एजेन्सी ।
विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट अनिश्चितकाल सम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।
ट्रम्पका कारण वासिङ्टनमा हिंसा भड्किएको भन्दै फेसबुक तथा इन्स्टाग्रामका मालिक मार्क जकरवर्गले फेसबुक र इन्स्टाग्राम अकाउन्ट अनिश्चितकालका लागि बन्द गराइएको घोषणा गरेका हुन् ।
बुधबार अमेरिकी संसद भवनमाथि भएको हमलापछि २४ घण्टाका लागि अकाउन्ट बन्द भनेको फेसबुकले अब अनिश्चितकालसम्मका लागि प्रतिबन्ध लगाएको हो।
जुकरबर्गले जारी गरेको विज्ञप्तिमा पछिल्ला २४ घण्टामा भएका अचम्मलाग्दा घटनाले राष्ट्रपति ट्रम्पले आफ्ना उत्तराधिकारी जो बाइडेनलाई शान्तिपूर्ण र कानुनी रूपमा सत्ता हस्तान्तरण गर्न बाधा पुर्याउन चाहेको देखिएको उल्लेख गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत संसद् भवनमा आक्रमण गर्ने आफ्ना समर्थकको निन्दा गर्नुको साटो प्रशंसा गरिरहेकाले अमेरिका मात्र नभई विश्व नै चिन्तित भएको उनले विज्ञप्तिमा लेखेका छन्।

विज्ञप्तिमा भनिएको छ- ‘हामीले हिजो उनको बयान हटायौं, किनकि त्यो हिंसा र हिंसालाई उक्साउने खालको थियो। ट्रम्पलाई यो प्लेटफर्मको प्रयोग जारी राख्न दिँदा धेरै खतरा देखियाो । त्यसैले उनको फेसबुक र इन्स्टाग्राममा अनिश्चितकाल अर्थात् कम्तीमा अर्को २ हप्ता (सत्ता हस्तान्तरण नभएसम्म) प्रतिबन्ध लगाउन निर्णय गरेका छौं।’
ट्रम्पले आफ्ना हतियारधारी प्रदर्शनकारीलाई उनीहरुले संसद भवनमा आक्रमण गरिरहेका बेला गरेको सम्बोधनको भिडियो फेसबुक, युट्युब र ट्वीटरले हटाएका थिए ।



