मूल खबर

चार महिनापछि फोहोरको व्यवस्थापन सम्पन्न

काठमाडौं
काठमाडौँ महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गर्नुभयो। वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो।

उहाँले भन्नुभयो, “विभिन्न कारणवश थुप्रिएको फोहोर सङ्कलन गरी बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ। फोहोरको दुर्गन्धका कारण हिँड्नै नसक्ने सडकपेटी, चोक र गल्ली सफा भएका छन्।” भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बन्चरेडाँडाका बासिन्दाबीच भएको चारबुँदे सहमतिपछि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो।

काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहका सचिवालय सदस्य सुनिल लम्सालले थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएसँगै समयमा फोहोर व्यवस्थापन नगर्ने कम्पनी र सडक, चोक र गल्लीमा फोहोर फ्याँक्ने घरधनीलाई कारबाही गरिने बताउनुभयो। उहाँले फोहोर व्यवस्थापनको जिम्मा लिएका कम्पनीलाई २५ हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना गरिने बताउनुभयो।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button