
बिहिबार, पुस २३, २०७७
एजेन्सी – मौरिसियो पोचेटिनोले प्रशिक्षण सम्हालेको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सेन्ट इटिएनसँग १–१ गोलको बराबरी खेलेको छ ।
पीएसजीले गत साता अर्जेन्टिनी पोचेटिनोलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यसअघि स्टार्सवर्गमाथि ४–० को फराकिलो जित निकालेको भोलिपल्टै मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो ।
पीएसजीले एक गोलले पछि परेको अवस्थामा बराबरी गर्न सफल भएको हो । बुधबार राति भएको खेलमा पीएसजी खेलको १९औं मिनेटमा रोमेन हामोउमाको गोलबाट पछि परेको थियो । तर, सेन्ट इटिएनको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा मोइस किनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले मार्काे भेराट्टीको पासमा गोल गरेका थिए ।
६८ प्रतिशत बल पोसेसन राखेपनि पीएसजीले घरेलु टोलीको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । चोटका कारण नेयमार टोली बाहिर रहँदा केलियन एमबाप्पे र एन्जल डि मारियाले आशातित प्रदर्शन गर्न सकेनन् ।
४२औं मिनेटमा पीएसजीका गोलरक्षक केलर नाभासले म्याथिउ डिबुचेको प्रहारलाई उत्कृष्ट बचाउ गरे । ६४औं मिनेटमा नाभासले सेन्ट इटिएनको अर्काे प्रहारलाई विफल पार्दै पीएसजीको संकट टारे ।
७५औं मिनेटमा एन्जल डि मारियाको प्रहार विपक्षी गोलरक्षक जेसे मौलिनले बचाउ गर्दा पीएसजीले अग्रता लिन सकेन । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पीएसजीले अग्रता लिने सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पीएसजी बराबरीमा रोकिन बाध्य बन्यो ।
यो बराबरीले पीएसजी १८ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । समान ३६ अंक नै रहेपनि लिल गोलअन्तरमा तेस्रोमा रहेको छ । शीर्षस्थानको लियोनको ३९ अंक छ । सेन्ट इटिएन १९ अंक जोडेर १४औं स्थानमा रहेको छ ।hamrokhelkud/from



