज्ञा सार्वजनिक

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले मानव स्वास्थ्य, पशुपन्छी स्वास्थ्य र वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई आत्मसात् गर्दै ‘एक स्वास्थ्य’ (वान हेल्थ) अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएको छ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६ को अवसरमा सोमबार भीरकोट नगरपालिकाको कार्यालयमा आयोजित ‘एक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मार्फत नगरपालिकाले साझा प्रतिबद्धता र पाँचबुँदे सामूहिक प्रतिज्ञा सार्वजनिक गरेको हो।

भीरकोट नगरपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपाल र दियालो स्याङ्जाको सहयोग एवं सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी सरोकारवालाहरूले प्रतिजैविक औषधिको सही प्रयोग, जुनोटिक रोगको रोकथाम तथा खाद्य स्वच्छतालाई प्राथमिकता दिँदै ‘एक स्वास्थ्य’ अवधारणालाई नीति तथा व्यवहारसँग जोड्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्यले ‘एक स्वास्थ्य’ अवधारणालाई नगरपालिकाले व्यवहारमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मानव स्वास्थ्य, पशुपन्छी स्वास्थ्य र वातावरण संरक्षण एकअर्कासँग जोडिएकाले सबै क्षेत्रको सहकार्य र जिम्मेवार व्यवहारबाट मात्रै स्वस्थ समुदाय निर्माण गर्न सकिने बताउनुभयो।

अभिमुखीकरण कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका डा. अंशु प्रधानले ‘एक स्वास्थ्य’ अवधारणाको महत्व र विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको सन्दर्भमा विस्तृत जानकारी गराउनुभएको थियो।

त्यसैगरी भीरकोट नगरपालिकाका पशु सेवा शाखा प्रमुख डोलराज गैह्रे, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेलगायतले पशुपालन, कृषि अभ्यास, औषधिको विवेकपूर्ण प्रयोग तथा अन्तरक्षेत्रीय समन्वयका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकालगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा ‘एक स्वास्थ्य, साझा जिम्मेवारी, जिम्मेवार व्यवहार, स्वस्थ समुदाय, समृद्ध भविष्य’ र ‘प्रतिजैविकको सही प्रयोग, प्रतिरोधको रोकथाम’ भन्ने मूल सन्देशसहित पाँचबुँदे सामूहिक प्रतिज्ञासमेत सार्वजनिक गरिएको छ।

प्रतिज्ञापत्रमा एन्टिबायोटिक औषधि चिकित्सक वा पशु चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्ने र तोकिएको मात्रा तथा अवधि पूरा गर्ने उल्लेख छ। त्यस्तै मानव तथा पशु स्वास्थ्यमा प्रतिजैविक औषधिको विवेकपूर्ण र जिम्मेवार प्रयोग गर्ने तथा अनावश्यक प्रयोगलाई निरुत्साहित गर्ने प्रतिबद्धता जनाइएको छ।

यसैगरी जुनोटिक रोगको रोकथाम तथा नियन्त्रणका लागि खोप, स्वास्थ्य र जैविक सुरक्षाका उपाय अपनाउने र समुदायमा सचेतना बढाउने विषय पनि प्रतिज्ञामा समेटिएको छ।

विषादीको सुरक्षित प्रयोग, वातावरणमैत्री कृषि अभ्यास र असल पशुपालन पद्धति अपनाउँदै खाद्य स्वच्छता तथा सुरक्षालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

त्यस्तै मानव, पशुपन्छी र वातावरणको स्वास्थ्य संरक्षणका लागि भीरकोट नगरपालिकाले स्वास्थ्यकर्मी, कृषक, समुदाय तथा सबै सरोकारवालासँग सहकार्य गर्ने जनाएको छ।

‘एक स्वास्थ्य’ अवधारणामार्फत मानव, पशुपन्छी र वातावरणको स्वास्थ्यलाई एकीकृत रूपमा संरक्षण गर्दै स्वस्थ तथा सुरक्षित समुदाय निर्माण गर्ने लक्ष्यसहित नगरपालिकाले अघि सारेको यो प्रतिबद्धतालाई महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button