खबर

मोतीगडामा फेला पर्‍यो प्राचीन भग्नावशेष

त्रियुगा नगरपालिका–३, मोतीगडामा उत्खनन गर्दा फेला परेको पुरानो दरबारको भग्नावशेष । तस्बिर : भक्तिविलास पोखरेल

गोरखापत्र अनलाइन
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित मोतीगडामा पुरानो दरबारको भग्नावशेष तथा प्राचीन विभिन्न वस्तुको अवशेष फेला परेको छ। पुरातत्त्व विभागबाट आएको पुरातत्त्वविद्द्वय देवेन्द्रनाथ तिवारी र प्रकाश दर्नालको टोलीले सो क्षेत्रमा गरेको उत्खननका क्रममा दरबार र पुराना वस्तुको भग्नावशेष फेला परेको हो।

इतिहासविद् भरतराज रावत तथा आर्किटेक्ट रोशनी महर्जनसमेत सम्मिलित टोलीले हाल त्रियुगा जनता बहुमुखी क्याम्पस परिसरमा रहेको पुरानो मुढगडा दरबारको उत्खनन गरिरहेको छ।

टोलीले पाँच दिनको उत्खननको क्रममा प्राचीन भग्नावशेष तथा ब्ल्याक स्टोन अर्थात् कालो पत्थर कुँदेर बनाइएका विभिन्न देवदेवीका आकर्षक मूर्तीका टुक्रा, इँटाका टुक्राहरू फेला परेको हो। दरबार क्षेत्रमा ३६ सेन्टिमिटर लामो ३२ सेमी चौडाइ र पाँच सेमि मोटाइको पुरानो इँटाले बनेको नौ मिटर लम्बाइ तथा एक मिटर चौडाइ भएको दरबारको गारो पनि फेला परेको छ।

उत्खननमा फेला परेका अवशेषहरू इसापूर्व पहिलो वा दोस्रो शताब्दीको हुनसक्ने पुरातत्त्वविद् देवेन्द्रनाथ तिवारीले बताउनुभयो। मोतीगडा स्थानीय बूढापाका र थारू समुदायमा मुढगडाको नामले परिचित छ। थारू किम्बदन्तीअनुसार जुवा खेल्ने क्रममा शाही राजा र सरस्वती रानीबीच भएको बाजीमा रानीले जुवा जितेपछि राजाको टाउको काटेपछि यस ठाउँलाई मुढगडा नामकरण भएको थियो। सोही स्थानलाई अहिले मोतीगडा भनिन्छ।

दरबार क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका विषयवस्तु पत्ता लगाउन सरकारी निर्देशानुसार उत्खनन सुरु गरिएको पुरातत्त्वविद् देवेन्द्रनाथ तिवारीले बताउनुभयो। प्रारम्भिक चरणमा दरबार क्षेत्रको माटोको ढिस्कोका रूपमा रहेको भागलाई रेखाङ्कन गरेर उत्खनन गर्न सुरु गरिएको र पछि अन्य स्थानमा पनि खन्न सुरु गरिने उहाँको भनाइ छ। हाल फेला परेका वस्तुहरू लिच्छवी वा गुप्तकालीन कलाशैलीका मूर्तिहरू हुनसक्ने अनुमान गरिएको उदयपुरको इतिहासका लेखक तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङले बताउनुभएको छ । उत्खननका क्रममा फेला परेको मन्दिरको अवशेष इसापूर्व पहिलो वा दोस्रो शताब्दीको हुनसक्ने र तत्कालीन राजाको दरबार मुसलमानी आक्रमणमा परेर प्राचीन सभ्यता नष्ट भएको हुनसक्ने अनुमान गरिएको इतिहासकार चेम्जोङको भनाइ छ।

त्रियुगा नगरपालिकाको पाँच लाख रुपियाँ लागतमा उत्खनन भइरहेको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त बस्नेतले बताउनुभयो। पुरातत्त्व विभागको टोलीले त्रियुगा नगरपालिका–८, बाघचौरी अवस्थित खाट मन्दिरको पनि उत्खनन गर्न सुरु गरेको छ। उत्खनन कार्य अझै एक साता गरिने टोली संयोजक तिवारीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button