खबर

मिरिकमा खम्बु राई सांस्कृतिक संस्थान-द्वारा उधौँली पुजा पालन

मिरिकमा खम्बु राई सांस्कृतिक संस्थान-द्वारा उधौँली पुजा पालन
डिसेम्बर 30, 2020

मिरिक : खम्बु राई सांस्कृतिक संस्थान मिरिक क्षेत्र समितिको पहलमा आज सार्वजनिक किरातेश्वर मन्दिरमा साधारण रूपले उधौँली पुजा अर्थात् साकेला पर्व पालन गर्यो। वर्तमान कोभिड 19-ले उत्पन्न गरेको समस्यालाई ध्यानमा राख्दै साधारण रूपले उधौँली पुजा माङ्गपा (पुजारी)-हरूको पारम्परिक मन्त्रोच्चारणको साथमा सम्पन्न गरियो। क्षेत्र समिति महासचिव दीपराज राईले सम्पूर्ण राई साम्प्रदायका मानिसहरू लगायत गोर्खा जातिलाई साकेला पर्वको शुभकामना दिँदै कोभिड 19-को प्रकोपको कारण वृहत रूपमा साकेला पर्व पालन नगरिएको बताए। तिनले वर्ष 2020-मा विश्वभरिकै मानिसहरू कोरोना भाइरसको चपेटमा परेर ठुलो समस्यामा पर्नको साथै लाखौँ मानिसहरूले ज्यान समेत गुमाएको जनाए।

अब नयाँ वर्ष 2021-मा विश्वका मानिसहरूमा कुनै विपत्ति नआओस् भन्दै साकेला पुजामा सुख, समृद्धि अनि विश्व शान्तिको निम्ति माङ्गपाहरूले पुजा अर्चना गरेर पारुहाङ सुम्निमालाई आशिर्वाद मागेको बताए। पश्चिम बङ्गाल खम्बु राई विकास सांस्कृतिक बोर्डका चेयरम्यान एवम् मिरिक क्षेत्र समिति महासचिव दीपराज राई, क्षेत्र समिति अध्यक्ष क्याप्टन राज कुमार राई, क्षेत्र समिति सहसचिव एलएम राई, भाष्करल राई, द्रविण राई, सीके साम्पाङ, मधुकर राई, शिशिर राई, सचेन राई, प्रविण राई अनि अनुप राई आदि क्षेत्र समिति सदस्यहरूको नेतृत्वमा सम्पन्न साकेला पर्वमा मिरिक क्षेत्र समिति अन्तर्गत 73 वटा शाखा कमिटीका प्रतिनिधिहरूले सहभागी जनाएका थिए।

किसान कानुनको विरोधमा देशव्यापी आन्दोलन शुरू : मेधा पाटकर


डिसेम्बर 30, 2020

सिलगढी: कृषि कानुनको विरोध तथा किसान आन्दोलनको समर्थनमा नेशनल अलायन्स अफ् पिपुल्स मूभमेन्-का समर्थकहरू सड़कमा ओर्लिएका छन्। संगठनका नेत्री साथै नर्मदा बचाऔं आन्दोलनका नेत्री मेधा पाटकरले आज सिलगढीमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदै ठूला कम्पनीहरूलाई फाइदा पुऱ्याउनको लागि सरकारले यस प्रकारको किसान कानुन ल्याइएको बताइन्। किसान कानुनको विरूद्धमा आफुहरूले देशव्यापी आन्दोलन शुरू गरेको जानकारी दिँदै आज चोपड़ामा पनि धरना प्रदर्शन गरिएको तिनले बताइन्। तिनले अझ भनिन्, कोलकातामा 1 जनवरीको दिन ठूलो कम्पनीका उत्पादहरूलाई जलाएर बहिष्कार गरिने छ। अर्कोतिर, अमर्त्य सेनको सम्बन्धमा कुराकानी गर्दै जब पनि कसैले भाजपाको विरूद्धमा प्रश्न उठाउँछ, तब तिनलाई तारो बनाइन्छ। हाल कतिपय समाजसेवी कार्यकर्ता अनि मानव अधिकारसित सम्बन्धित कार्यकर्ताहरूलाई पक्रिएर जेलमा पठाइएको मेधा पाटकरले बताइन्।
कोलकातामा कोरोना भाइरसको नयाँ ‘स्ट्रेन’-को पहिलो मामिला


डिसेम्बर 30, 2020

कोलकाता: पश्चिम बंगालमा पनि ब्रिटेनमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन)-को पहिलो मामिला सामु आएको छ। स्वास्थ्य अधिकारीले बताए अनुसार कोलकाता मेडिकल कलेज अस्पतालका एकजना वरिष्ठ अधिकारीका छोरा ब्रिटेनबाट घर आएपछि ‘म्युटेन्ट स्ट्रेन’ भीयुआई-2020-12/01 ले संक्रमित भेट्टाइएको छ। सूत्र अनुसार उक्त युवक हालैमा ब्रिटेनबाट फर्किएका थिए। सरकारी अस्पतालका ‘सुपर-स्पेशलिस्ट सेक्शन’-मा तिनको हाल चिकित्सा चलिरहेको छ। स्मरण रहोस, देशमा हालसम्म भाइरसको यस नयाँ ‘स्ट्रेन’-को 20 वटा मामिला देखा परिसकेको छ।

ट्रकले किच्याएर महिलाको मृत्यु, ट्रकसहित चालक पक्राउ


डिसेम्बर 30, 2020

सिलगढी: सिलगढीको भक्तिनगर थाना अन्तर्गत आज बिहान सड़क दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान लगभग 8 बजे भक्ति नगर ट्राफिक पोइन्ट नजिक एउटा 10 चक्के ट्रकले टर्निङ लिइरहेको समय एकजना महिलालाई धक्का दिएपछि चक्का मुनि पस्दा घटनास्थलमा नै तिनको मृत्यु भयो। मृतक महिला रीता छेत्री भक्तिनगर थाना अन्तर्गत प्रकाश नगरको लिम्बु बस्ती निवासी रहेको बताइएको छ। पुलिसले घातक ट्रकलाई आफ्नो नियन्त्रणमा ल्याउनको साथै ट्रक चालकलाई पनि पक्राउ गरेको छ। मृतक रीता छेत्रीका परिवार पक्षले घातक ट्रक विरूद्ध भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेको छ भने पुलिसले शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि पठाइदिएको छ। पुलिसले घटनाको छानबिन शुरू गरेको बताएको छ।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button