
पश्चिम बङ्गाल खम्बु राई विकास एवम् सांस्कृतिक बोर्डका चेयरम्यानद्वारा मिरिक बस्तीको परिभ्रमण
जनवरी 20, 2021
मिरिक : पश्चिम बङ्गाल खम्बु राई विकास एवम् सांस्कृतिक बोर्डका चेयरम्यान दीपराज राईले आज मिरिक बस्तीको स्कुल डाँडा अनि डुपटिनको साँढे गाउँको स्थलगत भ्रमण गर्दै बोर्डद्वारा प्रदान गरिएको यलम्बर खिम (घर)-को निरीक्षण गरे। यसको साथै लाभार्थीहरूसित कुराकानी गर्दै तिनीहरूको अभाव र समस्याहरू सुने। यस अवसरमा चेयरम्यान राईलाई लाभार्थीहरूले स्वागत जनाए। यस अवसरमा किरात खम्बु राई सांस्कृतिक संस्थान मिरिक बस्तीका सदस्यहरू सन्दीप राई, पीपी राई, जसुदा राई, रवीन्द्र राई अनि शर्मिला राई आदिले चेयरम्यानसित भेट गरेर राई जातिको विकास र उत्थानमा बोर्डले गर्दै आइरहेको कार्यमाथि चर्चा परिचर्चा गर्दै आवश्यक सुझाउहरू दिए। तिनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको उदार नीति अनि उदार भावको कारण विपन्न परिवारहरूले लाभ पाइरहेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गरे।
विनय तामाङले गरे खरसाङमा विभिन्न समष्टिका नेतृत्वहरूसित बैठक

जनवरी 20, 2021
खरसाङ: गोजमुमो अध्यक्ष विनय तामाङले खरसाङ महकुमा अन्तर्गत पर्ने 13 वटा समष्टिका नेतृत्वहरूसितको भेटघाटको कार्यक्रम हुनुअघि आज दोस्रो दिन स्थानीय वासिन्दाहरू सितको भेटघाट गरे। पार्टीका कार्यकर्ताहरुको आग्रह अनुसार टुरिस्ट लजमा पार्टी कार्यकर्ताहरुसँग विनय तामाङले टेबल गफ पनि गरेपछि यहाँको हिलकार्ट रोड हुँदै बजार परिक्रमा गरे। यसको साथै तिनी खरसाङ रेलवे स्टेशन हुँदै बिमारी अवस्थामा रहेका यहाँको 18 नम्बर वार्डका केन्द्रिय कमिटी उपाध्यक्ष प्रणय थापालाई भेट गर्न गए।
यस अवधि बाटोमा जाँदा ब्याङ्क डाँडामा निर्मित गोर्खाको विभूति राम सिंह ठकुरीको प्रतिमामा तिनले खादा अर्पण गरे। यसपछि आज भ्रमणको दोस्रो दिन आज विनय तामाङले खरसाङ महकुमाको पार्टीका केही शीर्ष नेताहरुसँग खरसाङका विधायक रोहित शर्माको उपस्थितिमा बैठक गर्ने भएको पार्टी सूत्रले जनाएको छ। बैठकमा पार्टीको भावी रणनीति अनि पार्टीले लिएको मुद्दाहरू विषय चर्चा गरिने भएको छ। यसैगरी, भोलि 21 जनवरी मिरिकमा अनि 24 र 25 जनवरी दार्जीलिङका पार्टी नेतृत्वहरू अनि कार्यकर्ताहरूसित अध्यक्ष विनय तामाङले महत्वपूर्ण बैठक गर्ने भएका छन्।
असमका नाबालिका सिलगढीको रेड लाइट एरियाबाट उद्धार

जनवरी 20, 2021
सिलगढी : असमको मोड़ी गाउँबाट निखोज भएकी नाबालिकालाई सिलगढी खालपाड़ा आउटपोस्ट पुलिस गत राति यहाँको रेड लाइट एरियाबाट उद्धार गर्न सफल बनेको छ। प्राप्त जानकारीअनुसार मोड़ी गाउँ जिल्ला अन्तर्गत तातिकाटा गाउँबाट एउटी नाबालिका केही दिनअघि अचानक निखोज भएकी थिइन्। यसपछि परिवारका सदस्यहरूले धेरै ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि अन्तमा गत 19 जनवरीको दिन परिवारका सदस्यहरूले असमको मोड़ी गाउँ थानामा नाबालिका निखोज भएकोबारे एउटा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले नाबालिकालाई 50 हजार रुपियाँमा सिलगढीको रेड लाइट एरियामा बिक्री गरिदिएको थाहा पाएपछि मोड़ी गाउँ थाना पुलिसले सिलगढीको खालपाड़ा आउटपोस्टमा सम्पर्क गरे। यसपछि खालपाड़ा आउटपोस्टका ओसी अमृत्य चक्रवर्तीको नेतृत्वमा पुलिसले सिलगढीको रेड लाइट एरियामा अभियान चलाएर उक्त नाबालिकालाई उद्धार गरेको बताइएको छ। खालपाड़ा आउटपोस्ट पुलिसले उक्त नाबालिकालाई जलपाईगढीको सीडब्ल्युसी होममा पठाउनको साथै आरोपीको खोजी शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
23 जनवरीमा ‘रेस फर शहीद’ प्रतियोगिताको आयोजना गरिने

जनवरी 20, 2021
सिलगढी : युनिक फाउन्डेसन टीम र देशबन्धु स्पोर्टिङ युनियनको संयुक्त पहलमा ‘रेस फर शहीद’ प्रतियोगिता आगामी 23 जनवरीमा आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर युनिक फाउन्डेशनका सदस्य सुशान्त पालले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार उक्त दौड़ प्रतियोगिता सुकनादेखि शुरू गरेर देशबन्धु स्पोर्टिङ युनियन क्लबमा आइपुगेपछि समापन गरिने भएको छ। उक्त दौड प्रतियोगितामा 15 वर्षदेखिका माथिकाहरूले अंश ग्रहण गर्ने भएका छन्। अर्कोतिर, देशबन्धु स्पोर्टिङ युनियनको तर्फबाट अनुप बोसले बताअनुसार नेताजी सुभाष चन्द्र बोसको जन्मदिन मनाउने तथा वीर शहीदहरूलाई श्रद्धाञ्जलि दिइने उद्देश्य लिएर उक्त दौड प्रतियोगिताको आयोजना गरिने भएको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले उक्त प्रतियोगिताको उद्घाटन गर्ने छन् भने क्याप्टन ज्ञानेन्द्र कुमार राय मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्। महिला तथा पुरुष वर्गमा आयोजित उक्त दौड प्रतियोगिताको विजयी 10 जना प्रतियोगीहरूलाई पदक र ट्राफीद्वारा सम्मानित गरिने तिनले बताए।siliguritimes/from,india



