खबर

प्रेमको उत्सव भ्यालेन्टाइन डे

सुकृत नेपाल
काठमाडौँ। ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’, प्रेम र प्रेमिका दुई शब्दको निखारअनुसार १९औँ शताब्दीदेखि सुरु भएको यो पर्वको मुख्य उद्देश्य भनेको दुई प्रेमिल जोडीले आफ्नो प्रेमप्रति भाव भएको जानकारी दिएर एकआपसमा मिलन हुन सक्ने दिनका रूपमा मानिन्छ । कसैले कार्डको माध्यमबाट आफ्नो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको । प्रेम गर्न कुनै दिवस आउनुपर्दैन तर आजभोलिका युवाका लागि भने ‘भ्यालेन्टाइन डे’ प्रेमको उत्सव बनेको छ ।

मुख्य गरेर आजकै दिन जताततै सहरका गिफ्ट पसलमा प्रेमीप्रेमिकाका लागि उपहार किन्नेको भीड लागेको देखिन्छ । पसलका सञ्चालकहरू गुलाफका थुँगा बेच्नमा व्यस्त देखिन्छन् । “प्रत्येक वर्ष भ्यालेन्टाइन डे मनाउनेको सङ्ख्या बढ्दो छ,” जोरपाटीको सोनी कार्ड पसलमा गिफ्ट किन्नेको भीड खचाखच देखिन्थ्यो । पसलका सञ्चालक नारायण मुखियाले भन्नुभयो, “अघिल्लो वर्ष चार हजार स्टिक गुलाफ बेचेको थिएँ, यस पटक पाँच हजार थान बेच्ने लक्ष्य लिएको छु ।” उपहारका रूपमा अन्य सामान दिए पनि धेरैले गुलाफ किन्न नछुटाउने गरेको उहाँले बताउनुभयो । “विशेष गरी १२ वर्षमाथिका २५ वर्ष तलका ग्राहक आउने गर्नुभएको छ,” उहाँले भन्नुभयो, “उनीहरू उपहारसँगै गुलाफ पनि लैजान्छन् ।”

पुतलीसडकस्थित लभ्ली गिफ्ट सपका थानेश्वर सापकोटा ‘भ्यालेन्टाइन डे’का कार्ड र गिफ्टहरूमा हल्काफुल्का मात्र बिक्री भएको भनेर गुनासो गर्दै हुनुहुन्थ्यो । अहिले इन्टरनेट र इमेल जस्तो प्रविधिको जमाना आएको हुँदा कार्ड र गिफ्टहरू दिने कुराको खासै महत्व नभएको, सापकोटाको भनाइ थियो ।

भेरोनिका, हलमार्क, आरचिस, एक्सप्रेसन, जुबली जस्ता ब्रान्डका कार्डले काठमाडौँको बजार तताएको छ । युवक–युवती कार्ड त किन्छन् तर त्यसभित्र लेखिएका भावनालाई कसैले राम्रोसँग बुझ्ने गर्छन् त कसैले यसको खासै महत्व राख्दैनन् ।

गायिका कुन्ति मोक्तान आफ्नो जमानामा अहिलेको जस्तो भ्यालेन्टाइन डे मनाउने भन्ने चलन नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिलापहिला चिठीपत्रको आदानप्रदानले माया प्रेमका कुरा हुन्थे र भेटघाट पनि कम हुन्थ्यो तर अहिले प्रविधिले सबैलाई सजिलो बनाइदिएको छ । पहिलाको माया गहिरो र साँचो हुन्थ्यो तर अहिले त्यो देखिँदैन । अहिले यसमा सकारात्मक र नकारात्मक दुवै कुरा मिसिएको छ ।” अहिलेको प्रेम दिवसमा विकृति धेरै मिसिएको उहाँको भनाइ थियो ।

त्यस्तै रङ्गकर्मी निशा शर्मा भ्यालेन्टाइन डेको खासै महत्व नलाग्ने बताउनुहुन्छ । उहाँले फरक धारणा व्यक्त गर्दै भन्नुभयो, “प्रेम दिवस भनेको १४ फेब्रुअरीमै मनाउनुपर्छ भन्ने छैन । माया गर्नका लागि कुनै समय चाहिँदैन गुलाफको फूल दिनका लागि कुनै समय चाहिँदैन ।” अहिले यसमा धेरै विकृति भएको पनि उहाँको ठम्याइ थियो । अरूको संस्कारलाई मनाउनु भनेको एउटा विकृति जस्तै नै हो, रङ्गकर्मी शर्मा भन्नुहुन्छ, “राम्रो चिजलाई मान्नुपर्छ तर अरूको चिजलाई देखावटी गर्नु हुँदैन । अरूको चिजलाई आदर गर्नु नै सबैभन्दा ठूलो कुरा हो ।”

पहिला नेपालमा प्रेम दिवसको प्रभाव खासै नभए पनि पछिल्लो समय विदेशी प्रभावले प्रेम दिवस मनाउन थालिएको देखिन्छ । विशेष गरी प्रेम जोडी, नवदम्पती र प्रेम सम्बन्धमा आउने प्रेमीप्रेमिकाका लागि यो दिवसको आफ्नै महत्व छ । यस पर्वले नेपालमा पनि विशेष स्थान पाएको छ । आधुनिक युगतर्फ लम्किरहेको हाम्रो नेपाली समाजका युवकयुवतीले यो दिवसलाई निकै महत्वका साथ मनाउने गरेका छन् ।

भ्यालेन्टाइनको इतिहास केलाउँदा यसको सुरुवात क्याथोलिक सम्यताबाट नै भएको हो भन्ने बुझिन्छ । सेन्ट भ्यालेन्टाइन भन्ने व्यक्तिको सम्झना स्वरूप यसलाई एउटा चाडका रूपमा मनाउन थालिएको हो । फेब्रुअरी १४ मा हरेक वर्ष मनाउँदै आएको यो मायाको पर्वले धेरैको सम्बन्ध गाँस्ने काम गर्छ । यो चाड विशेष गरेर युवकयुवतीहरूका लागि मात्र भए पनि यसलाई मनाउन भने धेरैले पर्खेर बसेका हुन्छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रूपले मनाउने गरिएको छ ।गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button