मूल खबर

को बन्लान् काँग्रेस महामन्त्री ?

काठमाडौं ,मंसिर २८, २०७८
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। तीन युवासहित ६ नेता महामन्त्रीका लागि प्रतिस्पर्धामा छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) देखि सहकार्य गर्दै आएका युवा नेतात्रय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल महामन्त्रीका प्रतिस्पर्धी हुन्। तीन फरक समूहबाट उनीहरू महामन्त्रीको उम्मेदवार बनेका छन्।

देउवा समूहबाट प्रदीप, शेखरबाट गगन र सिंहबाट विश्व महामन्त्रीको उम्मेदवार बनेका हुन्। उनीहरूसँगै अघिल्ला पुस्ताका तीन डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की पनि महामन्त्रीकै प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धामा रहेका ६ उम्मेदवार मध्य गगन र विश्व महाधिवेशन प्रतिनिधिमाझ लोकप्रिय देखिएका छन्। उनीहरूको तुलनामा प्रदीप केही कमजोर देखिएका छन्। तर, सिटौला हुँदै देउवा समूहमा जोडिएका प्रदीप गुटगत समीकरणका दृष्टिले भने सबैभन्दा बलिया देखिन्छन्।

प्रदीपसँगै देउवा समूहबाट महत पनि महामन्त्रीको उम्मेदवार बनेका छन्। देउवा समूहभित्र महामन्त्रीको उम्मेदवारका आकांक्षीको असन्तुष्टि मतमा प्रकट भएन भने गगन र विश्वको अवस्था मजबुत रहेको निकटहरूको बुझाइ छ।

सडकदेखि संसद्सम्म पार्टीदेखि सरकारसम्म आफ्नो भूमिका देखाइसकेका गगनलाई पार्टीको महामन्त्रीमा ल्याउनैपर्ने मत सबैखाले महाधिवेशन प्रतिनिधिमा देखिएको छ। तर,गगनसँग पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रुष्ट छन्।

१३औं महाधिवेशनमा सिटौलासँग जोडिएर थापा महामन्त्रीको प्रत्यासी बनेका थिए। स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा आफ्नो कोटाबाट पुगेका गगनले आफूलाई बीचमै छाडेर संस्थापन इतर पक्षमा लागेको भन्दै सिटौलाले चित्त दुखाएका छन्।  नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button