
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाट स्वदेश फर्किने पहिलोपटक निश्चित मिति सार्वजनिक गरेकी छन्। उनले आगामी डिसेम्बर १६ अर्थात् बंगलादेशको विजय दिवसका दिन ढाका फर्किने योजना बनाउँदै त्यहाँको सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान पठाइदिन आग्रह गरेकी छन्।
तर हसिनाको यो प्रस्तावलाई बंगलादेश सरकारले अस्वीकार गरेको छ। सरकारले भारतसँगको सुपुर्दगी सन्धिअनुसार मात्रै उनलाई स्वदेश फर्काउन सकिने स्पष्ट पारेको छ। बंगलादेशका अनुसार उनी फर्किएमा पक्राउ पर्नेछिन्।
सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री पद त्यागेर भारत पुगेकी हसिना अहिले गम्भीर कानुनी संकटमा छिन्। सन् २०२५ नोभेम्बरमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले विद्यार्थी आन्दोलनमाथि भएको दमनसम्बन्धी मुद्दामा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। उनले भने आफूमाथिका आरोप अस्वीकार गर्दै फैसलालाई राजनीतिक प्रतिशोध बताउँदै आएकी छन्।



