

जी एन शर्मा
जब मौषम र माहौलले दशै आएको सूचना गर्दछ मलाई एक पटक त्यही ठाउँमा पु¥याउँछ जहाँ जीवनका धेरै वसन्त दशैँमा गुजारेको थिएँ । यो लेखको विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा मलाई दशैँको रौनक न केटाकेटीमा लाग्न पायो शायद त्यही आदत र परिवेशमा हुर्केकाले हुनु पर्छ अहिले पनि मलाई यसले खासै छुने गरेको छैन ।
दशै भन्नासाथ म महारानी झोडाको स्कूल चौन बजारमा आज पर्यन्त रहेको पशुपति टेलर्स अर्थात दर्जी माल्दाईलाई संझन पुग्छु र त्यहाँको परिवेश आँखा अगाडि चक्कर लाउन पुग्छ । मेरा धेरै दशैँ उनका घरको खान्कीमा बितेको छ । दशैमा अक्सर त्यो बेला पनि नयाँ लुगा किन्ने चलन थियो । गाउँमा धेरै जसो स्कूल ड्रेसनै सिलाई दिने चलन थियो तर म भने त्यसैबाट समेत सधैँ टाढा हुन्थे । गच्छे अनुसार गाउँमा सक्नेले घरमै खसी काट्ने र नसक्नेले अर्काकैबाट भएपनि मासु ल्याएर खाने गरिन्थ्यो मलाई पछि सम्म पनि थाहा छैन दशैँ घरमा मासु ल्याएर अघाउञ्जेल भात खाएको तर यो भने संझना अहिले पनि छ हेरेक मेरा दशैँ दर्जी माल्दाईका घरमा उनले बाली घरेबाट ल्याएको मासु र भात खाएको ।
दशैँ भन्नासाथ सबैका आ आफ्नै परिभाषाछन् भेटघाट, आशिष, मिठोमसिनो खाने, बिजयोत्सव, दैत्य र देबीको कथा आदि आदि जे भए र भनिएता पनि नेपाली हिन्दूहरुको परम्परागत चाड दशैँलाई जो हो घरेर मिठो भए पनि वा ऋणधार गरेर भए पनि नयाँ लुगा लाउने , मिठो खाने र आशिष थाप्ने भन्ने गरिन्छ ।तर, मलाई ताजुब लाग्छ त्यो बेलादेखि आज सम्म मैले पनि भोको भोको पेटले धेरैको आशिष पाएँथे तर अर्को दशैँमा पनि उही बेहालको अवस्थामा निधार अघि सार्थेँ फेरि जस्ताको तस्तै जब थोरै समाज लाई चिन्ने भएँ तब एकातर्फ दशै नेपाली हिन्दूहरुको परम्परागत चाड हो भन्ने कुरामा त कुनै बिमति भएन तर मान्छेले दिएको आशिष भन्दा पनि उसले दिएको साथ र साचो सल्लाहमा दम हुन्छ भन्ने लाग्न थाल्यो । बाल्यकालदेखि किशोरकालका सबै दशैँ मेरा दर्जी माल्दाईकै घरमा बिते । बालीघरेका लुगा काटकुट गर्न भ्याउँदा उनै माल्दाईले हाफपेन्ट र सेतो सर्ट बरु मलाई दिएकाछन् ।
मेरा दशैँहरु प्राय आफ्नै घरका हिसाबले प्राय उपवास जस्ता भएका थिए तर छिमेकमा एउटा दयालु दर्जीको घर भएका कारण मासु र भात भने दशैँमा आठोपाँजो चलेको थियो । मेरो पारिवारिक ल्याकतले त्यो बेला कताकताबाट टिको मुस्ने चामलसम्म चैँ जोहो गर्ने गरेको रहेछ सामान्य नयाँ लुगा पाउन त झण्डै एक दशक लाग्थ्यो तर पशुपति टेलर्सका दर्जी माल्दाईसँगको त्यो वर्गीय साईनो भने आज पनि चम्किीलो रुपमानै मनमा बसेको छ । अहिले पनि स्कूलचौन जाँदा मेरो सबै भन्दा पहिला गएर आदर गर्ने मान्छे र बस्नै प¥यो भने बस्ने घर पनि उनकै हो । मलाई गर्व लाग्छ ती मानिसहरु देखि जो आफ्नो श्रममा बगाएको पसिनाको धाराले आफ्नो गाँस काटेर अरुको पनि ओठमा खुशी देख्न चाहान्छन्। म श्रद्धा गर्छु सधै ती मान्छेहरुलाई जसलाई यो समाजले सधैँ मान्छेको तल्लो दर्जामा दमन गरेर राख्यो तर ती मान्छेहरु साच्चैका कञ्चन मान्छे हुन् जो आफु हाँस्दा अरु पनि हाँस्न पाउन् भन्ने पवित्र उद्देश्य बोकेका हुन्छन् हो त्यस्तै मान्छेमा पर्छन् मेरा लागि दर्जी माल्दाई । म त्यो बेलाको मेरो समाजलाई आज पनि हेर्न पुग्छु जब दशैँको रनकले माहौलनै फरक पहिरनको जस्तो देखिन्छ । कति जनाको घरमा मुसो समेत डाको छाडेर रोएको हुन्थ्यो । उही पुराना लुगामा बाउ आमालाई जिद्दि गरेर लुगा किन्न हत्ते गर्ने साथी भाईहरु तर किनहो किन मैले कहिल्यै पनि मेरो घरमा ठूला मान्छे खास गरेर आमालाई न भोक लाग्यो भन्थेँ नत लुगाकै कुरा गर्थेँ । एउटा मात्र होइन दर्जनौँ दशैँमा मैले अनुभव गरेको छु । निधारबाटै झर्ने गरि टिको लगाईदिएर एक घण्टा सम्म हाकेताकेको पुगोस् भनेर धेरैले धेरै पटक भनेँ पनि केही माखो मरे जस्तो लाग्दैन । खैर परम्परालाई उल्सामय बनाउन यो आशिष भन्ने एउटा टपिक्स पनि थपेको होला । हिन्दू धर्मको शास्त्र अनुसार दशैको अर्को महत्वका रुपमा देवी र दैत्यको कथा पनि गरिन्छ । भनिन्छ देवीले धेरै रुप लिएर दैत्यलाई बध गरेको हुनाले त्यसैको खुशीमा यो चाड मनाउने गरिन्छ पनि भन्ने तर्क छ । अहिले म संझन्छु नारीलाई यति ठूलो महत्व दिने हाम्रो शास्त्रले सिकाएको समाजमानै नारी माथि किन विभेद मात्र होइन कि दैनिक जसो एक न एक हिंसाका घटना थपिएर गएकाछन् । उनै देवीले दैत्य जो अत्याचारी र अहंकारी थियो उसलाई मारेको खुशीमा उल्लास मनाउने हाम्रो समाजको वास्तविक चरित्र किन नारीप्रति सम्मान, श्रद्धा र समान अधिकारको बन्न सकेन आफैलाई ताजुब लागेर आउँछ।
आज पनि म दशैँमा ती मान्छेहरुलाई संझन पुग्छु छिमेकीले लाखौँको गाडि किन्दा एउटा सुतिको साडि सम्म किन्न सोच्नु पर्नेलाई, दशैँको किनमेल गर्न जाँदा शाहु महाजनका अगाडि नतमस्तक बनेर अग्रिम सर्त सहितको अक्करीलो ब्याज बुझाउने सर्तमा दशैँ मनाउनेहरुलाई, पैशा र गहनाको दौडमा सधै पर बसेर अरु हाँस्दा आफुपनि जबरजस्ति हाँस्ने मान्छेहरुलाई अर्थात जो एक छाक र एक आङका लागि पनि हम्मेहम्मे परेर बाँचेका र हाँसेका नेपालीहरुलाईनै म संझन्छु । मनमा कौतुहलता जाग्छ के मान्छेहरुको जिन्दगी यही गरीबीको चक्रमै फन्को मार्दामार्दै सेलाउने हो ! चाडपर्वमा मात्र होइन नेपाली समाजको एउटा अजङ्गको एउटा पाटो र खाडल भनेको हुँदा खाने र न हुँदा नखानेको छ । जुनसुकै विचार र दर्शन बोकेको दल सरकारमा भएपनि भोका भुँडी र नाङ्गा आङप्रति खासै उनीहरुको ध्यान र रुची छैन र उनीहरु सधैँ त्यही गरीबी , अभाव र असमानतमानै ओथारा बसेर जिन्दगीको भारी बिसाउँछन् लाग्छ खै त्यस्ता मान्छेहरुका लागि कस्तो दशै आउँछ ! कहिले त्यो ठूलो संख्यामा रहेका मान्छेहरुले दुधमानेको झोलसँगै भएपनि आउधानको चामसँग पेटलाग्दो खान पाउन हुन् कहिले ती मान्छेहरुले लाजमात्रै छोप्न भएपनि आङ ढाक्न पाउने हुन् !
अहिले त दशैँ परम्परागत चाड भन्दा पनि देखासेखीको बन्दै गएको देखिन्छ । महङ्गा कपडा र तामसी खानामा जसले जित्यो त्यसले दशैँ मनाए जस्तो हुने गरेको छ । यही दशैँमा कति धेर खाएर बिमारी बन्छन् त कति भोकले मुर्छा पर्छन् पनि । यो दारुण दृश्य शहरका गरीबहरुको चूल्हो र दुर दराजका बस्तीका छाप्राहरुमा आज झन् धेरै देख्न पाईन्छ । अहिलेको हाम्रो समृद्धि यसरीनै बढेको छ भोको झन् भोको र अघाएको झन् ढाडिने क्रम तिब्र रुपमा बढि रहेको छ । शास्त्रले बोले अनुसारनै त्यसलाई ब्यबहारिक जिवनमा पालना गर्ने हो भने मैसासुर नामका दैत्यलाई बध गर्ने शक्तिकी प्रतिमूर्ती देबी भनिने नारीहरुको अस्मिता अहिले धरापमा परेको छ । नेपाली पन र नेपालीमन र नेपाली पाराको दशैँ भन्दा पनि ढर्राको प्रतिस्पर्धा देखिन्छ । जे होस, नेपाली हिन्दूहरुको महानपर्वको रुपमा आउने यो दशैँले हुँदा खानेका लागि पनि वर्षमा पाँच दिन भए पनि भोकै बस्नु नर्पने र महाजनका गएर हात पर्सानु नर्पने सम्मको स्थिति ल्याईदिओस अनि नौ दिन सम्म गरिने देवीको आराधनाको प्रतिकात्मक नेपाली नारीहरुप्रति समाजले विभेद र नारीहरु बिभिन्न प्रकारका हिंसाबाट प्रताडित हुन नपरोस आशिषको आश भन्दा पनि एक नेपालीलाई अर्को नेपालीको सधै साथ मिलोस् । अन्त्यमा मेरा धेरै दशैँमा मलाई अघाउञ्जेल मासु र भात दिनु हुने दर्जी माल्दाई तपाईको मन सधै गरीब र निमुखाहरुका मनसँग जोडिदै जाओस मेरो शुभकामना !



