खेलकुद

इंग्ल्यान्डमाथि भारतको उत्कृष्ट पूनरागमन जित

चैत ११, २०७७
एजेन्सी– भारतले इंग्ल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा उत्कृष्ट पूनरागमनका साथ ६६ रनको सानदार जित निकालेको छ । यो जितसँगै भारतले तीन ओडिआई सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि ३ सय १८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४२.१ ओभरमा २ सय ५१ रनमा अल आउट भयो । इंग्ल्यान्डलाई ओपनर जेसन रोय र जोनी बेयरस्टोले १४.२ ओभरमा १ सय ३५ रनको आक्रामक साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले वैकल्पिक फिल्डर सूर्यकुमार यादवबाट रोयलाई ४६ रनमा क्याच आउट गराएसँगै भारत खेलमा फर्किएको थियो । रोयले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरे । १७ औं ओभरको दोस्रो बलमा बेन स्टोक्सलाई कृष्णाले १ रनमा क्याच आउट गराए । २३ औं ओभरको पहिलो बलमा शार्दूल ठाकुरले कुलदीप यादवबाट जोनी बेयरस्टोलाई ९४ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो ।

बेयरस्टोले ६६ बलमा ६ चौका र ७ छक्का प्रहार गरे । त्यसपछिका ब्याट्सम्यान एकपछि अर्को लगातार आउट भएपछि उत्कृष्ट सुरुवातका कारण पनि इंग्ल्यान्ड सहजै पराजित भएको हो । २५ औं ओभरको पहिलो बलमा ठाकुरले ओईन मोर्गनलाई २२ रनमा विकेटकिपर लोकेश राहुलबाट क्याच आउट गराए । तीन बल पछि जस बटलर २ रनमा एलबिडब्लू आउट भएपछि इंग्ल्यान्ड संकटमा परेको थियो । तल्लोक्रमका साम बिलिंग्स १८, मोईन अली ३०, साम करण १२ र टम करण ११ रनमा आउट भए ।

डेब्यू खेल खेलेका तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले ८.१ ओभरमा १ मेडन सहित ५४ रन खर्चेर ४ विकेट लिए । शार्दूल ठाकुरले ६ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । भुवनेश्वर कुमारले २ र क्रुनाल पान्ड्याले १ विकेट लिए । त्यसअघि महाराष्ट्र क्रिकेट एसोसिएसन पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १७ रन बनाएको थियो । भारतका ओपनर शिखर धवनले १ सय ६ बलमा ११ चौका र २ छक्का सहित सर्वाधिक ९८ रनको योगदान दिए । ३९ औं ओभरको पहिलो बलमा बेन स्टोक्सले ओईन मोर्गनबाट क्याच गराएपछि शतक बनाउन २ रनले चुकेका थिए ।

डेब्यू खेल खेलेका क्रुनाल पान्ड्या ३१ बलमा ७ चौका र २ छक्का सहित ५८ रनमा अविजित रहे । विकेटकिपर लोकेश राहुल ४३ बलमा ४ चौका र ४ छक्का सहित ६२ रनमा अविजित रहे । कप्तान विराट कोहली ६० बलमा ६ चौका सहित ५६ रनमा आउट भए । ओपनर रोहित शर्मा २८, श्रेयस ऐर ६ र हार्दिक पान्ड्या १ रनमा आउट भए । इंग्ल्यान्डका बेन स्टोक्सले ८ ओभरमा १ मेडन सहित ३४ रन खर्चेर ३ विकेट लिए । मार्कवुडको नाममा २ विकेट रह्यो । दोस्रो खेल शुक्रबार हुने छ ।hamrokhulkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button