
२० असोज २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । ६६ औं प्रहरी दिवस इलाका प्रहरी कार्यालय काँकरभिट्टामा केक काटेर मनाइएको छ ।
रोट्रयाक्ट क्लब काँकरभिट्टाका सदस्यहरु प्रहरी दिवस मनाउने क्रममा केक लिएर इप्रका काँकरभिट्टा पुगेका थिए।
सो अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा अन्तर्गत रहेका सम्पूर्ण सुरक्षाकर्मीलाई क्लबको तर्फबाट खदा पहिराएर सम्मान समेत गरिएको थियो ।
६६ औँ प्रहरी दिवसमा आफुहरुलाई सम्झिएर इलाकामै उत्सव मनाउन आइपुगेका क्लबका पदाधिकारीहरुलाई कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
प्रनाउ दाहाल, क्लबका अध्यक्ष पुस्कर बस्नेतलगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका सचिव सुमन धिमालले गरेका थिए ।

वि।सं २०१२ असोज ३० गते ‘प्रहरी ऐन २०१२’ लागु भएको सन्दर्भमा हरेक वर्ष असोज ३० गते प्रहरी दिवस मनाइने गरेको छ । तर, सो दिन सार्वजनिक विदा तथा चाडपर्व पर्न गए सो मिति आसपास अनुकुल पारेर दिवस मनाउने गरिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंले यो वर्ष असोज २० गते दिवस मनाउन परिपत्र गरे अनुरुप देशभरका हरेक इलाका तथा प्रशासन कार्यालयमा विविध कार्यक्रमको आयोजना गरिएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले समेत दिवसकै सन्दर्भ पारेर यसअघि वृक्षारोपण, सार्वजनिक स्थलमा सरसफाइलगायतका कार्यक्रमको आयोजना गरेको डिएसपी दाहालले बताए ।



