कृषि र किसान

च्याउमा बिमा गर्नै मान्दैनन् कम्पनी, ‘च्याउ बिमा किन र कसरी गर्ने ?’

रेखा जोशी

काठमाडौँ, ४ फागुन । गोकर्णेश्वर नगरपालिका ६ का सिताराम तिमल्सिनाले कन्य च्याउ खेती गरेको ८ वर्ष भयो । उनले थोरै लगानीमा राम्रो आम्दानी गरिरहेका छन् । २/३ वटा टहराबाट व्यवसाय सुरु गरेका तिमल्सिनाले अहिले १८ वटा टर्नेमा च्याउ खेती गरिरहेका छन् । वार्षिक १० लाख बचत हुने उनको भनाई छ । लगानी बढाउँदै गएपछि जोखिमको चिन्ताले सताउँन थाल्यो । तर यति धेरै लगानी गरेपनि उनले बिमा गर्न पाएका छैनन् । उनले बिमा गर्न धेरै कोसिस गरे पनि बिमा गर्न नसकेका हुन् ।

‘बिमा कम्पनीमा गयो भने त मेरो जागिर खान आकोहोस् भन्छन्’ उनले गुनासो गर्दै भने,‘बिमा गर्दा भोलीको दिनमा बिग्रेला, घाटा लाग्ला र भोलिको दिनमा मेरो जागिर नै जान सक्छ । त्यहि भएर म बिमा गर्न सक्दिन । च्याउ खेती गर्नु भन्दा अरु व्यवसाय गर्नुहोस् भन्छन् ।’ बैङ्कबाट लोन लिने केही किसानहरूको मात्र बिमा कम्पनीहरूले बिमा गर्ने गरेको उनले बताए ।

च्याउ खेतीमा सम्भावनासँगै चुनौती पनि धेरै छन् । रोग लाग्ने र बिग्रने हुँदा किसान नोक्सानी बेहोर्न बाध्य छन् । कृषि बिमाको नियम च्याउ खेती गर्नेहरूका लागि सहज नभएको किसान बताउँछन् । च्याउ हुर्कंदै गर्दा रोगकिराले दुःख दिन्छ । तयार भएको च्याउ टिपेर तत्काल बेच्न नसके बिग्रेर नोक्सान हुन्छ । यो नोक्सानीबाट राहत दिन बिमाले नसकेको किसान बताउँछन् ।

च्याउ उमार्न प्लास्टिकमा राखेको परालको एउटा पोकाबाट वर्षमा एक किलोसम्म च्याउ उत्पादन हुन्छ । तर रोगकिरा र अन्य समस्याले आधा किलोदेखि ६ सय ग्रामसम्म मात्रै च्याउ उत्पादन हुने गरेको छ ।

यता अर्का किसान विनोद पौडेलले सरकारले तोकेको कम्पनीहरूले पनि च्याउमा बिमा गर्न नमान्ने गुनासो गरे । अझ कन्ये च्याउमा त बिमा समिती नै अन्योलमा रहेको पनि उनले बताए । ‘बिमा एजेन्टहरूले कृषिमा बिमा गर्नु भनेको जानाजान खाडलमा हात हाल्नु हो भन्दै बिमा नै गर्न मान्दैनन् ।’ उनले भने । एक त कम्पनीहरूले बिमा गर्न नमान्ने समस्या त छदै छ । अर्को तर्फ भने क्षतिको खतरालाई कम गर्न बिमा गरेका कहिले क्षतिपूर्ति पाउन नै मुस्किल हुने गरेको छ ।

बैङ्कबाट लोन लिएका केही किसानले बिमा गरे पनि क्षति बहन गर्छ भनेर गरेको बिमा अहिले निल्नु न ओकल्नु हुने गरेको छ । सरकारले कृषि तथा बाली बिमा गर्दा प्रिमियम रकममा ८० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न तथा यस क्षेत्रमा किसानहरूको आकर्षण बढाउनका लागि अनुदान बढाइएका सरकारले जनाएको छ । यो व्यवस्थासँगै किसानहरूले बालीनाली तथा पशुधनको बिमा गर्दा एक सय रुपैयाँ प्रिमियममध्ये २० रुपैयाँ मात्र भुक्तानी गर्नुपर्नेछ । कम्पनीहरूले बिमा गरेपछि ८० रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट शोधभर्ना पाउनेछन् ।

यसरी सरकारले कृषि बिमाको पहुँच विस्तार गर्नका लागि अनुदान दिए पनि बिमाको विस्तार भने व्यापक हुन सकेको छैन । बिमा कम्पनीहरूलाई जिल्ला तोकेर कृषि बिमाको काम गर्नका लागि बिमा समितिले निर्देशन दिएको छ । तर कम्पनीहरूले बिमा नै गर्न मान्दैनन् । यता बिमा समितिका निर्देशक सुशील देव सुबेदीले भने पछिल्लो समय च्याउमा बिमा गर्ने किसानहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको बताउँछन् ।

उनले आर्थिक वर्ष २०७७/७८ मा च्याउमा ६१ करोडको बिमा भएको बताए । अघिल्लो वर्ष भने १६ करोड १८ लाखको च्याउमा बिमा भएको थियो । यस्तै गएको वर्ष २० जनाले बिमा गरेको यो पटक ६१ जना किसानले च्याउमा बिमा गरेको उनले बताए । ‘पछिल्लो समय च्याउमा खासै समस्या छैन । बिमा गर्नेको सङ्ख्या च्याउमा पनि वृद्धि हुँदै गएको छ’ उनले तथ्याङ्क केलाउँदै भने,‘ आगामी दिनमा बिमा गर्नेको सङ्ख्यामा अझ वृद्धि हुन्छ भन्नेमा विश्वस्त छु ।’

कम्पनीले बिमा गर्न नमान्ने भन्ने गुनासा धेरै आउने गरेको भन्दै उनले बिमा नगर्ने कम्पनीलाई समितिले कार्बाहि समेत गरिरहेको बताए । यसरी पछिल्लो समय बिमा गर्नेको सङ्ख्यामा वृद्धि भएपछि अझै पनि किसानहरुमा बिमा बारे ज्ञानको कमी रहेको पनि उनले बताए । यता समितिले बिमाबारे गुनासो धेरै आइरहेकोले अहिले पोलिसिलाई संशोधन गर्नुका साथै नयाँ पोलिसि पनि बनाई रहेको उनले जानकारी दिए ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरू :
यस बीमालेख अन्तर्गत देहायका जोखिमहरू समावेश छन् :
देहायका कुनै कारणबाट अनुसूचीमा उल्लिखित च्याउको बीमा अवधिभित्र हानी-नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतिपूर्ति रकम भुक्तानी दिनेछ । बीमकले उक्त अनुसूचीमा उल्लिखित बीमाङ्कको सिमा सम्म वास्तविक क्षतीको रकम बीमितलाई भुक्तानी गर्नेछ ।

(क) आगलागी, चट्याङ

(ख) भूकम्प

(ग) बाढी डुवान /खडेरी

(घ) पहिरो भूस्खलन

ङ) आँधिबेहरी, असिना, हिऊँ वा तुसारो

(च) आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु

(छ) किरा तथा रोगबाट हुने हानी-नोक्सानी ।

क्षतिपूर्ति नदिने अवस्थाहरु
बीमकले निम्न अवस्थाहरुमा यस बीमालेख अन्तर्गत दाबी भुक्तानी दिने छैन :

– च्याउ खेतीधनी वा निजको एकाघर परिवारका सदस्यको लापरवाहीको कारणले वा जानाजान मनोरञ्जनको उद्देश्यबाट वा रिसइवीपूर्ण व्यवहारको कारणबाट क्षति भएमा ।

– सरकारी निकायको आदेशमा च्याउखेतीलाई नष्ट गर्नुपर्ने भएमा।।

– च्याउ चोरी भएमा वा मान्यता प्राप्त आधिकारीक स्रोतको बिउ प्रयोग नगरेमा ।

– बीमितले आफ्नो जग्गा बिकी वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा । तर कानुन वमोजिम जग्गाको स्वामित्व स्वत : परिवर्तन हुने अवस्थामा यो प्रावधान लागू हुने छैन । सो बाहेक अन्य कारणबाट बीमालेख रद्ध गरेमा बीमाशुल्क फिर्ता हुने छैन। ।

– युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही (युद्ध घोषणा भएको होस् वा नहोस्), गृहयुद्ध, राजद्रोह, कान्ति, सत्ता विप्लव सैनिक विद्रोहको कारणबाट बीमा गरिएको च्याउ खेतीमा क्षति भएमा।

देहायको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिर्जना भएको वा सोको प्रतिकुल योगदानबाट उत्पन्न कारणले बीमा गरिएको च्याउ खेतीमा क्षति भएमा :

(क) आणविक विकिरण वा आणविक इन्धनको ज्वलनपछि शेष रहेको बेकम्मा पदार्थबाट स्कने रेडियोधर्मिता (स्वत: जारी रहने अणुको विच्छेदनको ज्वलनसमेत) को
सकियताको संसर्गबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हुने कुनै दुर्घटना,

(ख) आणविक हातहतियारबाट उठेको वा सोसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको रणबाट भएको दुर्घटना च्याउ धनीले प्रस्ताव फाराममा विवरण दिँदा भट्टा विवरण दिएमा वा जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दाबीप्रति उत्तरदायी हुने छैन ।

सर्तहरु

– च्याउमा कुनै रोग किरा वा दवै लागेमा च्याउ धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख गराउनु पर्नेछ।
– बीमकले चाहेको जुनसुकै समयमा च्याउखेती परीक्षण गर्न आउने बीमक वा तोकिएको स्थाका आधिकारिक प्रतिनिधिलाई च्याउखेतीको परीक्षण गर्न दिनु पर्नेछ ।

– च्याउ धनीले च्याउखेतीको क्षति हानी-नोक्सानी भएमा सोको ३ दिनभित्र लिखित जानकारी स्वयम् वा सदस्य संस्था मार्फत बीमकलाई दिनु पर्नेछ । त्यस्तो जानकारी प्राप्त भएको ४८ घण्टाभित्र बीमक वा तोकिएको संस्था वा प्रतिनिधिले क्षति हानी-नोक्सानीको निरीक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म च्याउ खेतीधनीले क्षति हानी-नोक्सानीको स्थानलाई यथा अवस्थामा राख्नु पर्नेछ । तर क्षति न्यूनीकरण गर्न चालिएको कदमलाई यस प्रावधानले कनै बाधा पुयाउने छैन।
– यस बीमालेख अन्तर्गत बीमा गरिएको च्याउखेतीको क्षति भएको कारणबाट हुने अन्य वा थप खर्च वा हानी-नोक्सानीको दाबी गर्न पाइने छैन ।
– यस बीमालेखको अनुसूचीमा बीमा अवधि समाप्त हुने भनी उल्लिखित भएको मितिमा स्थानीय समय अनुसार रातको बाह (१२) बजे पछि यस बीमालेखको अवधि समाप्त हुनेछ।

बीमाङ्क रकम कायम गर्ने तरिका

च्याउ उत्पादन सामग्रीको वास्तविक मूल्य, मेशिनरी औजारको वास्तविक मूल्य र टहरा खर्च तथा व्यवस्थापन खर्चको आधारमा बीमाङ्क कायम गरिन्छ । बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशत दरले लाग्छ । सदस्य संस्था मार्फत बीमा भएमा कुल बीमाशुल्कमा पन्ध्र प्रतिशत छुट दिने प्रवधान रहेको छ ।

दाबी सम्बन्धी प्रक्रिया

बीमा गरिएको च्याउको हानी वा नोक्सानीर क्षति भएमा १५ दिन भित्र आवश्यक कागजपत्रहरु सहित दाबी गर्नुपर्दछ । बीमा सकम दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रूपले भरिएको दाबी फाराम, प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाउँपालिका र नगरपालिकावा वडाको सर्जमिन मुचुल्का सहितको कागजातहरु बीमक समक्ष पेस गर्नु पर्दछ । त्यसपछि मात्रै दाबी भुक्तानी प्रकृया अघि बढ्छ ।हलो खबरबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button