विचार

चर्चामा ओलीवेशन

२८ मंसिर २०७८

चिरञ्जीवी मास्के
चितवनको नारायणी किनारमा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनलगत्तै नेपाली कांग्रेसका युवा नेता गगन थापाले टिप्पणी गरे – चितवनमा एमालेको ओलीवेशन भएको छ । त्यसको केही दिनपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आसपास एमाले नेता गोकुल बाँस्कोटाले कटाक्ष गरे – भृकुटी मण्डपमा पनि त ओलीवेशननै हुने भएछ नि!

गगनको टिप्पणी र गोकुलको कटाक्षको गहिराइमा जान्न, तर राजधानी काठमाडौँको भृकुटी मण्डपमा नेपाली कांग्रेसको १४ औ महाधवेशनको उद्घाटन चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्चा जुन ढङ्गले भयो त्यसले के देखाएको थियो भने गोकुल बाँस्कोटाको कटाक्षजस्तै त्यहाँ कांग्रेसको महाधिवेशन हैन ओलीवेशन चलिरहेको छ ।

कांग्रेस महाधिवेशनको उद्घाटनको बेला सहभागीहरूको चासो ओलीको सहभागिता हुन्छ कि हुँदैन, कति बेला हुन्छ, बस्ने कुर्सी कुन होला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग ओलीको संवाद होला कि नहोलाजस्ता कुरामा बढी केन्द्रित थियो ।

ढिलागरी कार्यक्रम स्थल प्रवेश गरेका ओलीले मञ्चमा आसीन सबैलाई दुई हात जोडेर अभिवादन गरे । त्यतिबेला माधवकुमार नेपालले घोसेमुन्टो लगाए भने पुष्पकमल दहालले मुन्टो बटारे, यो पनि चर्चाको विषय बन्यो । मन्तव्य सकेर मञ्चमा फर्किएपछि पुष्पकमल दहालसँग केही समय मुस्कानसहित संवाद गरे, यो पनि चर्चाको विषय बन्यो । कांग्रेस महाधिवेशनमा शुभकामना दिन पुगेका महन्त ठाकुरले ओलीको प्रशंसा गरे, यो पनि चर्चाको विषय बन्यो । नेताहरूलाई चोर भनेको विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई हिड्न नजान्ने बाच्छो दौडन खोजेको भन्दै व्यङ्ग्य गरे, यो पनि चर्चाको विषय बन्यो ।

ओलीलगायतका अतिथि गइसकेपछि सभापति शेरबहादुर देउवाले गरेको आफ्नो समापन मन्तव्यमा समेत ओलीकै चर्चा गरे । अर्थात् आफूलाई पुनः सभापतिमा जिताउन भन्दै भोट माग्नसमेत देउवाले ओलीकै फेरो समाउनु प¥यो । उनले समापन मन्तव्यमा भने – ‘म प्रधानमन्त्री बन्नासाथ जनताले ओलीको निरंकुशताबाट मुक्ति पाएको भन्दै खुशी मनाए, मैले ओलीको निरंकुशताबाट मुक्ति दिलाएँ अब पार्टी सभापतिमा पनि मलाई जिताउनुहोस् ।’

कांग्रेस महाधिवेशनको उद्घाटनमा मात्र हैन केही दिन अघिदेखि नै ओलीको चर्चा शुरू भइसकेको थियो । मिडियाहरूले कांग्रेस महाधिवेशनमा एमाले अध्यक्ष ओली जान्छन् कि जाँदैनन्, नेपाल, दहाल र ओली एउटै मञ्चमा, ओली बिरामी भए पनि कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रममा जानेजस्ता समाचार लगातार प्रकाशन÷प्रशारण गरिरहेका थिए । हेर्दै जानुछ, कतै नेकपा माओवादी केन्द्रको महाधिवेशन पनि ओलीवेशन नबनोस् ।

त्यसो त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्चा राजनीतिक दलको महाधिवेशनहरूमा मात्र हैन जनआन्दोलन, संविधान निर्माण, सरकार सञ्चालन सबै अवस्थामा हुने गरेका छन् । दलका नेताहरूले प्रशंसा गरेर होस् या गाली गरेर आफ्नो भाषणमा ओलीको प्रसंग ल्याएरै छोड्छन् ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको आन्तरिक कार्यक्रम होस् या सार्वजनिक कार्यक्रम, केपी ओलीको प्रसंग ल्याएनन् भने उनीहरूको भाषण नै अधुरो होलाजस्तो भइसकेको छ ।

सम्बोधनपछि भाषणको शुरूमै ओलीको प्रसंग ! नेपाली कांग्रेसका युवा नेता गगन थापाले पनि कहिले गाली गरेर त कैले प्रशंसा गरेर नै किन नहोस् आफ्ना भाषणहरूमा ओलीकै प्रसंग उल्लेख गर्छन् ।

किन हुन्छ ओलीको चर्चा ?
त्यसो त केपी शर्मा ओलीको चर्चा अहिलेमात्र हैन २०२८ सालमा कम्युनिस्टहरूले शुरू गरेको वर्गशत्रु मास्ने झापा विद्रोहको क्रमबाटै भएको हो । झापा विद्रोहको क्रममा वर्गशत्रु मास्ने अभियानको नेतृत्व केपी शर्मा ओली (खड्गप्रसाद ओली), सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारीहरूले गरेका थिए । त्यही विद्रोहको तापमा स्थापना भएको नेकपा माले नै अहिलेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी अर्थात् एमाले हो ।

२०४७ सालमा जननेता मदन भण्डारीले नेतृत्व गरेको नेकपा माले र मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा माक्र्सवादी मिलेर नेकपा एमाले बन्यो । जसको अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी बने । मदन भण्डारीले एमालेमा नयाँ विचारको उदय गराए – जनताको बहुदलीय जनवाद (जवज) । मदन भण्डारीका सारथीहरूमध्येको मुख्य मानिएका केपी शर्मा ओलीले जवजलाई स्थापित गर्न त्यतिबेला देखि नै महत्वपूर्ण भूमिका खेलेका हुन् । त्यसैले त्यतिबेला पनि ओलीको चर्चा भयो ।

२०४६÷०४७ को जनआन्दोलन होस् या २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन, केपी ओलीको भूमिका कुनै न कुनै ढङ्गले चर्चित बन्यो । चर्चा सकारात्मक, नकारात्मक दुवै हिसाबले भए तर सत्य के हो भने दुवै आन्दोलनको निर्णायक मोडमा केपी शर्मा ओलीको अडान र अभियान सार्थक तथा परिणाममुखी बन्यो ।

मुलुकमा गणतन्त्र स्थापनापछिका अधिकांश राजनीतिक समय केपी शर्मा ओलीको चर्चामै अघि बढेको छ । पहिलो संविधान सभाले नयाँ संविधान बनाउन सकेन । दोस्रो संविधानसभा पनि झण्डै झण्डै निरर्थक सावित भइसकेको थियो । केपी शर्मा ओलीको साहस र अडानकै कारण दोस्रो संविधानसभाले नयाँ संविधान जारी गर्न सकेको हो ।

केपी शर्मा ओलीले भारतसँग हिम्मतका साथ भने– हाम्रो संविधान निर्माण गर्न कसैलाई सोधिराख्नु पर्दैन । उनको यही आँटको परिणाम थियो दोस्रो संविधानसभाबाट संविधान निर्माण हुनु । अन्यथा नयाँ संविधान जारी गर्नु भारतको रुचीमा थिएन र भारतको रुचीभन्दा बाहिर जाने आँट अन्य नेताहरूमा थिएन ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नेपालको माटो सुहाउँदो कम्युनिस्ट सिद्धान्त थियो । यही सिद्धान्तको जगमा उभिएर केपी शर्मा ओलीले राष्ट्रवादी, जनवादी कार्यक्रम अघि सारे – समृद्ध नेपाल, सुखी नेपाली । ओलीको यही कार्यक्रमको परिणाम हो लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको चुच्चे नक्सा । सडक सञ्जालको विस्तार र जलविद्युत्को विकास पनि समृद्ध नेपाल, सुखी नेपालीकै परिणाम हो ।

सिद्धान्त निर्माण गर्न विद्वता चाहिन्छ, कार्यक्रम निर्माण गर्न नेता चाहिन्छ । केपी शर्मा ओलीमा विद्वता र नेता दुवै खुबी छ । त्यसैले चौतर्फी आक्रमण भइरहँदा पनि नेकपा एमालेको जनताको बहुदलीय जनवाद र त्यसको जगमा निर्माण भएको समृद्ध नेपाल, सुखी नेपाली अभियान अविचलित ढङ्गले अगाडि बढेको छ । अन्यथा जवजको हालत पनि नेपाली कांग्रेसका नेता वीपी कोइरालाको समाजवादजस्तै हुने थियो ।

सिद्धान्तले नेतालाई नैतिक बल दिन्छ, जनपक्षीय कार्यक्रमसहितको अभियान सञ्चालन गर्न नीतिगत गाइडलाइन दिन्छ । कार्यक्रम बनाउने र अभियान सञ्चालन गर्ने दायित्व सिद्धान्त प्रतिपादन गर्ने वा त्यसलाई आत्मसाथ गर्ने नेताको जिम्मेवारी हो । सिद्धान्तबाट निर्देशित हुन जति सजिलो छ त्यसलाई परिणाममुखी कार्यक्रमसहित नेतृत्व गर्नु त्यति नै कठिन छ । जुन कठिन काम केपी शर्मा ओलीले पार्टी प्रमुख र सरकार प्रमुखको रूपमा जवजको नेतृत्व गरेर पूरा गरेका छन् । त्यसैले राजनीतिको यो युगमा केपी शर्मा ओलीको चर्चा स्वभाविक छ ।

केही पटमुर्ख र बौद्धिक दरिद्रहरूले केपी शर्मा ओलीको अशिष्ट आलोचना गर्छन् – पढाइ नभएको, अस्वस्थ रहेको आदि आदि । त्यसरी आलोचना गरिरहँदा धेरै पढेका विद्वानहरू र अनपढ भनिएका केपी शर्मा ओलीको विचार, आर्दशको तुलना गरौं न । धेरै पढेका विद्वान प्रधानमन्त्री र अनपढ भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको कामको तुलना गरौं न ।

स्वस्थ भनिएका प्रधानमन्त्री र अस्वस्थ भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीको खटाइ र लगनको तुलना गरौं न । ढुक्कको कुरा के हो भने यस्तो खाले तुलना गर्न कोही रुचाउँदैनन् । किनभने केपी शर्मा ओलीसँग विचार, आर्दश, अभियान कुनै पनि कुरामा २०४६ साल यताका कुनै पनि प्रधानमन्त्रीहरूको तुलना हुनै सक्दैन । आरोप लगाउने र आलोचना गर्नेहरूले केपी शर्मा ओली र अन्य नेता तथा प्रधानमन्त्री बीचका विचार, आर्दश, कामको भिन्नताहरू किन प्रस्तुत गर्न सक्दैनन् त ? किनभने यो तुलना गर्ने र तुलना हुने विषय नै हैन ।

झापा विद्रोहबाट अघि बढेको केपी शर्मा ओलीको राजनीतिक निरन्तरता विभिन्न आरोह, अवरोह र आक्रमणलाई परास्त गर्दै अघि बढेको छ । र, उनको चर्चा समुद्रको छाल जसरी आकाशिँदै गएको छ । उनको चर्चाले त्यतिबेला पनि बिट मार्दैन जतिबेला ७० वर्षे उमेर हदका कारण (एमालेको विधान परिर्वतन भएन भने आगामी २०८२ सालमा) उनले राजनीतिक विश्राम लिनेछन् । किनभने यो चार वर्षको अवधिमा उनले पार्टीलाई एमालेकै रूपमा सर्वश्रेष्ठ बनाउनेछन् । बहुमतसहित सरकारको नेतृत्व गर्नेछन् र जवजको जगमा विकास र समृद्धिको अभियानलाई थप सार्थक तुल्याउनेछन् । जसको चर्चा अरू धेरै दशकसम्म गर्नु पर्नेछ, त्यसैले केपी शर्मा ओलीको चर्चा दशकौंसम्म हुनेछ ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button