
मिलन त्रिताल
सुनसरी । कृषि पेशामै निर्भर रही व्यवसायिक रुपमा तरकारी उत्पादन गरि गुजारा गर्दै आएका किसानहरु चिन्तित बनेका छन । सुनसरीको बराहक्षेत्रका कृषकले उत्पादन गरेको टमाटर लकडाउनका कारण बारीमै कुहिन थालेको छ ।
तरकारी खेतीका लागि उर्बर भुमिको रुपमा रहेको बराहाक्षेत्र ८ र ९ को चौखोला चोकमा बर्सौ देखि व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानको उत्पादनले बजार नपाउदा लाखौं रकम नोक्सानी भएको छ ।
बराहक्षेत्र वडा नं ८ चौखोला चोकमा वर्षौं देखि कृषि पेशा गर्दै आईरहेका जिल्लाकै अगुवा कृषक कर्णबहादुर कार्कीले ३ कट्ठामा लगाएको टमाटर पाकेर बोटमै कुहिन थालेको छ । हाट बजार लगेर बिक्री गर्न सक्ने अवस्था नभएपछि लगानी मात्र नभई आफ्नो मेहनत समेत नउठ्ने भएपछी उनको चिन्ता थपिएको छ ।
कृषक कार्कीले भने–‘लकडाउनका कारण उत्पादन भएका टमाटर बारीमै कुहिएको छ । अरुबेला व्यापारी तथा विचौलिया बारीमा नै तरकारी लिन आउने गरेका थिए । तर यसपटक व्यापारी आएका छैनन् । टमाटर बस्तुलाई खोले बनाएर खुआउँदैछौ उनले भने ।
कोरोना भाईरसको कारण सिङ्गो देश लकडाउनमा रहेका बेला आजको भोलि बेच्नुपर्ने कृषि उत्पादन बारीमै कुहिए पछी आफुहरुलाई ठूलो नोक्सान भएको र वास्तविक कृषकको पीडा आज सम्म कसैले बुझ्न नसकेको ठम्याई कृषक कार्कीको छ ।
२० बर्ष देखि बराहक्षेत्र चौखोलामै कृषि पेशा गर्दै आईरहेका नगेन राईको अवस्था पनि कार्कीको भन्दा फरक छैन ।
किसान कल्याण सहकारीबाट तरकारी खेती गर्नकै लागि ३ लाख ऋण लिएर उनले पनि बारीमा लगाएको टमाटर तथा बोडी कुहिए पछी वडा कार्यालय बाट सिफारिस लिएर घरघरमा आफ्नो उत्पादन बेच्न हिड्दा पनि प्रशासनले रोक लगाएपछि उनलाई अहिले लिएको ऋणको साँवा ब्याज कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ ।
लकडाउन शुरु हुनु अघि बारीबाटै टमाटर प्रतिकिलो ३० रुपैँंया देखी ४० रुपैयाँ र बोडी ८० रुपैँया प्रतिकिलो व्यापारीहरुले उठाउने गरेको राईले जानकारी दिए । हालसम्म किसानका उत्पादनको बिक्री गर्न कसैले चिन्ता नलिएको उनको बुझाई छ ।sancharpaty/from



