खबर

यसरी हुन्छ नेपालबाट भारततर्फ मदिरा तस्करी

काठमाडौं ,बैशाख ५, २०७८
भारतको जयनगरमा बुधबार मदिरासहित दुई भारतीय पक्राउ परे। ती दुवैले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्विकारे। उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित मदिरा बरामद गर्‍यो।

जयनगरमा नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन। यसअघि पनि सोही अभियोगमा त्यहाँ मदिरासहित धेरैजना पक्राउ परिसकेका छन्। धेरैजना अझै थुनामै छन्। तर नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिने त परको कुरा, झन्झन् बढ्दो छ। भारतको बिहार सरकारले मदिरा निषेधित गरेपछि नेपालबाट सीमावर्ती भारतीय गाउँसहरमा तस्करी हुँदै आएको छ।

कुनै बेला अँध्यारोको आड लिएर तस्करले भारतबाट कुखुरा भित्र्याउने सिरहाको सीमावर्ती नाका पछिल्लो समय मदिरा तस्करीको मुख्य केन्द्र बनेको छ। तस्करले वारिका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा सीमावर्ती बजारमा भण्डारण गरेर अनुकूल समयमा पारिका सहरमा पुर्‍याउँदै आएका छन्। दिउँसै सिरहाको माडर बजारमा मदिराको सक्कली कार्टुन (मदिरा उद्योगबाट सिल भएर आएको) फ्याँकी बोतल अर्को कार्टुनमा प्याक गरी बोरामा राखेर साइकलमार्फत सीमावर्ती लगडीगोठ र बुधौरा पुर्‍याइन्छ। ड्युटीमा रहेका एसएसबीहरू खाजा समयमा ब्यारेक फर्केका बेला धमाधम मदिराले भरिएका बोरा पारि पुर्‍याइन्छन् । नागरिक दैनिकमा छ ।

सिरहाबाट भारततर्फ खुलेआम मदिरा तस्करी हुँदै आए पनि जाँचका लागि सीमाक्षेत्रमा उपस्थित सशस्त्र र नेपाल प्रहरी भने देखे पनि नदेखेझैं गर्दै आएका छन्। इलाका प्रहरी कार्यालय माडरभन्दा ५ सय मिटर पूर्व लगडीगोठ जाने सडकको उत्तरपट्टि खुला ठाउँमै मदिराका बोतल नयाँ कार्टुनमा प्याक गरिरहने दृश्य स्थानीयका लागि समान्य हो। यहाँबाट तस्करले मदिरा भारतीय बजार जोगिया पुर्‍याउँछन्। त्यहाँबाट जयनगर हुँदै बिहारका अन्य गाउँसहरमा पुर्‍याइन्छ। मदिरा ओसारपसारमा साइकल र नम्बर प्लेट नभएका भारतीय मोटरसाइकल प्रयोग हुन्छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button