खबर

अमेरिकामा कोभिडका बिरामीको उपचारमा सक्रिय नेपाली डाक्टर दम्पत्तिको अनुभव

अमेरिकामा कोभिडका बिरामीको उपचारमा सक्रिय नेपाली डाक्टर दम्पत्तिको अनुभव

डाक्टर उपेन्द्र काफ्ले र डाक्टर स्वेता सिंह अमेरिकाको क्यालिफोर्नियामा बस्छन्। यी डाक्टर दम्पत्ति यतिबेला कोरोनाका बिरामीको उपचारमा सक्रिय छन्। डाक्टर काफ्ले कोरोनाका कारण गम्भिर भएर आइसियुमा भर्ना भएका बिरामीको उपचारमा खटिरहेका छन् भने डा सिंह आइसियुभन्दा बाहिरका बिरामीको उपचारमा। यी डाक्टर दम्पत्ति क्यालिफोर्नियाको दुई फरक अस्पतालमा कार्यरत छन्। सुरुसुरुमा कोरोनाका बिरामीको उपचारका क्रममा निकै डर लागेको बताउने दुवैजना हाल भने पहिलाजस्तो डर नभएको बताउँछन्। बरु नयाँ रोग लागेका बिरामीको सेवा गर्न पाउँदा खुसी छन्।
इन्टरभेन्सनल पल्मोनोलोजिष्ट डाक्टर काफ्ले कैसर पर्मानेन्टमा कार्यरत छन् भने डा सिंह भेटेरान्स अफेयर्स हेल्थ केयरमा कार्यरत छिन्। स्वास्थ्यखबरले उनीहरु दुवैजनाको अनुभवलाई यहाँ प्रस्तुत गरेको छ। दुवैजनाले स्वास्थ्यखबरलाई सुनाएको अनुभवलाई हामीले उनीहरुकै भनाईमा राखेका छौं :

डा उपेन्द्र काफ्ले
क्यालिफोर्नियामा अहिले बिरामीको संख्या अलि कम भएको छ। पहिले अलि धेरै देखिन्थ्यो। वासिङ्टनमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो। त्यसपछि मात्र क्यालिफोर्नियामा पनि कोरोना देखिन थालेको हो। त्यो समयमा हामी पनि निकै डराएका थियौं।

त्यसपछि हामीले अस्पतालमा आउट पेसेन्ट बन्द गर्यौं। एकदम गम्भीर खालका बिरामीलाई मात्र लिन थाल्यौं। आइसियुमा पनि कोभिडको विशेष युनिट बनाएर कोरोनाका बिरामीलाई छुट्टै राख्यौं।

सुरुवाती चरणमा आएका कोरोनाका बिरामीमध्ये कति निको भएर गइसके, कतिको मृत्यु भयो, कति निको हुने क्रममा छन्। त्यसैले अहिले चाहिँ त्यस्तो नयाँ बिरामी आएका छैनन्। अलिअलि मात्र आउँछन्।

हामी इन्टरनल मेडिसिनमा काम गर्ने १६ जना छौं। यहाँ आवासीय चिकित्सकहरु पनि छन्। अहिलेसम्म यस अस्पतालमा कोरोनाका करिब ३० जना बिरामीको उपचार भयो। जसमध्ये १५ जनाको आइसियुमा राखेर उपचार गरिएको छ। आइसियुमा रहेका बिरामीमध्ये ८० प्रतिशत बिरामी इन्टुबेटेट थिए। २० प्रतिशत बिरामी डिस्जार्च भएका छन्।

कोरोना देखिएका अधिकांश बिरामी ५५ देखि ७५ वर्ष उमेर समूहका थिए। कोही ८० वर्ष उमेरका वृद्धवृद्धा पनि थिए। उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग भएका बिरामीहरु थिए। त्यसैले पनि कूल बिरामीमध्ये ३० देखि ४० प्रतिशत अर्थात् हामीले करिब १० जना बिरामीलाई बचाउन सकेनौं।

अस्पताल आउने अधिकांश बिरामीमा ज्वरो र सुख्खा खोकी थियो। केही व्यक्तिमा झाडापखालाको समस्या पनि देखिएको थियो।

आइसियुमा भएका बिरामीको सिआरपी, इएसआर, एलडिएच, फेरेटिन रुटिनली प्रत्येक दिन गरिन्छ। इन्टरल्युकिन सिक्सको जाँचका लागि आएकै दिन ब्लड ड्र गरिन्छ। भाइरसप्रति शरीरको प्रतिक्रियाको जानकारी दिने यस टेस्टको सुविधा सबैतिर उपलब्ध छैन। क्षेत्र अनुसार कुनैकुनै सेन्टरमा मात्र सम्भव भएको कारण तीन/चार दिनमा मात्र रिपोर्ट आउँछ।

बिरामीहरुलाई कुनै खोकी छ या कुनै लक्षण छ भने उनीहरुले प्राइमरी हेल्थ केयरलाई फोन गर्छन्। प्राइमरी केयरले लक्षण अनुसार बिरामीलाई परीक्षण गर्नुपर्ने हो या होइन भनेर निर्णय गर्छ। यदि लक्षण मिले उनीहरुको नमुना परीक्षण हुन्छ। एउटा बिरामीको तीन वटा स्वाब लिइन्छ।

कुनै रिपोर्ट नेगेटिभ आए पनि उसमा लक्षण देखिएको छ भने उसको फेरि पनि कोरोना परीक्षण गरिन्छ। तीन पटकसम्म पनि हामीले कोरोनाको परीक्षण गरेका छौं।

यहाँ आरडिटी परीक्षण सुरु गरेको छैन। आरडिटी रोग निदानका लागि नभई बिरामी संक्रमितको सम्पर्कमा आएको छ कि छैन भनेर हेर्न चाहिँ ठिक हुन्छ, रोग निदानका लागि हुँदैन। अहिले पिसिआरको रिपोर्ट १० देखि १२ घण्टाभित्रै आउँछ। पहिले पहिले परीक्षण गर्न यहाँबाट रिजनल सेन्टरमा पठाउनुपर्थ्यो र दुई/तीन दिनसम्म पनि लाग्थ्यो।

डा स्वेता सिंह
मार्च महिनादेखि कोभिडको केस बढ्न थालेसँगै हाम्रो अस्पतालले पनि सेटिङ परिवर्तन गरेको थियो। जसमा बाहिर क्याम्प जस्तो राखेर तीन वटा स्क्रिनिङ स्पट बनाइयो। पहिलो स्क्रिनिङ स्पटमा केही मौखिक प्रश्न सोधिन्छ वा तोकिएको ढाँचामा हिस्ट्री लिने गरिन्छ। जसमा ज्वरो आए-नआएको, खोकी लागे-नलागेको, संक्रमितसँग सम्पर्कमा आए-नआएको सबै प्रश्न गरिन्छ। सबैमा नेगेटिभ उत्तर आए मात्र उसलाई अस्पतालभित्र छिर्न दिइन्छ। त्यसमध्ये कुनै पनि पोजिटिभ उत्तर आए उनलाई दोस्रो स्क्रिनिङ स्पटमा पठाउँछौं।

दोस्रो स्क्रिनिङमा उसको ज्वरो नाप्छौं। ज्वरो १ सय ४ बढी भए ती व्यक्तिलाई तेस्रो स्क्रिनिङ स्पटमा पठाउँछौं। त्यसपछि उसको स्वाब लिन्छौं। त्यसमा बिरामीलाई ज्वरो र खोकी मात्र छ, अन्य लक्षण छैन भने उसलाई सेल्फ आइसोलेसनका लागि हामीले बिरामीलाई भन्छौं। उसलाई मास्क लगाउने र ह्याण्ड स्यानिटाइजरको प्रयोगका बारेमा उनलाई जानकारी दिन्छौं। त्यसको केही दिनमा अस्पतालकै तर्फबाट कोही नर्सले ती बिरामीलाई फलो गर्नुहुन्छ।

यही स्क्रिनिङको क्रममा ती बिरामीमा श्वासप्रश्वासको समस्या भए या गम्भीर खालको लक्षण देखिए उसलाई अस्पतालमा भर्ना गर्ने या आइसियुमा राख्ने भनेर हामीले हेर्छौं। एक दिनमा कम्तीमा पनि ३ देखि ५ बिरामी मैले हेरिरहेको हुन्छु।

म जस्तो आउट पेसेन्टको प्राइमरी केयरमा खटिने ८ आठ जना डाक्टर हुनुहुन्छ। उहाँहरु सबैले कम्तीमा पनि ३ देखि ५ जना बिरामी हेर्नुपर्छ।

इन्टुबेसन आफैंमा एक जोखिम प्रक्रिया हो। बिरामीको थुक र र्या ल ड्रपलेट बनेर सिधै हामीमा ठोक्किने सम्भावना रहन्छ। त्यसैले यसमा एकदम राम्रो तयारी हुनुपर्छ र दक्ष जनशक्तिले गर्नुपर्छ। इन्टुबेट गर्दा बिरामीलाई प्लास्टिकले कभर गर्नाका साथै हामीले पनि पिपिई राम्रोसँग लगाउनुपर्छ। सिधा सम्पर्क घटाउनका लागि हामी भिडियो ल्यारिङोस्कोप गर्ने गर्छौं, प्रत्यक्ष रुपमा गर्दैनौं।

पहिलो पटक कोरोनाको बिरामी हेर्दा हामीलाई निकै डर लागेको थियो। तर पछि क्रमश: सामान्य हुँदै गयो। डरले म आफैंले पनि कोरोना संक्रमणको परीक्षण गराएको थिएँ।

हामी दुवै जना यो क्षेत्रमा भएकाले स्वभावत: हामीलाई अलि बढी डर थियो। त्यसैले हामीले सामाजिक दूरी पनि कायम गर्यौंल। हामी घरभित्रै पनि धेरै सावधानी अपनाएर अघि बढ्यौं, खास गरेर सुरुवाती दिनहरुमा।

डा उपेन्द्र थप्छन्
मेरो विधा नै आइसियुमा बिरामी हेर्ने, इन्टरभेन्सन पल्मोनोलोजिस्टका रुपमा श्वासनली र फोक्सो सम्बन्धीका विभिन्न प्रोसेड्युरहरु गर्नुपर्ने भएकाले तुलनात्मक रुपल हामी दुईमध्येमा अलि बढी एक्सपोजर र जोखिममा हुने नै भए। निकै लामो समयसम्म त गाडी राख्ने ग्यारेजलाई नै घर बनाएर बसेँ ताकि परिवार र बालबच्चा सुरक्षित रहुन्। अहिलेसम्म पनि घर पुगेपछि नुहाएर मात्र घर छिर्छौं र अन्य सामग्रीहरु प्रयोग गर्छौं। सुरुसुरुमा हामी दुवै जनालाई एक प्रकारको मानसिक तनाव पनि थियो। तर अहिले हाम्रो लागि यी सबै सामान्य रुटिन नै बनिसक्यो।

कोरोनाको एउटा बिरामीलाई चार/पाँच जना स्वास्थ्यकर्मी उपचारमा खटिनुपर्छ। धेरै पटक हेर्न जानुपर्छ। त्यसैले कोरोनाको एउटा बिरामीलाई हेर्न २० वटासम्म पिपिईको प्रयोग हुन्छ। त्यसैले पनि एन९५ मास्कलाई रिप्रोसेसिङ गर्न थालेका छौं। यहाँ हामीले हाइड्रोजन पेरोक्साइडको ड्रपलेट प्रयोग गर्ने विधिमार्फत तीन पटकसम्म प्रोसेसिङ गरिरहेका हुन्छौं।

प्यापर पनि आफूले प्रयोग गरेपछि एयर ड्राइ गर्छौं। त्यसैले त्यो नच्याँतिदासम्म लगाउन मिल्छ। एन९५ मास्कमाथि सर्जिकल मास्क पनि लगाउँछौं। जसमा सर्जिकल मास्क नष्ट गर्ने र एन९५ मास्क पुनः प्रयोग गर्न मिल्छ। मास्क वचत गर्दै प्रयोग गर्ने सायद यो असली तरिका पनि हो।swsthyakhabarpatrika/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button