खबर

नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज

काठमाडौं ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले नागरिकता अध्यादेशको कानुनी हैसियत समाप्त भइसकेको भन्दै रिट खारेज गर्ने फैसला गरेको हो ।

सो अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ता वीरभद्र जोशी, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता रामबहादुर शाही, अधिवक्ता कुलबहादुर बोगटी र मौलिक जरोकिलो पार्टीको तर्फबाट उपमहासचिव लक्ष्मण पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो । सो अध्यादेशमा २०७२ असोज ३ भन्दा पहिला जन्मिएको आधारमा नागरिकता लिएकालाई वंशजका आधारमा नागरिकता दिने र बाबुको पहिचान नखुलेको हकमा स्वयं घोषणा गरेको आधारमा पनि वंशजको आधारमा नागरिकता दिने प्रावधान राखिएको थियो ।

तत्कालीन सरकारले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूह (हाल लोकतान्त्रिक समाजवादी पार्टी) लाई सरकारमा सहभागी गराउन अध्यादेश ल्याएको थियो । सोही अध्यादेशले मधेसको केही माग सम्बोधन भएको भन्दै जसपा सरकारमा समेत सहभागी भएको थियो ।

यसैबीच, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले नागरिकता अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य नदेखिएको भन्दै जेठ २७ मा अध्यादेशको कार्यान्वयन रोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button