
झापा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी तथा पारिवारिक भ्रमणका क्रममा छिमेकी मुलुक भारत जाने भएका छन्।
उनी तीन दिनको भ्रमणका लागि आज बिहीबार भारततर्फ प्रस्थान गर्न लागेका हुन्। सभापति लामिछानेको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त भ्रमणका बारेमा औपचारिक जानकारी दिएको छ। लामिछानेको यो भ्रमण पूर्ण रूपमा निजी, धार्मिक तथा पारिवारिक रहेको सचिवालयले स्पष्ट पारेको छ।
सचिवालयका अनुसार सभापति लामिछाने सुदूरपश्चिमको धनगढी हुँदै भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनी परिवारसहित भारतको उत्तराखण्ड, नैनीतालस्थित प्रसिद्ध तीर्थस्थल ‘कैँची धाम’ र असम (आसाम) को गुवाहाटीस्थित शक्तिपीठ ‘कामाख्या मन्दिर’ पुग्नेछन्।
तीन दिनको धार्मिक तथा पारिवारिक यात्रा सम्पन्न गरी सभापति लामिछाने स्वदेश फर्किने तालिका रहेको छ।यसअघि लामिछाने गत जेठ २२ गते भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने राजनीतिक भ्रमणका लागि भारत गएका थिए।



