मूल खबरविचार

परम्परागत संस्कार–संस्कृतिको विकल्प नयाँ संस्कृति

– अशोक सुवेदी

(नेपाली समाजमा परम्परागत चाडपर्वहरु भित्रिइसकेका छन् । यस किसिमका रूढि, अन्धविश्वास, धर्म र अध्यात्ममा आधारित पर्वहरूलाई हामीले संस्कृतिका रूपमा मान्दै आएका छौँ । यस किसिमको संस्कृतिको रूपान्तरणका लागि सहयोग पुग्ने उद्देश्यले ६ वर्षअघि एउटा सन्दर्भमा लेखिएको लेखको एक अंश यहाँ उद्धृत गरिएको हो ।)

पृष्ठभूमि

संस्कृति मानवचेतनाको उत्कर्ष स्वरूप हो । त्यो संस्कारका रूपमा अभिव्यक्त हुन्छ । वर्गसङ्घर्षको माध्यमबाट समाज जतिजति चेतनशील बन्दै जान्छ, उतिउति सभ्य, सुसंस्कृत र वैज्ञानिक हुन्छ र परम्परावादी संस्कार–संस्कृतिलाई त्याग्दै नयाँ र जनवादी संस्कृति अवलम्बन गर्दै जान्छ । समाज जति द्वन्द्ववादी र वैज्ञानिक बन्दै जान्छ, उतिउति सुसंस्कृत र सभ्य बन्दै जान्छ । आदिम साम्यवादी युगदेखि वर्गसङ्घर्षको आजसम्मको इतिहासमा आइपुग्दा मानिस अस्तिभन्दा हिजो, हिजोभन्दा आज बढी वैज्ञानिक, सचेत र सुसंस्कृत बन्दै गएको छ । यो वर्गसङ्घर्षको परिणाम र सामूहिक चेतनाको उपज हो । मानिसले आफ्नो चिन्तन/दृष्टिकोणलाई जति वैज्ञानिक बनाउँदै लैजान्छ, उसले आफ्नो आनीबानी, संस्कार, संस्कृति र जीवनपद्धति पनि वैज्ञानिक बनाउँदै लग्छ ।

मानिसको जन्मदेखि मृत्युसम्मका संस्कार र संस्कृतिमा उसको र ऊ बाँचेको समाजको जीवनदर्शन अभिव्यक्त हुन्छ । शोषणदमनरहित, सभ्य, सुसंस्कृत उच्च चेतनाले ओतप्रोत साम्यवादी युगको निर्माणका लागि भएको वर्गसङ्घर्षकै क्रममा संस्कार र संस्कृति निर्माणका लागि पनि सङ्घर्ष भएका छन् । यस अर्थमा राजनीतिक सङ्घर्ष र सांस्कृतिक सङ्घर्ष एकअर्काका परिपूरक छन् । संस्कृति–संस्कार सत्तासँग जोडिएको प्रश्न भएकाले समाजमा वर्गसङ्घर्ष जति घनीभूत बन्दै जान्छ, जतिजति जनसत्ता निर्माण हुँदै जान्छन्, उतिउति वैज्ञानिक र जीवनवादी संस्कृति र संस्कारको पनि निर्माण हुँदै जान्छ । महान् जनयुद्धका क्रममा निर्मित संस्कार–संस्कृतिले यो कुरा प्रमाणित गरेको छ । यद्यपि राजनीतिमा भएको प्रतिक्रान्तिसँगै संस्कार र संस्कृतिमा पनि भ्रष्टीकरण हुँदै गएको छ । हामीलाई विश्वास छ, वर्गसङ्घर्षको निरन्तर प्रक्रिया र अर्को उचाइको क्रान्तिसँगै परम्परागत संस्कार र संस्कृति पनि रूपान्तरित भई नयाँ निर्माण हुनेछन् ।

राजनीतिक क्रान्तिसँगै निर्माण हुने जनसत्तामा संस्कार र संस्कृति पनि जनपक्षीय बन्दै जान्छन् । राजनीतिक सत्ता उपरि किसिमको हुने भएकाले सङ्घर्षद्वारा निर्मित संस्कृतिमा त्यसको आत्मिक पक्ष अभिव्यक्त हुन्छ । मानिस पढेर मात्र होइन, परेर, बुझेर र खारिएर सुसंस्कृत बन्छ। सामाजिक प्राणी मानिसले आफूसँगै समग्र समाजलाई नै सभ्य र वैज्ञानिक संस्कार र संस्कृतिले सम्पन्न बनाउने प्रयत्न गर्छ– सामूहिक प्रयासका माध्यमबाट । त्यसैले संस्कार–संस्कृति सामूहिक प्रयत्नबाट बदलिन्छ राजनीतिक सत्ताजस्तै ।

संस्कृति र संस्कार जीवपद्धति भएकाले यसको निर्माण अझ कठिन हुन्छ । यो लामो प्रयत्नबाट निर्माण हुन्छ । संस्कार–संस्कृति मानव समुदायैपिच्छे पृथक्पृथक् हुनसक्छन् । एउटै वर्गसत्ता भएको समाजमा पनि मानिसका पृथ्कपृथक् संस्कार–संस्कृति हुनसक्छन् । संस्कृति–संस्कार समय र समाजसापेक्ष बदलिन्छ, बदल्नुपर्छ । सचेत प्रयत्नबाट मात्र यो सम्भव हुन्छ ।

आरम्भ

मानिसले जीवनकाल र भौतिक जीवनको समाप्तिपछि गरी दुई किसिमका संस्कार अवलम्बन गरेको हुन्छ । मानिस गर्भमा रहेको समयदेखि चौरासीसम्म जीवनकालमा गरिने संस्कार हुन् भने मृत्युपछि गरिने अन्त्येष्टि, किरियाकर्म र त्यसपछि नियमित गरिने श्राद्ध कर्मका रूपमा यी अभिव्यक्त हुने गरेका छन् । संस्कृति–संस्कारलाई जीवनको उल्लास र वियोगका रूपमा मनाउने चलन अस्वाभाविक होइन तर जीवनकाल र मृत्युपछिका कर्महरू अन्धविश्वासमा अडिएका पाप र धर्मलाई, स्वर्ग र नर्कलाई केन्द्रमा राखेर गर्ने प्रचलनले संस्कृति–संस्कारलाई बिटुल्याएको छ, भ्रष्टीकरण गरेको छ । त्यसैले रूढि र अन्धविश्वासमा टिकेका संस्कृति–संस्कारलाई धर्माधर्म, पापमोक्ष र स्वर्गनर्कका जाल र प्रपञ्चहरूबाट मुक्त गर्नासाथ यी रूढि, अन्धविश्वास र परम्पराबाट धेरै हदसम्म मुक्त हुन्छन् । भौतिकवादको विकास नहुँदै प्राचीन चेतनाले तत्कालीन समयको नियमकानुनका रूपमा निर्माण गरेका धर्म, संस्कृति र संस्कार आज बासी मात्र होइन, बोझ भइसकेका छन्, यिनको सचेततापूर्वक विकल्प निर्माण गर्नुपर्छ, जो वैज्ञानिक र जनवादी÷जनपक्षीय संस्कार–संस्कृति हुनुपर्छ । यो ढिला भइसकेको छ ।

सन्दर्भ र साक्ष्य

म जन्मिएको र हुर्किएको समाज सामन्तवादी समाज हो । मैले जीविकोपार्जनका लागि पत्रकारिता पेसा अवलम्बन गरेको समाज पुँजीवादपरस्त। मेरो चेतना सामन्तवादी संस्कार र त्यसका विरुद्धको सङ्घर्षका क्रममा विकास भयो । मेरा जिजुबाजेहरूले पूरै सामन्तवादी संस्कार र संस्कृतिमा जीवन व्यतित गर्नुभयो भने मेरा बाबा हितप्रसाद उपाध्याय सामन्तवादी समाजमा जन्मेर–हुर्केर पनि जवानी भने पुँजीवादी समाज स्थापना हुँदै गरेको भारतको कोलकातामा त्यतिबेलाको राणा शासनविरुद्ध विद्रोह गरिरहेका सुवर्णशमशेर राणा, बीपी कोइराला र गणेशमान सिंहहरूसँग सहकार्य गर्दै र राणाशासनविरुद्ध रक्षा दलमा लागेर लड्दै बित्यो । त्यसैले मेरो परिवारमा यी दुवै संस्कृतिको प्रभाव प¥यो । सामाजिक–सांस्कृतिक रूपान्तरणमा पूरै हेलिएको परिवार भएकाले हाम्रो परिवारमा नियमित दसैँ, तिहारजस्ता परम्परागत पर्व र श्राद्धबाहेक रुद्री, सप्ताह, पूजा, शङ्खघण्ट, धामीझाँक्री लगाइएनन् ।

आमा जूनमाया सुवेदीले हामी बिरामी पर्दा धामी खोज्न र जोखाना हेराउनतिरभन्दा टाढै भए पनि डोकोमा बोकेर अस्पताल लैजानुभयो । त्यसैले गाउँमा कसैको घरमा धामी बस्यो भने अनौठो मानेर हेरिन्थ्यो । युवा उमेर राजनीति र साहित्यको सेवामा खर्चिनुभएका बाबा प्रायः जीवनको उत्तराद्र्धसम्म पनि सिर्जना र सामाजिक कार्यमै व्यस्त हुनुभयो । राष्ट्रियता र समाज रूपान्तरणका पक्षमा सिर्जित पुस्तकहरूले घरका तख्ताहरू भरिएका हुन्थे । निरङ्कुश राणा शासनविरुद्ध भारतीय भूमिमा निर्वासित नेपाली साहित्यकारहरूले प्रकाशन गरेका निबन्ध र अन्य साहित्यहरूका बारेमा घरमा चर्चा हुन्थ्यो । तिनै पुस्तक पढ्न र बाबासँग ज्ञानगुनका कुरा सिक्न आउने मानिसका कारण कहिल्यै घर खाली भएन । तत्कालीन समाजका बौद्धिकहरूसँगको सङ्गतका कारण बालमस्तिष्कमै परम्परावादले भन्दा आधुनिकताले घर गरेको हुनुपर्छ मेरो मनमा । त्यसैले समकालीनहरूभन्दा आफू केही पृथक् रहेछु कि जस्तो लाग्छ आज आएर अतीततिर फर्केर हेर्दा । म परम्परावादी नबनेर अलि फरक हुनुमा मेरा बाबाआमाको सङ्गत, उहाँहरूले घरमा जम्मा पारेका पुस्तक, सामन्तका शोषणमूलक गतिविधिविरुद्ध गाउँको एउटा चेतनशील वर्ग (तत्कालीन सापेक्षतामा) ले गर्ने राजनीतिक गतिविधि र समाजमा चलेको वर्गसङ्घर्षको प्रभाव हुनुपर्छ । सामन्त र तिनका अह्रोट मान्नेहरूसँग परिवारका सदस्यले गरेको सङ्घर्ष आफ्नै आँखाले देखेको र भोगेको हुनाले पनि भाग्यवादतिरभन्दा कर्मवादतिर बढी डोहोरिएँ कि म आफू भन्ने पनि लाग्छ ।

उठान

प्रायः हरेक समाज र समुदायमा तीन किसिमका संस्कार र संस्कृति प्रचलनमा रहेको पाइन्छ :(१) प्रतिक्रियावादी वा घोर पुरातन संस्कार–संस्कृति (२) संशोधनवादी/अवसरवादी वा द्वैधवादी संस्कार–संस्कृति (३) क्रान्तिकारी, जनवादी संस्कार–संस्कृति ।

पहिलो किसिमको संस्कार–संस्कृति पुरातनपन्थीहरूले अवलम्बन गरिरहेका हुन्छन् । उनीहरूमध्ये केही शासक वर्गसँग सामीप्य रहेका, असचेत, अपठित, पुस्तकीय ज्ञान भएर पनि विज्ञानलाई अस्वीकार गर्नेहरू हुन्छन् । उनीहरूमध्ये कतिपयलाई रूढिवाद, परम्परा र पुरातनका सम्बन्धमा ज्ञान हुँदैन । उनीहरू कुनै पनि विषयमा के, किन र कसरी भन्ने प्रश्न गर्दैनन् भने कतिपय आफूलाई आधुनिक भन्न रुचाउँछन् तर संस्कार–संस्कृतिमा परम्परागतपनलाई बदल्नु अपराध वा पापकर्म ठान्छन् । यस विचारका कतिपयले त देखासिकी र प्रतिस्पर्धाका लागि पनि परम्परावादी संस्कार–संस्कृति अँगालिरहेका हुन्छन् । उदाहरणका रूपमा हिन्दु संस्कार–संस्कृतिको एउटा परम्परागत पर्व तीजलाई नै लिऊँ। यस विचारका पक्षपातीहरू कतिपय अझसम्म तीजमा व्रत बस्दा भनेजस्तो वर प्राप्त हुने, पतिको आयु बढ्नेमा विश्वस्त छन् भने कतिपय व्रत बस्दा पतिको आयु थपिन्छ भन्ने नलाग्दानलाग्दै पनि रमाउने अवसर हो भनेर महिना दिनदेखि दर र भोजमा मस्त हुन्छन् । यिनीहरू अर्थात् पुरातनवादीहरू जन्मदिन, न्वारान, भातख्वाइ, व्रतबन्ध, विवाह र मृत्यु संस्कारसम्मका कर्महरू यसैगरी मनाउँछन् ।

जन्मदिनमा केक काट्नु, मैनबत्ती बालेर निभाउनु, फागु खेल्दा अबिर–टीका नभएर मोबिल र खराब रङ दल्नु, कुनै चाडपर्वको बहानामा मदिरामत्त हुनु र जुवातासमा लम्पट हुनु, पश्चिमा संस्कृतिबाट अति प्रभावित भएर उताका नयाँ वर्ष, भ्यालेन्टाइन डे, क्रिसमस र फ्रेन्डसिप डेमा लट्ठिनु, उपभोक्तावाद, उत्तरआधुनिकतावाद र विस्तारवाद प्रभावित संस्कार–संस्कृतिमा निर्लिप्त हुनु यस किसिमका समुदायको अर्थात् प्रतिक्रियावादीहरूको विशेषता हो । समग्र समाजलाई विकृति–विसङ्गतिमा होम्ने यस किसिमको वर्गमाथि भने सुध्रिने चेतना र समय दिएर क्रमशः आवश्यकताअनुसार बल प्रयोग गर्नु आवश्यक देखिन्छ ।

दोस्रो किसिमको समुदाय चरम अवसरवादी, ढोंगी र पाखण्डी हुन्छ । उनीहरू परम्परागत र रूढिवादी संस्कार–संस्कृतिलाई केही तोडमोड गरेर वा उस्तै गरे पनि आफ्नै किसिमका काइते तर्क गरेर अपनाउने गर्छन् । जस्तै : जनै लगाउनका लागि उनीहरू यस्तो बहाना गर्छन् : धर्म हुन्छ भनेर त होइन, सर्पले टोक्यो भने टोकेको ठाउँमा बाँध्न हुन्छ भनेर लगाएको, ढाड कन्याउन सजिलो हुन्छ भनेर लगाएको । खाना खानुअघि औसनी (औरसन ?) हाल्नेहरूको तर्क

हुन्छ : झिँगा सीधै भागमा नबसोस् भनेर । यिनीहरू परम्परागत, अवैज्ञानिक संस्कार–संस्कृति बदल्न सचेततापूर्वक लाग्दैनन् र लाग्नेहरूलाई पनि ताक वा अवसर छोपेर खिसीट्युरी गर्ने, होच्याउने वा बदनाम गर्ने गर्छन् । सङ्क्षिप्तमा भन्दा यिनीहरू बोलीले एउटा तर व्यवहारले अर्को संस्कार–संस्कृति अपनाउँछन् ।

तेस्रो किसिमको समुदाय सचेत, द्वन्द्ववादी वा मालेमावादी समुदाय हो । यो समुदाय सचेततापूर्वक आफू पनि परम्परागत संस्कार–संस्कृतिमा बाँधिँदैन, भुल्दैन र अरूलाई पनि सचेत र रूपान्तरित गराउँछ । यो वर्गले आन्दोलनकै रूपमा जीवनजगत् बदल्ने कुरा गर्छ र आफूसँगै समाजलाई पनि यस दिशामा होम्ने प्रयत्न गर्छ ।

यो समुदायले न्वारान, भातख्वाइ, व्रतबन्ध, अन्तिम संस्कारजस्ता रूढिवादी संस्कारहरू अस्वीकार गर्छ र कारणसहित यसको विकल्पका रूपमा जन्म र उत्सवमा खुसीयाली तथा अन्तिम संस्कारमा सभा, गोष्ठी, प्रकाशन र संस्थागत कदमहरू अघि बढाएर मृतकको सम्झना र सम्मान गर्छ ।

जीवन अनुभूतिका केही कुरा

म यो पुस्तकको सम्पादकीय/प्रकाशकीय लेखिरहेको छु । यो पुस्तकको प्रकाशनसम्म आइपुग्दा र विशेषगरी ममतामयी आमाको निधनपछि मैले परम्परागत शैलीको किरियाकर्म नगरेकोमा समाजको एउटा पुरातन पक्षले कथित ‘बाहेक’ गर्ने घोषणा गरेपछि मैले आफ्नो आस्थालाई छलफल र बहसमा लैजाने निर्णय गरेँ । फलस्वरूप काठमाडौँ आर्यघाट, महांकालदेखि रामेछाप सिर्जनानगर, खाँदबारी, मन्थली र काठमाडौँको संवाद डबलीसम्म बहसहरू आयोजना गरियो । ती सबै कार्यक्रम म आफैँले सञ्चालन गरेँ । मञ्चबाटै र लेख, संस्मरण, कविता र कथाबाट पनि आफ्नो आस्था र आदर्श अभिव्यक्त गरेँ तर ती मेरा अनुभूति भएकाले यस पुस्तकमा बेग्लै लेखका रूपमा समावेश छैनन् । मैले गरेको कर्म र मैले सुरु गरेको अभियान नै मेरो अभिव्यक्ति वा आदर्श हो । यहाँ मैले आफ्नै आस्था र अनुभवसँग गाँसिएका केही कुरा राख्ने अनुमति मागेँ ।

म सानैदेखि विद्रोही थिएँ । कसैको जन्त जाँदा वा गाउँमा बरियाँत आउँदा भतेर खाने मानिसहरू कोही माथि र कोही तल बसेर खाएको मनै पर्दैनथ्यो । अझ बेहुलाबेहुली बोक्ने डोले, कल्स्यौली अनि बाजा बजाएर र नाचेर विवाह कार्यक्रम रमाइलो पारिदिने दमाईहरूलाई अलग्गै राखेर दोबाटामा मन्छेजस्तो छोइएला कि जस्तो गरेर खाना दिएको सहनै सक्तैनथेँ । घरमा पनि कोही भान्छामा, कोही चौकामा र कोही मझेरीमा बसेर खाएको चित्त बुझ्दैनथ्यो ।

कुनै दिनसम्म सबै साथीभाइ बराबरी, सबै जात बराबरी, सबैको खाजा सबैलाई चल्ने तर एउटा जनैको डोरो लगाउनासाथ साथीहरूबीच बिछोड ! जात र धर्मले मानिसलाई छुट्ट्याइहाल्थ्यो व्रतबन्ध नामको परम्परावादी कर्मले । मङ्सिरमा धानको गह्रौँ भारी बोकेर घरमा आएका श्रमिक÷लाठेहरू भुइँमा बसेर खाएको देख्दा सँगै बसेर खाऊँखाऊँजस्तो लाग्थ्यो । बिहे नभएका छोरीचेली, व्रतबन्ध नगरेका छोरा, पर सरेकी वा सुत्केरी महिला, समाजको कथित उच्च जातले तल्लो जात भनेर किटान गरिदिएकाहरू कसैले पनि एउटै भान्छामा बसेर खान नहुने ! पानी लिन दालिङ्गे खोला वा टेकनपुर पुग्दा सार्की, दमाई, कामी र बाहुनक्षत्रीका लागि पँधेरा नै भिन्नाभिन्नै । दसैँमा नयाँ कपडा सिलाइदिने दमाई काका र दाइहरू बाहिरै बसेर काम गर्नुपर्ने । घरका ओदान र फाली अर्जापिदिने कामी दाइहरू कहिल्यै घरमा पस्न नपाउने । मेहनत गरीगरी जुत्ता सिलाइदिने र खेतबारीमा श्रम पोखिदिने सार्की दाइदिदीहरूलाई अछूत भन्नुपर्ने, डोली बोक्नेदेखि घरधन्दासम्म भ्याइदिने भुजेल समुदायका दाजुभाइ र दिदीबहिनीले चुलो त के चौकोसम्म पनि टेक्नु नहुने । यस्तो चलन देख्दा मेरो मनले कहिल्यै चित्त बुझाउन सकेन ।

एक दिन घरकै दाजु र गाउँका दाजुको उमेरसरहका भतिजहरूको सामूहिक व्रतबन्ध भयो । मैले मलाई पनि जनै लगाइदिनुस् भनेर बाबासँग कर गरेँ । उमेर सानै भएकाले हो वा किन हो उहाँले मान्नुभएन । मझुवा फुपूका छोरा बद्री भान्दाइको बिहे त्यही दिन चिसापानीका लागि हाम्रै घरबाट अन्माइयो । उता जनै लगाउन नपाएको रिस, यता जन्त जान नपाएको झोक । मेरा बाबाकी बहिनी बडोदिदीलाई जनै लगाइदिन अनुरोध गरेँ, मान्नुभएन । ठूलोबाका माइलो छोरा होमप्रसाद दाजुलाई भनेँ, उहाँले पनि मान्नुभएन । आफैँ जनै खोजेँ र बडोदिदीलाई मन्त्र सिकाइदिनू भनेँ, नसिकाएसम्म झगडा गरिरहेँ । उहाँले केही सिकाइदिनुभयो र जनै लगाइदिनुभयो । अलि पछि थाहा भयो– त्यो त शिखा काटेको जनै पो रहेछ । उहाँले सिकाइदिएको मन्त्र महिलाले जप्ने गरेको गायत्री मन्त्र रहेछ । करिब ६ वर्षको उमेरदेखि मैले आफैँले व्रतबन्ध गरेर जनै लगाउन थालेँ । चुलोमा बस्न दिँदैनथे, म चुलो र मझेरीबीचको चौकामा बसेर खान्थेँ । औसनी हाल्थेँ । झन्डै १० वर्षको उमेरसम्म मैले त्यसैगरी बिताएँ । समाजमा सबैले मलाई अनौठो मानिसका रूपमा लिन्थे । कतिपयले मेरा बाबाको नाउँ लिँदै काजीबाउजस्तै घोरुन्डो र घमन्डी भन्थे । किनकि समाजका सामान्य चेतना भएका मानिसभन्दा मेरा बाबा अलि पृथक् हुनुहुन्थ्यो । तत्कालीन समाजका विद्रोहीहरूसँग लामै सङ्गत गरिसकेकाले ससाना रूढिवादी र परम्परावादी कुरामा उहाँ अल्झिनुहुन्नथ्यो । चेतनास्तर नमिल्दा मानिसहरू उहाँलाई अर्घेलो देख्थे । समाजका सामान्य किसानहरूले देउताझैँ मानेका जिम्मल (जिम्मावाल) र साहूहरूसँग उहाँ हिम्मत गरेर कानुनी लडाइँ लडिरहनुभएको थियो– किसानको हकहितका लागि । विपन्न परिवारका बुढाथोकी कान्छाबा, जसको नाउँ समाजमा कसैलाई मतलब भएन, घरमा बाबासँग चिया–तमाखु खान र अर्ती–ज्ञान सिक्न आउँदा भनेको सम्झिन्छु– ‘यो विद्रोही छ, केही नयाँ गर्छ ।’ नभन्दै मलाई केही नयाँ गर्ने हुटहुटी जागिराख्यो । आफूखुसी व्रतबन्ध त्यसको आरम्भ थियो ।

विद्यालय जान थालेपछि हाम्रो घरमा सधैँ दसैँ र चाडबाडमा आएर पनि बाहिर दलानमै बसेर काम गर्ने र काम गर्दागर्दै पनि कपाल कन्याँउदै हिँड्ने बेलामा केही माग्ने चलन बसिसकेका टेकनपुर काले काकाका माइलो छोरा (सबैले उहाँलाई कैले भन्थे) सँग मित लगाएँ । त्यसपछि पढ्न गएको बेलामा मितिनी आमाले सफा गरेर दिएको खानेकुरा पनि खान थालेँ । गाउँबाट सँगै पढ्न जाने साथीहरूले पनि मलाई दमाईको मित, दमाईको घरमा खाना खाने मान्छे भनेर हेला गर्न थाले तर उनीहरूको भनाइले मलाई खासै फरक पारेन ।
देउरालीमा बर्सेनि लैना भैँसी मर्थे । देउराली दिदी बर्सेनि धामीझाँक्री लगाउनुहुन्थ्यो । तर पनि उस्तै । यो धामीले पनि केही गर्न सक्तोरहेनछ भन्ने मलाई लाग्न थाल्यो । एकपटक छाँगे नेत्र–रामहरि दाइकी आमाको ढुङ्ग्री हराएछ टेकनपुर धारापानी हो वा सार्कीपँधेरोमा पानी लिन जाँदा। टेकनपुरकै धामी टोक्ने नेवार (माफ गर्नुहोला मलाई उहाँको सक्कली नाम थाहा छैन) लाई जोखाना देखाइएछ । उनले बासेको भाले हात पारेपछि भनेछन्– धारामा जाँदा हराएको भए बाटामुनि खसेको छ, आउँदा हराएको भए बाटामाथि खसेको छ । कसैले भेटेको भए दिऊँदिऊँ लागेको हुनसक्छ । एक सातासम्म पनि भेटिएन भने अर्को भाले मन्छिनुपर्छ…। धामीको यो भनाइ सुनेपछि मेरो बालमनमा धामीको जोखानाप्रति धेरै शङ्का उब्जियो ।

पल्लाघरमा तिलहरी हराएकोमा जोखाना हेर्न आएका ताप्केका धामी पनि सग्ला चामल खुवाएर चिन्ता बसे । आखिर सबैले चामल खाए, कसैलाई केही भएन । धामीले शङ्का गरेको मानिससँग पनि फेला परेन । पछि मलको भकारोमा हो कि कता हो, अन्तै फेलाप¥यो । यो घटनाले मलाई धामीझाँक्रीप्रति झनै वितृष्णा जगाइदियो ।

हामी नजन्मीकनको कुरा हो रे, पछि आमा सुनाउनुहुन्थ्यो– पेट दुखेर साह्रै भएर फत्र्याकफत्र्याक परेको समयमा तिनै ताप्केका धामी र उनका साथी (धुपौरे !) बनेका काफ्ले रामु दाइ, पल्लाघर वासु दाइहरूबीच भण्डारको कुनाको खटप्वालभित्र र बाहिर दाहोरो संवाद हुँदा ‘भेद’ निकाल्दा देखाइने हरियो दुबो र त्यसमा बाँधिएको जनै कसले कहाँ लुकाउने भन्ने छलफल आमाले सुन्नुभएछ । बाबा त धामीझाँक्रीमा कहिल्यै विश्वास नगर्ने । धामीहरूले खोरको गतिलो बोको दाबी गरेपछि बाबा र धामीका बीच भनाभन नै परेछ । त्यसपछि आमाले पनि कहिल्यै धामीझाँक्रीमा विश्वास गर्नुभएन । हामी बिरामी पर्दा पनि सधैँ चिसापनी र रामेछापडाँडामा रहेका अस्पताल पु¥याउनुभयो डोकोमा बोकेर । बाबाआमालाई नै विश्वास नभएपछि हाम्रो घरमा कहिल्यै धामी बसेन । कहिल्यै पूजा लागेन । देउताको फोटो राखेर कहिल्यै शङ्खघण्ट बजाएको हामीले सुनेनौँ । पल्लाघर ठूलोबाको घरमा चिन्ता बस्न आएको काम्दाकाम्दैको धामीको ढ्याङ्ग्रो खोसेर दाइहरूले भगाएपछि र सुत्केरी अवस्थामै निधन भएकी ढाँडचौर माइली भाउजूको अन्त्येष्टिका क्रममा उहाँको शव बोकेर घाटमा लगेको घारो ल्याएर दाइहरूले बारीको पाटो, गोठको तगारो हाल्दै अन्तिममा दाउरा बनाएर अँगेनोमा बाल्दासमेत नतर्साएपछि मनभित्र भएको भूत, प्रेत, तर्साउनेहरूप्रतिको अन्धविश्वास पनि क्रमशः हराउँदै गयो ।

अलि जान्ने भएपछि रक्तिम परिवारकी कलाकार जुना परियारलाई अर्घाखाँचीदेखि रामेछाप घरमा लगियो राजनीति गर्न र सङ्गठन बनाउन । पहिला उनको थर ‘थापा’ भनियो । उनी नृत्य, गीत र विचार सिकाउँदासिकाउँदै गाउँका सबै नानीबाबुकी आँखाकी नानी बनिन् । सबैको घर र भान्छामा पुगिन् । पछि उनी फर्किइन् । उनको नाममा जुना परियार भनेर चिठी आएपछि परियार भनेको के हो भन्ने हल्लीखल्ली भयो । परियार भनेको समाजले दलित भन्ने गरेको दमाई हो भन्ने भएपछि हाम्रो परिवारलाई नै समाजले काढ्ने घोषणा ग¥यो । तर उनी सबै घरको चोटाकोठामा पुगेकी हुनाले काढिने भए सबै काढिनुपर्छ भन्ने तर्क उठेपछि बिस्तारै त्यो घटना सामसुम भयो ।

हाम्रो गाउँका अधिकांशको घर बनाउने, खेतबारी जोतिदिने, हाम्रा गोडा जोगाउन जुत्ता सिइदिने टेकनपुरका सार्की दाइहरूलाई अछूत भनेर हेला गरेको मन नपरेपछि मैले घोषणा गरेरै चतुरे दाइको घरमा गएर खाना खाइदिएँ र आफूले लगाइराखेको जनै फुकालेर समाजको अघिल्तिर फालिदिएँ । केही समय समाजले कुरा काट्यो तर पछि त्यत्तिकै फासफुस भयो ।

सानैदेखि लागिराख्थ्यो– मानिस किन सनो र ठूलो अनि गरिब र धनी भएको होला ? खेतबारीमा काम गर्नेहरूको घरमा कहिल्यै मीठोमसिनो नपाक्ने तर खेतमै नटेक्ने भन्ज्याङका जिम्मल र भँगेरीका साहूका घरमा भने जहिले पनि मीठोमसिनो पाक्ने ! वर्षभरि खेत र बारीमा पसिना चुहाएर काम गर्दा पनि चामलको भात खान कि दसैँ नै कुर्नुपर्ने कि त कसैको घरमा श्राद्ध वा देवाली नै पर्नुपर्ने ! उल्टै आफूले लगाएको खेतको बाली जिम्मल र साहूका लाठेहरू आएर खोसेर लगिदिने । हामीले देवीथानमा परेवा र पाठी भाकल गरीगरी पूजा गर्ने ठाउँमा, देवाली गर्ने ठाउँमा वा ‘वायु’ राख्ने कोठामा देउता वा वायु भए त हाम्रो खेतमा आएर धान लुट्नेहरूलाई त्यहीँ ठहरै पार्नुपर्ने नि ? मनमा यस्ता कुरा खेलिरहन्थे ।

राम्ररी किशोरावस्था सुरु नहुँदै बाबा बित्नुभयो । बाबा बितेपछि सामन्तहरूले भएको खेत पनि खाइदिए । अड्डाअदालत सबै साहूकै भए । घरबाहिर मात्र नभएर घरभित्रै पनि साहू लागेपछि आमाले हामी चारजना (दुई भाइ, दुई बहिनी) बोक्दै र डोहो¥याउँदै तराई लिएर जानुभयो । हामीलाई लखेट्ने र दुःख दिनेहरू अनि हाम्रोसमेत सम्पत्ति खोसेर खानेहरू झन्झन् धनी भए । हामी झन्झन् गरिब हुँदै गयौँ । अर्काको बनीबुतो गरेर पनि जीविकोपार्जन ग¥यौँ तर ‘भगवान्’ ले कहिल्यै पनि हामीलाई हेरेन । हाम्रो दुःख देखेर कहिल्यै पनि जादुमन्तर गरेर भकारीमा अन्नपात भरिदिएन । यस्तो देखेपछि कथित भगवान्प्रति पनि कहिल्यै विश्वास पलाएन । ‘भगवान्’ भन्दै र ‘वर’ माग्दै मानिसहरू मन्दिरमा गएर मूर्ति पूजा गरेको देख्दा अनौठो र उदेक लग्थ्यो, आजसम्म लागिरहन्छ । नढाँटी भन्छु– असचेत अवस्थामा केके भयो, थाहा छैन । अलि सचेत भएपछि कुनै पनि मठमन्दिरमा गएर मैले पूजाआजा गरेको छैन । देवीदेउता भाकेको छैन । मूर्तिहरूलाई ढोगेको छैन । यसरी मेरो मनमा परम्परा र अन्धविश्वासप्रति विद्रोही चेतना विकास हुँदै गयो ।

परम्परावादी संस्कृतिको विकल्पका सम्बन्धमा

बाल्यकालमा हाम्री ममतामयी आमा जूनमाया सुवेदीले हामीलाई ठूलो सङ्घर्ष गरेर पाल्नुभयो, हुर्काउनुभयो । स्कुल–कलेज पढाएर शिक्षित पार्नुभयो । हामीले परम्परागत संस्कार–संस्कृतिमा परिवर्तन चाहेको र त्यसका लागि जोखिम मोलेर राजनीतिक–सांस्कृतिक आन्दोलनमा हिँडेकोमा आमाले कहिल्यै विरोध गर्नुभएन । बाबाको पालादेखि नै राजनीतिक संस्कार पाएकी आमाले आन्दोलन र युद्धमा हिँड्न हामीलाई मात्र सहयोग गर्नुभएन, घर–कोठामा आउने नेता, सहयोद्धाहरूलाई पनि पर्याप्त वर्गीय माया बाँड्नुभयो । फलस्वरूप नजिकबाट चिन्ने र बुझ्ने कसैले पनि उहाँलाई रूढिवादको पक्षपातीका रूपमा पाएनन् र लिएनन् पनि । आफैँ महिला भएकाले सामन्ती र पुँजीवादी समाजमा महिलाहरूमाथि हुने गरेका सबैखाले विभेदपूर्ण व्यवहार देखेकी र खपेकी आमाले समाजका कुनै पनि महिलालाई पुरुषवादका पक्षमा पक्षपोषण गर्न दिनुभएन । परम्परावादी गन्ध आउने कुनै पनि चाडपर्व र रीतिस्थितिका पक्षमा बुहारीचेलीलाई प्रोत्साहन गर्नुभएन ।

२०७० साल ैत ४ गते मङ्गलबार राति करिब १० ममतामयी आमाको उपचारकै क्रममा निधन भयो । दुःखसुख सबै देखेकी, भोगेकी हाम्री आमाले हामीलाई कहिल्यै अन्धविश्वासका लागि प्रोत्साहित गर्नुभएन । आमा आफैँ पनि कहिल्यै परम्परागत संस्कार–संस्कृतिप्रति निर्लिप्त हुनुभएन । बाबाको निधनपछि करिब ३० वर्ष उहाँले विभिन्न किसिमका शारीरिक–मानसिक–सामाजिक रोगहरूसँग सङ्घर्ष गर्नुभयो । समाज सुधारक चेतना भएकी आमाले अभिनय, नृत्य र गायनबाट पनि अन्धविश्वास र शोषणदमनको विरोध गर्नुभयो । जीवनको उत्तराद्र्धमा आएर उहाँ न्यायका लागि आफ्नै पाखण्डी र छद्मभेषी सन्तानसँग लड्नुभयो । आफ्ना पतिले जीवनभर सङ्घर्ष गरेको देखेकी र भोगेकी हाम्री आमाले सन्तानको आफूप्रतिको र आफ्नो सन्तानप्रतिको मायाममता पनि वर्गसापेक्ष हुन्छ भन्ने बोध गर्नुभयो । उहाँ बारम्बार हामीलाई भन्नुहुन्थ्यो– मेरो निधनपछि कष्ट गरेर किरिया गर्नु पर्दैन, दुनियाँका सामुन्ने नाङ्गोमुडुलो बनेर कहर काट्नु पर्दैन । आमाले यो हामी सबै सन्तानका लागि नभएर विशेषगरी मेरा लागि भन्नुभएको थियो किनकि चिन्ता र अनेक किसिमका रोगका कारण पटकपटक मृत्युको मुखमा पुगेकी आमालाई मैले व्यक्तिगत स्वार्थ त्यागेर गरेको सेवा र उपचारका बारेमा भलिभाँती थाहा थियो । बाँच्दैमा धेरै जोखिम मोलेको र त्याग गरेको कारण नै आमाले मलाई त्यस्तो ढाडस दिनुभएको थियो । फेरि मैले रोजेको ऐतिहासिक भौतिकवादी बाटोका बारेमा आमालाई ज्ञान थियो । मैले बाबाका योगदानहरूलाई स्थापित गर्न सर्वस्व त्यागेर गरेका कामहरूका बारेमा पनि आमालाई पर्याप्त ज्ञान थियो । उहाँ आफैँ पनि मेरो अभियानमा सामेल हुनुहुन्थ्यो । यसो भन्दा मलाई अहङ्कार होइन, गर्वबोध हुन्छ । त्यसैले उहाँको इच्छासमेत पूरा गर्दै आफ्नो आस्था र आदर्श जोगाउँदै मैले आमाको निधनपछि परम्परागत किरियाकर्म गरिनँ । म बाँचेको परम्परावादी समाजको एउटा तप्काले यस विषयलाई ठूलो आपत्तिका रूपमा लियो र मलाई बाहेक गर्नेसम्मका हर्कत ग¥यो । दुई बहिनी, दिदी, भाइ, पार्टी–सङ्गठनको नेतृत्वले रक्षा गरेका कारण नै म त्यो परम्परावादी पाखण्डका विरुद्ध डटेर लड्न सकेँ ।

परम्परावादी ढङ्गले आमाको किरियाकर्म नगरे पनि मैले शोक–समवेदना व्यक्त गर्न आएका आफन्तजनको स्वागत गरेँ । किरियामा बसेका दाजुभाइलाई कुनै दुःख नदिई सम्पूर्ण खर्च आफैँले गरेर उतारेँ । धर्म होला भनेर होइन, कर्तव्य सम्झिएर गरेँ मैले त्यो । आमाको निधनको १२ दिन परम्परागत तरिकाले दाजु र भाइ किरिया बसेको काठमाडौँको महांकालस्थित धर्मशालामा आफन्तहरू निम्ता गरेँ र बाह्रौँको परम्परागत कर्म सकिनासाथ पार्टी र सांस्कृतिक आन्दोलनको नेतृत्वको साथमा श्रद्धाञ्जलीसभा आयोजना गरेँ । माओवादी पोलिटब्युरो सदस्य कमरेड नारायण शर्मा ‘कमलप्रसाद’ को प्रमुख आतिथ्यमा सम्पन्न श्रद्धाञ्जलीसभा तथा गोष्ठीमा माओवादी केन्द्रीय सदस्य चन्द्रहरि सुवेदी ‘अटल’, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, प्रगतिवादी साहित्यकार एवम् समालोचक डा. रामप्रसाद ज्ञवाली, माओवादी काठमाडौँका नेता नेत्र कार्की, स्थानीय बुद्धिजीवी बल्धप कार्की, ज्ञानमाला महिला समूहकी अध्यक्ष राधा खतिवडा, भिनाजु ध्रुव कोइराला, दिदी उर्मिला, बहिनीहरू मीरा–इन्दिरालगायतले आमाका योगदानहरूको चर्चा गर्दै नयाँ संस्कृति निर्माणका लागि आरम्भ भएको अभियानमा बल पुग्ने गरी मन्तव्य व्यक्त गर्नुभयो ।

आमाको निधनको २८ औँ र २९ औँ दिनमा जन्मस्थल रामेछाप सिर्जनानगर (सानीमदौ), खाँदबारी र मन्थलीमा आमाबाबाको स्मृतिसभा र श्रद्धाञ्जलीसभाका साथमा परम्परागत संस्कार–संस्कृतिको विकल्पको खोजी विषयमा महासङ्घ अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीद्वारा लिखित यससम्बन्धी अवधारणापत्र÷कार्यपत्र मुलुकका विभिन्न भागका बौद्धिक नेतृत्व र जिल्लाका बौद्धिक व्यक्तित्वहरू भेला पारेर अन्तरक्रिया सम्पन्न गरेँ । रामेछापमा नेकपा–माओवादीका पोलिटब्युरो सदस्य एवम् सांस्कृतिक–शैक्षिक विभागका इन्चार्ज कमरेड नारायण शर्मा ‘कमलप्रसाद’ को प्रमुख आतिथ्य र माओवादी केन्द्रीय सदस्यसमेत रहेका प्रगतिवादी लेखकहरू सरला रेग्मी, अनिल शर्मा ‘विरही’, प्रलेस उपाध्यक्ष शशिधर भण्डारी, वामपन्थी संस्कृतिकर्मी एवम् अन्वेषक डी.आर. पोखरेल, प्रगतिवादी नाटककार खेम थपलिया, एमाले जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य विष्णुप्रसाद चौलागाईं, हायूजातिका विशेषज्ञ प्रवीण हायू, माओवादी जिल्ला नेता गणेश खड्की ‘गगन’, प्रलेस रामेछापका उपाध्यक्ष साहित्यकार माधव सयपत्री, बुद्धिजीवी तारानिधि सुवेदी, झम्क कँडेललगायत व्यक्तित्वले अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीको अवधारणापत्र÷कार्यपत्रमाथि आधारित रहेर उपरोक्त विषयमा गम्भीर मन्तव्य व्यक्त गर्नुभयो ।

त्यसको लगत्तै काठमाडौँमा सोही विषय र कार्यपत्रमाथि नेकपा–माओवादीका अध्यक्ष एवम् वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘चैतन्य’, प्रलेस अध्यक्ष अमर गिरी, भक्तबहादुर प्रतिष्ठानका सदस्य प्राडा नन्दीश अधिकारी, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्राडा जगदीशचन्द्र भण्डारी, शिक्षाविद् रामप्रसाद दाहाल, लेखक एवम् साहित्यकार मधुसूदन पाण्डेय, खेम थपलिया, कवि पुण्य गौतम ‘विश्वास’ लगायतले गम्भीर छलफल गर्दै परम्परागत रूढिवादी संस्कार–संस्कृतिका विरुद्ध नयाँ, वैज्ञानिक र जनवादी संस्कार–संस्कृति निर्माणमा यस अभियानले ठूलो टेवा पु¥याउने मन्तव्य व्यक्त गर्नुभयो ।…

सांस्कृतिक रूपान्तरणको अभियानका क्रममा महांकालदेखि मन्थली सिर्जनानगर, खाँदबारी, मन्थली भन्ज्याङ हुँदै काठमाडौँको संवाद डबलीसम्म र चन्द्रागिरिदेखि भट्टेडाँडासम्म करिब तीन सय स्रष्टा र संस्कृतिकर्मीले कविता, गीत र अनुभूतिबाट प्रत्यक्ष रूपमा सहभागिता र ऐक्यबद्धता व्यक्त गर्नुभयो । उहाँहरूले दिएको साथसहयोग र ढाडसकै कारण मलाई यो अभियान सञ्चालन गर्ने प्रेरणा, हौसला र शक्ति प्राप्त भएको हो । उहाँहरूले मेरो अभियानका बारेमा बोलेर, लेखेर, प्रकाशन–प्रसारण गरेर र प्रत्यक्ष भेटेरै धन्यवाद दिनुभएको छ । समवेदना र श्रद्धाञ्जली व्यक्त गर्न काठमाडौँदेखि रामेछापसम्मका अभियानमा सहभागी करिब एक हजार कमरेड, मित्र र आफन्तहरूले शोकलाई शक्तिमा बदल्न, अभियान निरन्तर जारी राख्न र यो पुस्तक प्रकाशन गर्न हौसला दिनुभएको छ । सबै ठाउँका कार्यक्रम÷अभियानमा सहभागी भएर अमूल्य मत राखिदिने र सिर्जना वाचन गरिदिने सबैलाई म हार्दिक धन्यवाद प्रकट गर्छु ।… मेरो चेतनाले मलाई विद्रोही र अभियन्ता बनायो । यो अभियानमा साथ दिने सबै कमरेड, मित्र, आफन्त र शुभचिन्तकहरूलाई हृदयैदेखि धन्यवाद दिँदै परम्परागत संस्कार–संस्कृतिको विकल्प बहस निरन्तर जारी र।हेको जानकारी गराउँछु । यसले पुरातन संस्कार–संस्कृतिमा अल्झिएर बसेको समुदायलाई रूपान्तरित हुन अवश्य सहयोग पु¥याउनेछ भने भित्र एउटा र बाहिर अर्को काम गरिरहेका ढुलमुले समुदायलाई पनि गतिलो पाठ सिकाउनेछ । नयाँ जनवादी संस्कार–संस्कृति निर्माण र अवलम्बन गर्न नसकी अल्मलिएर बसेका समाजका सबै समुदायलाई यसले एकपटक गम्भीर भएर सोच्न र रूपान्तरित हुन बल पु¥याउने अपेक्षा गरेको छु ।
३ मङ्सिर, २०७१
(स्रोत : ‘परम्परागत संस्कार/संस्कृतिको विकल्पको खोजी’)२०७६, १७ आश्विन शुक्रबार १४:२८ ई–रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button