२४ मंसिर २०७७
जनादेश, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अवलम्बन गरिएको भन्दै भ्रष्टाचारी जोकोही भएपनि उम्कन नसक्ने दाबी गरेका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसका सन्दर्भमा आज भिडियो सन्देशमार्फत् प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध सरकार कडा कानून बनाएर कार्यान्वयनमा लागेको बताएका हुन् । समृद्ध नेपाल सुखी नेपाली दीर्घकालीन लक्ष्यसामू भ्रष्टाचार बाधक रहेको भन्दै यसको नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित भ्रष्टाचार नियन्त्रणका लागि भन्दै खडा गरिएका सरकारी कार्यालय तथा विभागहरुको प्रशंसा गर्नुभएका प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारविरुद्ध लागिरहँदा कतिपयले राजनीतिक दुराग्रह राखेको दाबीसमेत गरेका छन् ।
एक्लो प्रयासले मात्र सदाचार एवम् सुशासन कायम हुन नसक्ने भन्दै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सरकार, निजीक्षेत्र र नागरिकसमाजको सहकार्य आवश्यक रहेको बताएका छन् ।
डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाइन्छ । नेपालमा पछिल्लो समय भ्रष्टाचार बढेको र तल्लो तहसम्म संस्थागत हुनपुगेको भनेर आलोचना हुँदै आएको छ ।



