कला

‘सपना अनेक अनेक’ मञ्चन

काठमाडौँ । गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन अवधि थपिएको छ। साउन ५ गतेदेखि मञ्चन भएको नाटक दर्शको आग्रहमा साउन २८ गतेसम्म थपिएको वरिष्ठ रङ्गकर्मी अशेष मल्लले जानकारी दिनुभयो।

मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक नयाँ प्रयोग भए पनि दर्शकको उत्साहजनक सहभागिताले ऊर्जा प्राप्त भएको जानकारी दिनुभयो। नेपाली रङ्गमञ्चको चार दशकको इतिहासमा सर्वनामले पहिलो पटक गीतिनाटक प्रस्तुत गरेको हो। गीतिनाटकमा वरिष्ठ सङ्गीतकार राजु सिंहको सङ्गीत तथा चर्चित गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर रहेको छ।

गीतिनाटकमा सर्जकको काव्यिकभाव र तिनको समग्र प्रभावलाई केन्द्रबिन्दुमा राखेर विम्ब र प्रतीकलाई चित्रात्मकता दिने कोसिस गरेको निर्देशक अशेष मल्लले बताउनुभयो। नेपाली सङ्गीतको हरेक विधामा तीन दशकदेखि कर्म गर्दै आउनुभएका सङ्गीतकार राजु सिंहले ‘सपना अनेक अनेक’मार्फत सङ्गीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “प्रस्तुत गीतिनाटकमार्फत पूर्ण सङ्गीतकार भएको महसुस गरेको छु। गर्व पनि लागिरहेको छ। यसले नेपाली गीतिनाटकमा विशेष योगदान पु-याउने विश्वास लिएको छु। दर्शकको उत्साहजनक सहभागिताले यो नाटकले मेरो साङ्गीतिक यात्रामा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा कायम भएको छ।”

गायक सत्यराज आचार्य भन्नुहुन्छ, “यो गीतिनाटकमा गाउँदा मलाई गीत हैन जीवन बाँचेको अनुभूति भयो। धेरै गीत गाएँ, हर दिन गीत गाइरहेकै हुन्छु तर सधैँ गाउनेभन्दा नितान्त र बेग्लै प्रवाहको यो गायनले मलाई अझै पनि तरङ्गित बनाइरहेको छ। नेपालीहरू विदेशमा पुगे पनि आफ्नै देशको यादले रातदिन तड्पिरहेका हुन्छन्। त्यो एउटा प्रतीक हो। चाहे जुनसुकै मुलुकमा पुगे पनि आफ्नै माटो र आफ्नै आमाको मायाले पिरोलिरहन्छ। आमा अर्थात् नेपाल आमा। आमाको त्यो विम्ब नै नाटकको सार हो। गीतिनाटकको कोरियोग्राफी प्रमिला कार्की उप्रेतीको रहेको छ भने मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धीरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ–गूको अभिनय रहेको छ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button