खबरसृजनाको चौतारी

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

काठमाडौं,

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय ‘अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा समावेश हुनुभएको छ । ‘अमेरिका बुक अफ रेकर्ड्स’ले उहाँलाई गीत-संगीत तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘हल अफ फेम’मा समावेश गरेको हो । कुनै क्षेत्रमा असाधारण योगदान र सफलता हासिल गरेका व्यक्तिहरूलाई विशेष रूपमा सम्मान गरेर राखिने सूचीलाई ‘हल अफ फेम’ भनिन्छ । अमेरिका बुक अफ रेकर्ड्सले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिमा डा. उपाध्यायलाई उक्त उपाधि प्रदान गरिएको जनाइएको छ ।

प्रमाणपत्रमा गीत लेखन क्षेत्रमा उहाँको उल्लेखनीय उपलब्धि, समर्पण तथा विशिष्ट योगदानको कदरस्वरूप ‘हल अफ फेम’मा समावेश गरिएको उल्लेख गरिएको छ । अमेरिका बुक अफ रेकर्ड्सका अनुसार संस्थाले विभिन्न क्षेत्रमा विशिष्ट उपलब्धि हासिल गरेका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । यसैक्रममा छनोट भएका व्यक्तिहरूमध्ये डा. उपाध्यायलाई पनि प्रतिष्ठित ‘हल अफ फेम अवार्ड’ प्रदान गरिएको हो ।

अवार्डसँगै संस्थाले डा. उपाध्यायलाई आधिकारिक प्रमाणपत्रसमेत प्रदान गरेको छ । प्रमाणपत्रमा अवार्डसम्बन्धी दाबी कोड उल्लेख छ । संस्थाका तर्फबाट डेनिस लोपेजले प्रमाणपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय डा. उपाध्यायका लागि यो अन्तर्राष्ट्रिय सम्मान थप उपलब्धिका रूपमा रहेको छ । यसले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनसमेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गीत-संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उहाँको पछिल्लो उपन्यास ‘आशक्ति’ र कवितासंग्रह कवितासंग्रह ‘अन्तसंस्करण’ रहेको छ ।

समाजशास्त्रमा सन् २०००मा विद्यावारिधि गर्नुभएका उपाध्यायलाई विश्वका विभिन्न दश विश्वविद्यालयले मानार्थ डाक्टरको उपाधि पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button