खेलकुद

कोहली र राहुल फर्किए

एजेन्सी – भारतका प्रमुख ब्याटर विराट कोहली र लोकेश राहुल एसिया कप टि२० क्रिकेट प्रतियोगिताको लागि टोलीमा फर्किएका छन् । उपाधिको दाबेदार भारतले अगष्ट अन्तिममा युएईमा हुने एसिया कपको लागि रोहित शर्माको कप्तानीमा भारतले १५ सदस्य टोली घोषणा गरेको हो ।

पछिल्लो समय वेस्टइन्डिज भ्रमणबाट बाहिरिएका विराट कोहली फर्किएका छन् । लगातार खराब प्रदर्शनको कारण कोहलीलाई भारतले विश्राम दिएको थियो । लोकेश राहुल भने चोटपछि टोलीमा फर्किएका हुन् ।

यता प्रमुख तीव्र गतिका बलर जस्प्रित बुमराह पनि चोटका कारण एसिया कप गुमाउने भएका छन् । यस अघिनै अर्का तीव्र गतिका बलर हर्षल पटेलले चोटका कारण एसिया कप गुमाउने पक्का भएको थियो । बुमराह ब्याक र पटेल छातीको चोटका कारण गुमाएका हुन् । आवेश खान, भुवनेश्वर कुमार र अर्शदीपसिंह तीव्र गतिको हतियारको रुपमा छन् ।

श्रेयस ऐर, अक्षर पटेल र दीपक चाहर भने वैकल्पिक खेलाडीको सूचिमा छन् । भारतले स्पिनरमा रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, रवि विश्रोई र युजभेन्द्र चहललाई राखेको छ ।

एसिया कप २७ अगष्ट देखि ११ सेप्टेम्बर सम्म युएईमा हुनेछ । समूह ए मा पाकिस्तान, भारत र छनोट भएर आउने एक टोली हुनेछन् । छनोटमा युएई, कुवेत, हङकङ र सिंगापुर छन् । शीर्ष स्थानमा रहने टोलीले भारत र पाकिस्तानसँग खेल्न पाउने छन् ।

समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । दुबै समूहका शीर्ष दुई दुई टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । भारत र पाकिस्तान प्रमुख उपाधिका दाबेदार टोली हुन् । गतवर्ष टि२० विश्वकपमा युएईमै भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । पाकिस्तान त्यो नतिजालाई निरन्तरता दिन चाहन्छ । भारत बदला लिने सोचमा हुनेछ ।

एसिया कप खेल्ने भारतको टोली :

रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), दीपक हुडा, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रवि विश्रोई, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, युजभेन्द्र चहल, भुवनेश्वर कुमार, अर्शदीप सिंह र आवेश खान ।

पाकिस्तानको एसिया कप खेल्ने टोली :

बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), आसिफ अली, फखार जमान, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम जुनियर, नसिम शाह, शाहिन शाह अफ्रिदी, शहनवाज दाहनी र उस्मान कादिर ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button