मूल खबर

भृकुटीबारे जानकारी दिने ग्रन्थ नेपालीमा आउँदै

गाेरखापत्र

प्रकृति अधिकारी
काठमाडौँ । कतिपय नेपाली इतिहासकारले काल्पनिक पात्रका रूपमा ठोकुवा गर्दै आएका भृकुटीबारे उल्लेख गरिएको तिब्बती ग्रन्थलाई नेपालीमा अनुवाद गरिने भएको छ।

नेपालकी राष्ट्रिय विभूति भृकुटीबारे तिब्बती ग्रन्थ ‘मणिकाबुम’मा उल्लेख गरिएको छ। भृकुटी सातौँ शताब्दीकी भए पनि उनका बारे ११औँ शताब्दीमा मात्र ग्रन्थमा लिपिबद्ध गरियो। सो ग्रन्थलाई १६औँ शताब्दीमा काठेब्लकको प्रयोग गरी पुस्तकका रूपमा प्रकाशन गरिएको थियो। राष्ट्रिय अभिलेखालयले सो ग्रन्थको नेपालीमा अनुवाद गर्न तिब्बती (भोट) भाषाका विशेषज्ञ पुण्यप्रसाद पराजुलीलाई जिम्मेवारी दिने भएको छ। अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले मणिकाबुममा धेरै खण्ड भएको र तीमध्ये भृकुटीसम्बन्धी दुईवटा खण्डको मात्र अनुवाद गरिने जानकारी दिँदै भन्नुभयो, “भृकुटीबारे नेपाली स्रोतले स्पष्ट गर्दैन। त्यसैले तिब्बती ग्रन्थबाट अनुवाद गर्न लागेका हौँ।”

नेपालका कुनै पनि शिलालेख, ग्रन्थ र वंशावलीमा भृकुटीबारे उल्लेख नभएकाले केही इतिहासकारले भृकुटीलाई काल्पनिक पात्र भएको दाबी गर्ने गरेका छन्। भोट भाषाका विज्ञ पराजुलीले भन्नुभयो, “नेपालका लिखतमा उल्लेख नहुँदैमा कसैलाई पनि काल्पनिक पात्र ठह-याउन मिल्दैन। त्यसैले मणिकाबुम नेपाली भाषामा अनुवाद भइसकेपछि भृकुटीबारे धेरै कुरा बाहिर आउनेछन्।”

राष्ट्रिय अभिलेखालयसँग २० हजारभन्दा बढी तिब्बती ग्रन्थ छन्। राणा प्रधानमन्त्री भीमशमशेरले पुस्तकालयमा राख्न भनी तत्कालीन तिब्बती शासकलाई पत्र पठाई तिब्बती ग्रन्थ खरिदको प्रस्ताव पठाएका थिए। तिब्बती शासकले बौद्ध धर्मसँग सम्बन्धित ग्रन्थ बिक्री गर्न नमिल्ने भन्दै ‘न्यिङ्मा ग्युबुम’ निःशुल्क उपलब्ध गराएका थिए। कुनै बेला वीर पुस्तकालयमा रहेका ती ग्रन्थलाई पछि राष्ट्रिय अभिलेखालयमा ल्याई सुरक्षित राखिएको थियो।

ती ग्रन्थको माइक्रोफिल्म पनि बनाउनुका साथै ११ खण्डमा सूचीपत्र प्रकाशन गरिएको छ। मणिकाबुम पनि तिनै ग्रन्थका साथमा सुरक्षित राखिएको छ। अभिलेखालयसँग भएको तिब्बती ग्रन्थमध्ये सबैभन्दा पुरानो मणिकाबुम हो। अभिलेखालयमा ६५८ वटा पोकामा तिब्बती ग्रन्थलाई निश्चित तापक्रममा सुरक्षित राखिएको छ। अनुवादकर्ता पराजुलीका अनुसार मणिकाबुममा तिब्बती राजा स्रङ सन ग्याम्पोको जीवनी, उपदेश, उनले नेपाली कन्या भृकुटीसँग कसरी र किन विवाह गरे ? चिनियाँ महिलासँग किन अर्काे विवाह गरे ? भृकुटीले साथमै लगेको बुद्धको मूर्ति राख्न कसरी मन्दिर निर्माण गरियो ? लगायतका पक्षलाई व्याख्या गरिएको छ।

सन् १८९८ मा नेपालमा आएका फ्रान्सेली इतिहासकार सिल्भाँ लेभी तिब्बती, चिनियाँ, संस्कृतलगायतका भाषाका विज्ञ थिए। उनले आफ्नो पुस्तक नेपाल (हिन्दु अधिराज्यको इतिहास)मा सबैभन्दा पहिले भृकुटीबारे उल्लेख गरेका थिए। पछि उनको तथ्यलाई इतिहास शिरोमणि बाबुराम आचार्यले प्रयोग गरे। सोही जानकारीका आधारमा नेपालले भृकुटीलाई राष्ट्रिय विभूतिका रूपमा स्वीकार गरेको हो।

सिल्भाँ लेभीले पुस्तकमा ‘तिब्बतका दोस्रा राजा स्रङ सन ग्याम्पोले ल्हासा खडा गरे र आफ्नो राज्यलाई चारैतिर फर्काएको उल्लेख गर्दै हिमालयपारि नेपालमा पनि आफ्नो शक्तिको प्रदर्शन गर्नुका साथै विजयी भएर राजा अंशुबर्मनकी छोरी विवाह गरे’ भनेर लेखेका छन्।

त्यसपछि उनले चिनियाँ ताङ राजपरिवारकी राजकुमारीसँग बिहे गरेका थिए। यी दुवै पत्नी बौद्ध धर्मका कट्टर अनुयायी भएको भन्दै पुस्तकमा राजा आफू पनि बौद्धमार्गी बनेको उल्लेख छ। स्रङ सन ग्याम्पोका छोराले भने बोन धर्म अपनाए। उनी ३३औँ राजा थिए र ३७औँबाट ४१ औँसम्म पुनः बौद्ध धर्म अपनाएका थिए। ४२औँ राजाले बोन धर्म अपनाए पनि त्यसपछि राजतन्त्र सकिएको थियो।

मणिकाबुम ग्रन्थको आवरणपछिको पहिलो पृष्ठको दायाँ–बायाँ दुई तस्बिर राखिएका छन्। बायाँतर्फ तीन जनाको तस्बिर छ। बीचमा राजा ग्याम्पो र उनको दायाँतर्फ भृकुटी तथा बायाँतर्फ चिनियाँ रानीको तस्बिर बनाइएको छ। धेरैपछि बनाइएकाले त्यो तस्बिर भने काल्पनिक हो।

मणिकाबुममा भृकुटीको नाम ‘भाल्सा ठिचोन’ भनी उल्लेख छ। तिब्बती भाषामा भालको अर्थ नेपाल, युलको अर्थ ऊन हुन्छ। त्यो बेला नेपाल ऊनको देशका रूपमा परिचित भएकाले भाल युल नभनी भाल मात्र भनिन्थ्यो। तिब्बती भाषामा ‘सा’ भनेको राजकुमारीलाई जनाउँछ। भृकुटीलाई तिब्बती नाम नेपाली राजकुमारी अर्थात् भाल्साबाट चिनिन्छ।

सो ग्रन्थमा उनलाई २१ तारामध्येकी एक रूप अर्थात् ‘ठो न्येर चेन’की अवतार (निर्माण काया) हुन् भनिएको छ। फ्रान्सेली इतिहासकार सिल्भाँले तारा देवीका २१ रूपमध्येको एक ताराका रूपमा भृकुटीलाई व्याख्या गर्दै ‘भृकुटी’ नाम दिएका थिए। स्रङ सन ग्याम्पोकी अर्की रानी चिनियाँ थिइन्। उनलाई ज्ञासा भनिन्थ्यो। तिब्बती भाषामा ‘ज्ञा’ले चीनलाई र ‘सा’ले रानीलाई जनाउँछ। चिनियाँ र नेपाली रानीबाट सन्तान भएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button